दासढुंगा घटनाबारे विद्या भण्डारीको बयान : टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टाँगिन्छ भनेको थियो

दासढुंगा घटनाबारे विद्या भण्डारीको बयान : टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टाँगिन्छ भनेको थियो
आयोगमा बयानदिँदै भण्डारी अनी उनको बयान।

मेरो श्रीमानलाई षड्यन्त्रपूर्ण ढङ्गले सुनियोजित ढङ्गले मारेको हो भन्ने मलाई लागेको छ। मैले जुन बेलादेखि अमर लामालाई भेटेँ अथवा चिने पार्टीको ड्राइभरको रूपमा त्यतिखेरदेखि मैले सम्झेको उसको बानी ब्यहोरा बारेमा र चालचलन गतिविधि र अहिलेसम्मको कुराहरूलाई सम्मानित यस आयोग समक्ष राख्ने मेरो आफ्नो इच्छा थियो।

अमर लामालाई कुनै दिन पार्टीले नियुक्त गर्यो त्यो मलाई यकिन थाहा छैन। पहिले पार्टीको पजेरो गाडी जुन मेरो पतिले प्रयोग गर्नुहुन्थ्यो, अमर लामाले ल्याएको पहिले दिन हो। म र मेरो श्रीमान् वीर अस्पतालसम्म सँगै गयौँ। त्यसपछि म हस्पिटलतर्फ लागेँ।

उहाँ पार्टीका काममा जानुभयो। यो आम निर्वाचनपछिको कुरा हो। त्यही दिनदेखि पार्टीको ड्राइभरको रूपमा मैले अमर लामालाई चिनेकी हुँ।

पहिलो दिन निजलाई देख्दा त्यस्तो पातलो दुब्लो मानिसले पजेरो गाडी कसरी चलाउलान् भन्ने लागेको थियो। पार्टीले नियुक्त गरेको हुँदा मेरो केही भन्नु थिएन। त्यस बखत मैले फरासिलो खालको मान्छे देखिनँ। अलि अँध्यारो घोसे जस्तो लागेको थियो।

त्यसपछि ऊ दिनकै जसो उहाँलाई लिन आउने जाने गर्थ्यो। पार्टीको पाँचौँ महाधिवेशन २०४९ सालमा हुनुभन्दा अगाडि उहाँ (मदन भण्डारी) धेरै नै व्यस्त हुनु भएकाले दिनहुँ नै जस्तो ल्याउने पुर्याउने गर्दथ्यो।

कहिलेकाहीँ एक दिनमा दुई तीन चोटी नै ल्याउने लैजाने गर्थ्यो। राति कहिले ११-१२ बजे पनि मेरो श्रीमानलाई पुर्याउने गर्दथ्यो। बिहान ५-७ बजे पनि जानुहुन्थ्यो। यही बिचमा मेरो छोरीहरू र हामीहरूसँग नजिक र एक प्रकारले पार्टीको विश्वासिलो मानिस हो भन्ने रूपमा विश्वास प्राप्त गर्यो। हामीले पनि विश्वासिलो मान्यौँ।

मलाई दिदी भन्थ्यो। उहाँलाई कमरेड भनेर आदर गर्थ्यो। छोरीहरू पनि उसलाई अङ्कल भनेर झुम्मिने गर्थे। खाना खाँदा सधैँ, उसलाई नसोधी खानु हुँदैनथ्यो। नखाएको भए सँगै एकै टेबलमा राखेर खानुहुन्थ्यो।

मैले सुरुमा उसलाई शङ्काको दृष्टिले हेरिनँ। उसलाई समान रूपले व्यवहार गर्न गरेकी थिएँ। ड्राइभरको रूपमा हेर्ने गरेको थिइनँ।

घटना भएपछि टिकाराम राईले साँझ पर्नु अगाडि मदन कमरेडलाई भेट्नु थियो भने। फेरि अर्को फोन आयो। ममता भण्डारी हुँ मदन दाइको गाडी नारायणघाटमा दुर्घटना भयो रे हो भाउजू भनी सुनाएको थियो। त्यसपछि अरू एक दुई फोन आयो र मैले पार्टी अफिसमा फोन गरे। इन्गेज भयो। त्यसो हुँदा पार्टी केन्द्रीय कार्यालयको सचिव ईश्वर पोखरेलको डेरामा फोन गरेँ। निजकी श्रीमतीले फोन उठाउनु भयो। ईश्वर कमरेड हुनुहुँदो रहेनछ। फोन राखेँ। पार्टी अफिसमै कनट्र्याक्ट गरेँ। प्रदीप नेपालसँग फोनमा कुरा भयो।

उहाँलाई सोधेपछि घटना भएको बुझ्नलाई अमृत बोहोरा, वामदेव गौतमहरू गइसक्नुभयो भन्नुभयो। २ गते पोखरा जानुभएको थियो। साढे नौ बजेतिर पार्टी अफिस जानुभएको थियो।

एयरपोर्टबाट १२ बजेतिर फोन आएको थियो। मेरो भाइले फोन उठायो। प्लेनको टाइम भयो। उहाँ आइपुग्नुभएन। रोकेर राखेको छ भने। मैले पार्टी अफिसमा भनिदेऊ भनेँ। पार्टी अफिसमा फोन गर्दा उहाँ हिँडिसक्नुभएको थाहा भयो र ढुक्क भएँ। 

घटनाक्रम हेर्दा ४ गते जिप भेटियो। त्यसैले घटनास्थल म गइनँ। आश्रितजीलाई जिपसँगै भेटियो। तर उहाँ जिपमा रहनुभएन, भेटिनुभएन। ५ गते गुंजनगरमा भेटियो। गुंजनगरमा निकुञ्जको नजिकै रहेको कुरा मैले सुनेको। सरकारले तदारुकतासाथ गरेको भन्ने छ। ४ गते नै गुंजनगरमा शरीर देखेको भन्ने छ। सेना समेतलाई खोजी गराउन सकिने थियो, त्यसो भएन। सरकारले खोज्न लगाएको भए तिनीहरूले गएर खोज्दथे। खोजीमा तदारुकता भएन।

यो सुनियोजित र षड्यन्त्रपूर्ण राजनैतिक हत्या हो। पहिलो कुरा उहाँको बारेमा ०४६ सालको आन्दोलनदेखि प्रखर रूपमा नेपालको राजनीतिमा देखा पर्नुभयो र चर्चित हुनुभयो। नेपालको राजनीतिमा राम्रो मानिस टिक्न सक्दैन। मदन भण्डारीको लामो आयु छैन भन्ने हल्ला चल्यो।

आम निर्वाचनको अन्तिम सभा टुँडिखेलको मञ्चमा हुँदा उहाँ जानुअगाडि टेलिफोनमा त्यस्तो चर्को चर्को भाषण गर्ने होइन, छाला टाँगिन्छ भनेको थियो। त्यो टेलिफोन मैले उठाएको थिएँ। उहाँलाई भाषणमा जान अगाडि भनिनँ। पछि आएपछि मात्र भनेँ। 

त्यस बेलादेखि उहाँको जीवन सुरक्षित छैन भन्ने लाग्यो र एक प्रकारको त्रास मनमा पस्यो। म उहाँलाई निरन्तर सचेत गराइरहन्थे। हामी जनताको मान्छे हौँ, हामीलाई कसले के गर्छ भन्नुहुन्थ्यो। उत्तेजना गराउने खालको फोन बेलाबेलामा आउने गर्दथ्यो।

टनकपुरको विषयमा जुन सडक र सदनमा आन्दोलन भयो, आन्दोलनको सिंहदरबार धर्ना दिन थियो। त्यो टुङ्गिएपछि कुनै लोग्ने मान्छेको टेलिफोन आयो। मलाई भाउजू भनेर सम्बोधन गर्यो। भाउजू मदन दाइलाई धर्नामा नपठाउनू। त्यहाँ टियर ग्यास र घुँडामुनि गोली हान्ने मात्र होइन, ताकीताकी गोली हानिनेछ। पछि तपाईँले पछुताउनु सिवाय केही हुँदैन। तपाई को? भनेर सोध्दा सेक्रेसी रहँदैन। कृपया मेरो नाम नसोध्नुहोस् क्षेत्रपाटीबाट गरेको भनेका थिए।

यो जानकारी मैले उहाँलाई दिएँ। उहाँले ए फेरि धम्की दिन थालेछन् भन्नुभयो। धर्ना कार्यक्रम सकेपछि अमर र उहाँसँगै खानुभयो। टनकपुरको घटनापछि संसद्मा मतभिन्नता आयो। यो संसद्को दुई तिहाई मतबाट पारित हुनुपर्छ भन्ने उहाँहरूको भनाई थियो। राष्ट्रिय सहमति हुनुपर्छ भन्ने कुरामा गणेशमानजीहरूको पनि सहमति थियो।

गणेशमानजीहरूले मलाई खोजे भने मलाई खबर गर्ने भनी ईश्वर पोखरेललाई जेठ २ गते (०५०) बिहान आफ्नै डेरामा बोलाई भन्नु भएको थियो। कार्यक्रमको बारेमा कुन दिन कहाँ भनेर हाम्रो बिचमा कुराकानी हुँदैन थियो। ४ गते चितवनमा महिला भेलालाई सम्बोधन गर्ने कुरा मलाई थाहा थियो। तर उहाँ ३ गते नै पोखराबाट चितवनतिर आउनुभयो।

उहाँहरूको गाडीमा आँबुखैरेनीसम्म ऋषि कट्टेलसँगै हुनुहुन्थ्यो भन्ने कुरा मैले सुनेको। त्यो गाडी मुग्लिङबाट नारायण घाटतर्फ जाँदा नारायण घाटतर्फ नलागी काठमाडौँतर्फ आयो। त्यहाँ ठुलो झन्डा भटभट आवाज आउँदो गरेर काठमाडौँतर्फ नलागी नारायण घाटतर्फ मोडियो भन्ने तत्कालको चर्चामा मैले सुनेको हुँ। उहाँहरूको गाडी दासढुंगा पुग्ने केही किलोमिटर वर एउटा ट्रकले त्यो गाडीलाई देखेको रहेछ।

ना.अ.ख ६२० को ट्रक डुम्रेबाट नारायण घाटतर्फ गएको त्यसमा ड्राइभर खलासी सहित १०/१२ जना व्यक्ति थिए। त्यो ट्रकलाई पछाडिबाट हर्न दिएपछि ट्रकले बाटो छोडिदियो। जिप अगाडि लाग्यो। त्यो लोडेड ट्रक पछिपछि जिप अघिअघि केही पर पुगिसकेपछि दासढुंगामा पुगिसकेपछि बिस्तारै खस्यो र त्यसबाट ड्राइभर हाम्फालेर दुइटा घुँडा र दुइटा कुहिनाले टेकेर उभियो।

त्यसपछि ट्रकमा बस्नेहरूले त्यो देखिसकेपछि ट्रक अगाडि लैजाने कि नलैजाने भन्ने खालको उनीहरूका बिच कुरा भयो। उनीहरूको ट्रकमा डुम्रेबाट तीनवटा काठको टुना राखेको थियो। हामी त्यहाँ गयौँ भने यो अवैधानिक हुन्छ त्यहाँ जान हुँदैन भनी गाडी ब्याक गरेर डुम्रे आए।

डुम्रे आएपछि एक जना ट्रकको कामदार नाउँ थाहा नभएको धनकुटा ६ नं. बुधबारे बस्ने लामा थर भएको व्यक्तिले मदन भण्डारी चढेको गाडी पल्टेछ भन्ने थाहा पाए। त्यो गाडी जुन पल्टेको देखेको थिए सो देख्दा उनीहरूलाई साहुदेखि रिस उठेको रहेछ। गाडी फालेर आफू हाम फाले भन्ने लाग्यो। त्यही सोचेर उनीहरू फर्के।

लामाले मदन बस्नुभएको गाडी नै हो भन्ने थाहा पाएपछि उनले ६ नं. बुधवारे धनकुटामा पार्टीको कार्यक्रममा मदन भण्डारीलाई भेटेर चिनेका रहेछन्। धनकुटामा वीरेन्द्र झापालीले लिएर जानु भएको रहेछ। त्यहाँ मदन भण्डारीलाई चिनेको रहेछ।

अमरले 'गाडी स्वाभाविक ढङ्गले दुर्घटना भएको भनेको छ। त्यो गलत भनाई हो। किनभने स्वाभाविक ढङ्गले गाडी दुर्घटना हुँदा उसले हाम फालेको भनेको छ र उसले हाम फाल्दा उहाँहरू के गरेर बस्नुभयो? डाइभरले हाम फाल्दा उहाँहरू पनि हाम फाल्न सक्नु हुन्थ्यो। यसमा मेरो सोचाई उहाँहरूलाई कि त उसले गाडीबाट हाम फाल्नु अगाडि मारेको हुनु पर्छ, कि त बेहोस गराइएको हुनुपर्छ।

एकै ठाउँमा खसेको मोटरभित्रको दुई जना मान्छे दुई बेग्लाबेग्लै ठाउँमा फेला पर्नुभएको छ। यसमा मेरो अर्को विश्वास के छ भने उहाँ कुन बेलामा के निर्णय गर्नुपर्छ तुरुन्तै निर्णय गरिहाल्नु हुन्छ। त्यस्तो निर्णय क्षमता र डिटर्मिनेसन भएको व्यक्ति ड्राइभर हाम फाल्दा त्यत्तिकै कसरी बस्नु भयो होला? त्यस्तो पनि हुन सक्दछ?

यस सम्बन्धमा दुइटा उदाहरण दिन चाहन्छु। उहाँ सङ्खुवासभा जानुभएको थियो। सङ्खुवासभाबाट प्लेनमा फर्कँदा बेस्सरी हावा चल्यो। प्लेन बेस्सरी हल्लियो। त्यो घटनालाई त्यही दिन घरमा आइसकेपछि चिया खाँदै हामीसँग कुरा गर्दाखेरि प्लेनमा त केही गर्न सकिँदैन, बस जिपमा रोडमा भए त्यस्तो अलिकति घच्याकघुचुक भए हाम फाली हालिन्छ (सकिन्छ) भन्नु भएको थियो। यसको आशय जीवन रक्षाको निमित्त तत्काल केही आइपरे उहाँले आफ्नो केही कदम चाल्न सक्नुहुन्थ्यो।

अर्को कुरा उहाँ चुरोट पिउनु हुन्थ्यो। दुई छोरी, म र उहाँ बसी टेलिफिल्म हेर्दा एउटा सीनमा चुरोट पिएर मानिसलाई क्यान्सर भएको हेर्दा छोरीहरूले उहाँलाई पुलुक्क हेरे। अनि उहाँले मलाई चुरोटले केही हुँदैन। अझै बिस वर्षसम्म मलाई ५ तल्ला माथिबाट फाले पनि केही हुँदैन। यसबाट के कुरा पुष्टि हुन्छ भने दासढुंगाको त्यो ठाउँमा जिप दुर्घटना स्वाभाविक ढङ्गबाट हुँदा उहाँहरू पाखा उत्रन सक्नुहुन्थ्यो, तर बिचबाट ड्राइभर हाम्रालेको छ। बिस्तारै गाडी गएको छ। यस्तो अवस्थामा दुइटै मात्र कुरा हुन सक्छ, उहाँहरूलाई लट्ठ्याइएको हुन सक्छ, या त अगाडि नै मारेको हुन सक्छ।

मलाई अझै के लागेको छ भने जीवराज कमरेडलाई त्यहाँ गाडीसँगै फालेर मदन कमरेडलाई छुट्टै फालेको पनि हुन सक्छ। किनभने गाडी दुर्घटना भएको ठाउँ र उहाँलाई भेटिएको ठाउँ फरक छ। यसको बारेमा ड्राइभरलाई सबै कुरा, यो हत्या काण्डको बारेमा थाहा छ। उसको सहयोग नलिईकन जसले यो घटना घटायो ऊ सफल हुनै सक्दैन। यसले गर्दा फेरि ड्राइभरले अहिलेसम्म सबै कुरा लुकाइराखेको छ।

सरकारी रवैयाको बारेमा मलाई शङ्का छ। ड्राइभर त्यो अभियुक्त हो, जो सामान्य चोर डाँका वा हत्यारा मात्र होइन, उसले नेपालको राजनीतिका त्यस्ता व्यक्तिहरूको हत्या गरेको छ, नेताहरूको बारेमा मैले परिचय गराइरहनु पर्दैन।

विपक्षी दलको पार्टीका प्रमुख नेता प्रतिनिधिसभाको सदस्य जसको हत्याको आरोप लागेको ड्राइभरलाई सरकारले जस्तो ढङ्गले कडा बयान लिनुपर्ने, त्यस्तो नगरेर रेडियो अखबारहरूबाट ऊ निर्दोष हो भन्ने आशयको कुरा प्रचार भइरहनु आपत्तिजनक कुरा हो।

घटनाक्रम र आशङ्काको क्रमले गर्दा यो सुनियोजित हत्याकाण्ड धेरै माथिल्लो तहबाट योजना बनाएर गरेको लाग्दछ। यसको रहस्य खोल्ने प्रस्थान बिन्दु अमर लामा एउटा ज्युँदो प्रमाण छ।

उसबाट आयोगको जुन अधिकार छ त्यसलाई प्रयोग गरेर जाँचबुझ गर्दा पत्ता लाग्न सक्छ। पार्टीको माग अनुसार जाँचबुझ गर्न आवश्यक स्रोत साधन आवश्यकता अनुसार विदेशी खुफियाहरू समेतको सहयोग लिई उच्चस्तरबाट छानबिन हुनुपर्दछ भन्ने मलाई लागेको छ।

(दासढुंगा दुर्घटनासम्बन्धी न्यायिक जाँचबुझ आयोग-२०५० लाई विद्या भण्डारीले दिएको बयानको सम्पादित अंश २०७८ जेठ ३ मा उकेरामा प्रकाशित भएको थियो। यो पुन प्रकाशित गरिएको हो।)

दासढुंगा सम्बन्धी सामग्री

३ जेठ, २०८०, १९:३४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।