एमाले सचिव टोपबहादुर रायमाझीलाई आइजिपीको विशेष टोलीले पक्राउ गर्‍यो, बुढानीलकण्ठमा फेला परेको दाबी

एमाले सचिव टोपबहादुर रायमाझीलाई आइजिपीको विशेष टोलीले पक्राउ गर्‍यो, बुढानीलकण्ठमा फेला परेको दाबी

काठमाडौँ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै पैसा उठाउने गिरोहमा संलग्न रहेको आरोपमा फरार एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको पुष्टि गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले रायमाझी पक्राउ परेको पुष्टि गरेका हुन्। प्रहरीले उनी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। उनी एक जनाको घरमा लुकेर बसिरहेका थिए। 

रायमाझीको खोजीमा काठमाडौँ परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरोको समेत टोली परिचालित थियो। तर उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो।

प्रहरी महानिरीक्षकको कमजोरीका कारण उनी फरार हुन सकेको भन्दै आलोचना भएको थियो। अन्तमा उनी मातहतकै केन्द्रीय टोलीले रायमाझीलाई पक्राउ गर्न सफल भयो।

विशेष टोली प्रहरी महानिरीक्षकको प्रत्यक्ष नियन्त्रणमा रहने टोली हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी एकाएक गायब भएका थिए। रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रहेका उनी अर्घाखाँचीकै एक कार्यक्रममा सहभागी भइरहँदा वैशाख २० गते रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको थियो। काठमाडौँ भैरहवा विमानस्थलमा आइपुगेका उनी त्यसपछि फरार भएका थिए।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना प्रहरी हिरासतमा छन्।

आइतबार मात्रै प्रहरीले पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ आदेश जारी गरेको छ। थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज भने फरारै छन्।

३१ बैशाख, २०८०, २१:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।