ओलीले दाबी गरेझैँ नक्कली भुटानी प्रकरण अनुसन्धानमा तानेर 'रिक्त बनाउन खोजेको पद' कुन !, अख्तियार प्रमुख ?

ओलीले दाबी गरेझैँ नक्कली भुटानी प्रकरण अनुसन्धानमा तानेर 'रिक्त बनाउन खोजेको पद' कुन !, अख्तियार प्रमुख ?

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई नक्कली भुटानी प्रकरणमा पक्राउ परेकाहरूबाट पोलिए पनि अनुसन्धानको औपचारिक दायरामा आएका छैनन्। उनी गृहसचिबहुँदा नै नेपालमा रहेका भुटानी शरणार्थी पुन प्रमाणीकरणको प्रक्रिया सुरु भएको थियो।

उनी अख्तियारको प्रमुख भएपछि परेको उजुरी पटक-पटक तामेलीमा राखेको सार्वजनिक भइरहेको छ। पक्राउ परेका बिचौलियामध्येबाट उनलाई साढे दुई करोड रकम दिएको बयान चुहिएको थियो।

यी नै घटनाक्रमले उनीमाथि छानबिन गर्न दबाब बढेसँगै उनलाई औपचारिक अनुसन्धानमा नल्याउन उस्तै दबाबमा परेको थियो प्रहरी। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी सबैभन्दा निकट र विश्वासपात्र थिए।

गृह सचिवको रूपमा ओलीको विश्वास आर्जन गरेकै आधारमा राई आयोगको प्रमुख आयुक्त बनेका थिए। राईसँगको निकटता आइतबार केपी शर्मा ओलीले स‌ंसदमै सार्वजनिक गरे। उनले नाम त लिएनन्। तर भुटानी प्रकरणमा निर्दोषहरू फसाउने प्रयास भइरहेको दाबी गर्दै उनले भने' कसलाई फसाउनु छ, कसको पद रिक्त गराउनु छ। बयान कसरी भइरहेको छ हेरिरहेको छु।'

बहालवाला सचिव अनुसन्धानमा तानिइसकेका छन्। अहिलेको अनुसन्धानमा तानिन बाँकी उच्चतहका पदाधिकारी राई नै हुन्। प्रहरीले उनलाई औपचारिक अनुसन्धानको दायरामा ल्याएर आरोपी बनाएको अवस्थामा उनले आयोगको प्रमुख आयुक्तबाट राजीनामा दिनुपर्छ। 

७ जेठ, २०८०, १३:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।