सर्वोच्चको फैसलाविरुद्ध रेशम चौधरी पुनरावलोकनमा जाने

सर्वोच्चको फैसलाविरुद्ध रेशम चौधरी पुनरावलोकनमा जाने

काठमाडौं : कैलालीको टीकापुर घटनाको दोषी ठहर गर्दै सर्वोच्च अदालतले आफूविरुद्ध उच्च अदालतको जन्मकैदको सजायको फैसला सदर गरेपछि रेशम चौधरीले पुनरावलोकनमा जाने भएका छन्।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको थियो।

सोही फैसलाविरुद्ध उननले पुनरावलोकन गर्न लागेको उनको पक्षबाट वकालत गर्दै आएका अधिवक्ता स्वागत नेपालले जानकारी दिए। उनले सर्वोच्चको फैसलालगत्तै चौधरीलाई भेटेका थिए।

सर्वोच्च अदालतले मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण वा तथ्य मुद्दाको किनारा भएपछि मात्र सम्बन्धित पक्षलाई थाहा भएमा वा अन्य कुनै किसिमले पत्ता लागेमा वा सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानूनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको देखिएमा सर्वोच्चको फैसलामाथि पुनरावलोकन हुने कानूनी व्यवस्था छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन्।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो। चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ।

२ जेठ, २०८०, २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।