सशस्त्र युद्धका अनुभवी कमाण्डर रायमाझी सेल्टर चेन्ज गर्दा यसरी समातिए

सशस्त्र युद्धका अनुभवी कमाण्डर रायमाझी सेल्टर चेन्ज गर्दा यसरी समातिए
फाइल तस्वीर

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न रहेर पैसा उठाउने धन्दामा लागेको आरोपमा फरार एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परे।

प्रहरीलाई चक्मा दिएर भागे पनि वारेन्ट जारी भएको ११ औं उनी समातिए। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ परेका हुन्। जहाँ उनी एक व्यक्तिको घरमा लुकेर बसेका थिए। 

भारतसम्म पुगेको अड्कलबाजी भइरहेका बेला रायमाझी भने नेपालमा, त्यो पनि काठमाडौंबाटै समातिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणका हाई प्रोफाइल रायमाझीबाहेक पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ।

बलियो प्रमाणका आधारमा उनीहरू समातिए पनि रायमाझी फरार रहँदै आएका थिए। 

रायमाझीको खोजीमा काठमाडौँ परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरोको समेत टोली परिचालित थियो। तर उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

वैशाख १९ गते उनीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जतिबेला उनी गृहजिल्ला अर्घाखाँचीमा थिए। त्यसको भोलिपल्ट २० गते प्रहरीलाई फोन गरेर आफू प्रहरीसँगै काठमाडौं आउने बताए पनि उनी एकाएक बेपत्ता भएका थिए। उनी त्यसपछि भाग्दै हिँडे।

अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँग एक कार्यक्रमको सिलसिलामा पुगेका उनले नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरलाई फोन गरेर आफू भोलिपल्ट आफैं काठमाडौं उपस्थित हुने बाचा गरेका उनले भागेर कतै गएनन्। 

त्यसपछि मोबाइल फोन अफ गरेर लुक्दै हिँडेका उनी गायब भए। सम्पर्कविहीन भएका उनी त्यतैबाट पोखरा हानिए। 'उहाँले त्यसबेला सभामुखलाई पनि आफू काठमाडौँ आइपुग्छु', भन्नुभएको रहेछ,' प्रहरी उच्च स्रोतले उकेरासँग भन्यो, 'काठमाडौं फर्किन्छु भनेर उहाँ पोखरा जानुभएछ।'

लुक्दै हिँड्ने क्रममा पोखरालाई सेल्टर बनाएका सशस्त्र युद्धका कमाण्डरसमेत रहेका रायमाझी त्यसपछि अस्ति बेलुका (शुक्रबार) पोखराको सेल्टर चेन्ज गरेर काठमाडौँ आइपुगे। अनि उनी बुढानिलकण्ठ आसपासमा एक चिनजानका मानिसका घरमा बसेका स्रोत बताउँछ। उनी कहिले बुढानिलकण्ठमा कांग्रेस सभापति देउवाको घर त कहिले मन्दिर आसपास बस्न थाले।  

'सुरक्षा निकायले खासै याद नगर्ने स्थान भनेर होला उनी बुढानिलकण्ठको मन्दिर वरिवरि सेल्टर लिएर बसेको हामीले थाहा पायौँ,' स्रोत बताउँछ।

प्रहरीसँगको फोन सम्पर्कमा आफैं आउँछु भनी बेपत्ता भएपछि उनको खोजी तीव्र बनाउन आईजीपी कुँवर नै सक्रिय भएर लागिपरे। यसका लागि उनले सेन्ट्रल टिम एक्टिभ गरे। हिजो (शनिबार) बेलुका भने रायमाझी बुढानिलकण्ठमा बसेको लोकेसन प्रहरीले पत्ता लगायो। आईजीपीको स्पेसल टिमले यसबारे थाहा पाउनेबित्तिकै हाई अलर्टका साथ उनी बसेको स्थान छापा हान्यो। 

र पनि उनी पत्ता लाग्न भने सकेनन्। उनी नजिकैको चिनजानको एक घरमा सेल्टर लिएर बसेका थिए। 'तर आज बिहान भने उहाँले फेरि उक्त स्थानमै सेल्टर चेन्ज गर्नुभयो,' प्रहरी उच्च स्रोत भन्छ,' सेल्टर चेन्ज गर्नासाथ भने उहाँ पक्राउ पर्नुभयो।'

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना प्रहरी हिरासतमा छन्।

आइतबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ आदेश जारी गरेको छ। थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने फरारै छन्।

३१ बैशाख, २०८०, ०१:१७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।