आईपीएल इतिहासमा कीर्तिमान बनाउने यशस्वीको संघर्षः पानीपुरी बेच्थे, कहिले भोकै सुत्थे

आईपीएल इतिहासमा कीर्तिमान बनाउने यशस्वीको संघर्षः पानीपुरी बेच्थे, कहिले भोकै सुत्थे

बिहीबार राति भएको आईपीएलको ५६ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट्राइडर्सलाई ९ विकेटको विशाल अन्तरले हरायो।

खेलमा नायक बने राजस्थानका यशस्वी जयसवाल। आईपीएल इतिहासमा सर्वाधिक छिटो अर्धशतक (१३ बलमा ५० रन) बनाएका उनले ४७ बलमा ९८ रन बनाए। त्यो पनि नटआउट रहेर। 

१५० रनको लक्ष्य पाएको राजस्थानले मात्र १ विकेट गुमाएर १३.१ ओभरमै लक्ष्य भेट्टाएको थियो। जहाँ उनको ब्याटबाट ९८ रन बन्यो। यस क्रममा उनले ५ छक्का र १२ चौका निस्किएको थियो। सन्जु स्यामसनसँगको साझेदारीमा उनले यो आँकडा बनाएका हुन्। 

४ करोड भारु पारिश्रमिक लिएर सन् २०२० देखि राजस्थानबाट खेलिरहेका जयसवाल भारतीय क्रिकेटर हुन्।

पूरा नाम यशस्वी भुपेन्द्र कुमार जयसवालको जन्म २००१  डिसेम्बर २८ मा भएको थियो। हाल २२ वर्षका भए। उनी सुरिया, उत्तर प्रदेशका ब्याटर हुन्। बायाँहाते ब्याटर जयसवालले आफ्नो आईपीएल करियरमा अहिलेसम्म ३५ खेल खेलेका छन्।

३३ः०० को औसत रन बनाए उनले १ हजार १ सय २२ रन पूरा गरिसके। आईपीएलमा उनले १ शतक र ७ अर्धशतक प्रहार गरेका छन्।

आईपीएलमा उनले सर्वाधिक ठूलो स्कोर पनि यसै वर्ष बनाए। जुन १२४ रनको हो। उनले यो रेकर्ड मुम्बईविरुद्ध वाङ्खडे स्टेडियमा बनाएका थिए। 

जयसवालले आफ्नो आईपीएल करियरमा १३६ चौका र ४८ छक्का प्रहार गरेका छन्। 

१० वर्षको उमेरमा उनी आजाद मैदानमा क्रिकेट प्रशिक्षण लिन दादर, मुम्बई गए। दादर आजाद मैदानबाट टाढा भएकाले उनी कालबादेवी छिमेकमा सरेका थिए। जहाँ उनले सामान्य कामको सट्टा डेरी पसलमा बस्ने ठाउँ पाए।

तर क्रिकेटको तालिमका कारण पसलमा धेरै समय बिताउन नसकेपछि पसलेले उनलाई निकालेको थियो। त्यसपछि उनीसँग बस्ने ठाउँ अभाव भयो।

त्यसपछि उनी मैदानमा ग्राउन्ड्सम्यानसँग टेन्टमा बस्न थाले। कहिलेकाहीँ बुवाले पैसा पठाउँथेँ। त्यसैले उनले गुजरा चलाइरहेका थिए। तर त्यसले उनलाई पुग्दैन्थ्यो। उनले स्टार स्पोर्ट्सको अन्तर्वार्तामा भनेका थिए, 'बुवाले महिनाको १५ सय पठाउनुहुन्थ्यो, त्यसले के पुग्थ्यो र! त्यही पनि बुवालाई के नै भन्नु र ?'

पैसा अभाव भएपछि उनी कहिलेकाहीँ भोकै पनि सुत्ने गर्थे। 

एकदिन भने उनले त्यहीँ पानीपुरी बेच्ने काम गर्न थाले। उक्त अन्तर्वार्तामा उनले भनेका छन्, 'जब मलाई चिन्ने क्रिकेटहरू आउँथे। त्यसपछि भने म त्यहाँबाट भाग्ने गर्थें।'

तीन वर्षसम्म उनको जीवन यसरी नै चल्यो। त्यसपछि भने उनले नेटमा अभ्यास गर्ने मौका पाए। जयसवाललाई एक दिन स्थानीय प्रशिक्षक ज्वाला सिंहले अभ्यास गरिरहेको बेलामा देखे। उनको जीवन त्यसै दिन बदलियो। जयसवालको खेल देखेर ज्वालले उनलाई शिष्य बनाए। 

ज्वालाले जयसवालको प्रशंसा गर्दै एक अन्तर्वार्तामा भनेका थिए, 'म नेटको पछाडि उभिरहेको थिएँ र ब्याटिङ गर्न गाह्रोजस्तो थियो। सबै ब्याट्सम्यानहरू संघर्ष गरिरहेका थिए तर जब यशस्वी भित्र आए, उनले बललाई क्लिन प्रहार गर्न थाले। म साँच्चै प्रभावित भएँ र उनीसँग तुरुन्तै कुरा गरें।'

त्यसपछि भने जयसवालका बुवाआमाले ज्वालाई क्रिकेट सिकाउनेगरी जिम्मा लगाए। 

(भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा)

२८ बैशाख, २०८०, २३:५७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।