आईपीएलमा विराटको छैटौँ शतक, क्रिस गेलसँग बराबरी

आईपीएलमा विराटको छैटौँ शतक, क्रिस गेलसँग बराबरी

इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको छैटौं शतकको मद्दतले रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ।

हैदरावादको राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ रोजेको हैदरावादका लागि हेनरिक क्लासेनले शतक प्रहार गरेका थिए।

क्लासेनको शतकको आधारमा हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो।

जवाफमा बैंग्लोरले कोहलीको शतक र फाफ डु प्लेसिससँगको १७२ रनको साझेदारीको आधारमा १९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

कोहलीले हैदरावादविरुद्ध सिजनको पहिलो शतक प्रहार गरेका हुन्। आईपीएलमा विराटको यो छैटौं शतक हो, उनले अन्तिम पटक १९ अप्रिल २०१९ मा कोलकाता नाइट राइडर्सविरुद्ध कोलकातामा शतक बनाएका थिए।

यसरी कोहलीले १४८९ दिनपछि आईपीएलमा शतक बनाएका हुन्। यसअघि सन् २०१६ को सिजनमा कोहलीले ४ शतक बनाएका थिए। आईपीएलमा उनको उत्कृष्ट स्कोर ११३ रन हो। 

छैटौं शतकसँगै कोहलीले आईपीएलमा सर्वाधिक शतक बनाउने कीर्तिमानको बराबरी गरेका छन्। वेस्ट इन्डिजका क्रिस गेलले पनि आईपीएलमा ६ शतक बनाएका छन्। यो सूचीमा जोस बटलर ५ शतकसहित दोस्रो स्थानमा छन्।

बेंग्लोरका कप्तान फाफ डु प्लेसिस र विराट कोहलीले खेल जिताए। दुवैले १७.५ ओभरमा १७२ रन जोडे। डु प्लेसिसले ३४ बलमा र कोहलीले ३६ बलमा अर्धशतक पूरा गरे। डु प्लेसिसको यो ३४ औं अर्धशतक हो। आज उनले पनि ४७ बलमा ७१ रन बनाए। 

४ जेठ, २०८०, २३:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।