डडेलधुरामा हैजा भेटियो, देशभर झाडापखालाका बिरामी बढे

डडेलधुरामा हैजा भेटियो, देशभर झाडापखालाका बिरामी बढे

काठमाडौ : डडेलधुराको परशुराम नगरपालिका–८ को गुप्तेगडामा झाडापाखलाका कारण केही दिनअघि एक जना १४ वर्षीय बालिकाको मृत्यु भयो।

परशुराम नगरमा आइतबारसम्म एक सय ५७ जनामा झाडापखाला देखिएको त्यहाँका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर सिंह बताउँछन्। उनका अनुसार प्रभावित क्षेत्रका चार जनाको परीक्षण गर्दा एक जनामा हैजा देखिएको हो।

वैशाख २२ गतेबाट झाडापखाला देखिएकोमा २६ गते एक्कासी चार जना सिकिस्त भएका थिए। उनीहरूलाई जोगबुढा अस्पताल लगिएकोमा सोहीमध्येकी एक १४ वर्षीया बालिककाको मृत्यु भयो।

तर, अहिले भने त्यस क्षेत्रमा झाडापखाला नियन्त्रण छ। नगरपालिकाले स्वाथ्यकर्मीको टोली प्रभावित क्षेत्रमा शिविर नै खडा गरेर उपचारमा खटाएको प्रमुखले सिंहले बताए।

‘पाँच जना स्वास्थ्यकर्मी जनस्वास्थ्य निरीक्षकको कमाण्डरमा खटाएका छौं’, उनले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी तथा प्रकोप व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले पनि त्यहाँ अहिले झाडापखाला नियन्त्रणमा आइसकेको जानकारी आएको बताए।

त्यस क्षेत्रका घरहरूमा चर्पी नभएको र पानीको स्रोत पनि खुला भएर दुषित भएकैले झाडापखाला फैलिएको उनको भनाइ छ।

संक्रमित व्यक्तिमा पेट दुख्ने तथा झाडापखाला लाग्ने र केहीमा ज्वरो आउने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए।

गत वर्षहरूको तुलनामा यस वर्षको एक महिनायता देशभर झाडापखालाका बिरामी आँकलन गरिए भन्दा बढि देखिएको महामारी तथा प्रकोप व्यवस्थापन शाखा प्रमुख ढुंगानाले जानकारी दिए।

‘नेपालको ओभरअल केसहरू हेर्दा अगाडिको १/२ वर्ष अघिको भन्दा संख्याहरू माथि नै छ, अलि बढि नै छ,’ उनले भने, ‘अघिल्लो हप्ता तीन सय ५० (केस) देखिएको छ।’

त्यसो त दुई सातायता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पुग्ने झाडापखालाका बिरामी देखिन थालेका छन्।

यसरी झाडापखाला देखिनुले हैजाको जोखिम हुनसक्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

‘हैजाको विषयमा सोच्नुपर्ने हुन्छ,’ उनले भने, ‘गएको वर्ष पनि हैजा देखिएको थियो। हैजा पनि त्यस(झाडापखाला)मा देखिनसक्ने सम्भावना बढेर गयो।’

त्यसैले जथाभावी खानपिन नगर्न र शुद्ध पानी पिउन चिकित्सकको सुझाव छ। गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ७६ जनामा हैजा पुष्टि (केस रिपोर्ट) भएको थियो।

यो वर्ष पनि वर्षायाम सुरु भएसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा हैजा फैलने जोखिम उच्च रहेको विज्ञहरूले बताउँदै आएका छन्। तर, सरकारले भने यसतर्फ प्रभावकारी रूपमा चासो दिएको देखिँदैन।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले यो वर्ष नेपालको कुनै पनि ठाउँमा ठूलै रूपमा हैजा फैलने जोखिम रहेको भन्दै सजग गराइसकेका छन्।

१ जेठ, २०८०, २०:१९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।