सानु भण्डारीको दाबी : प्रेम राईको गाडीमा साढे २ करोड राखेको हुँ, आरजुलाई भेटेको छैन

सानु भण्डारीको दाबी : प्रेम राईको गाडीमा साढे २ करोड राखेको हुँ, आरजुलाई भेटेको छैन

काठमाडौंः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका सदस्य देखिएका सानु भण्डारीले तत्कालीन गृह सचिव प्रेम राईले दुई करोड ३० लाख रकम लिएको दाबी गरेका छन्।

बयानमा भण्डारीले हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहेका राईलाई पोलेका हुन्।

उनले सरकारी वकिलसँगको बयानमा गृह मन्त्रालय गएर कार्यकक्षमा राईलाई भेटेको र निर्देशन अनुसार उनको गाडीको डिक्कीमा दुई करोड ३० लाख राखिदिएको बताएका हुन्।

राई गृह सचिव रहेकै बेलामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने योजनाअनुसार समिति गठन भएको देखिएको छ।

राई गृह सचिवहुँदा गृहमन्त्रीका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई प्रहरी हिरासतमा छन्। भण्डारीको दाबीअनुसार प्रेम राईले इन्द्रजितमार्फत काम गराउँथे। 

गृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापासमेत यो प्रकरणमा जोडिएका छन्। बादल भने पोलिएका छैनन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरी हिरासतमा छन्।

सरकार बदलिएर गृहमन्त्री बनेका बालकृष्ण खाँण, गृहसचिव टेक नारायण पाण्डेलगायत १४ जना हिरासतमा छन्।

भण्डारी गिरोहको प्रमुख व्यक्ति रहेको आरोपमा हिरासतमा छन्। स्रोतले दिएको जानकारीअनुसार उनीसँग कांग्रेस सांसद आरजु राणासँगको सम्बन्धबारे समेत सोधिएको थियो। बयानमा उनले राणासँग आफ्नो डिल नभएको दाबी गरे।

भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउन पैसा लिएकोमध्ये अधिकांशको रकम फिर्ता गरेको तर उच्च तहका व्यक्तिहरूलाई दिएको रकम फिर्ता नआउँदा केहीलाई पैसा फिर्ता गर्न नसकेको दाबी गरेका छन्। 

पक्राउ आरोपीको बयान चलिरहेको छ। फरार रहेका टोपबहादुर दुई दिन अगाडि मात्र समातिएका थिए।

२ जेठ, २०८०, १९:१४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।