अमेरिकाको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार : ३ जनाको मृत्यु, दुई संदिग्धले गरे आत्महत्या

अमेरिकाको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार : ३ जनाको मृत्यु, दुई संदिग्धले गरे आत्महत्या

एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्यान डिएगोको एउटा मस्जिदमा सोमबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मस्जिद बाहिर एउटा कारमा दुई जना किशोरहरू पनि मृत अवस्थामा भेटिएका छन्।

स्यान डिएगोको क्लेरमोन्ट इलाकामा रहेको ‘इस्लामिक सेन्टर’ शहरकै सबैभन्दा ठूलो मस्जिद हो। प्रहरीले यस घटनालाई ‘हेट क्राइम’को रूपमा लिएर अनुसन्धान सुरू गरेको छ।

प्रहरी प्रमुख स्कट वालका अनुसार आक्रमणकारीहरूले नफरत फैलाउने कुराहरू उल्लेख गरेको स्पष्ट देखिएकाले यसलाई घृणाजन्य अपराध मानिएको हो।

१७ र १९ वर्षका दुई संदिग्ध युवाहरू मस्जिद नजिकैको एउटा गाडीमा मृत फेला परेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले मस्जिदमा गोली चलाएपछि आफैंलाई गोली हानेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

एक प्रत्यक्षदर्शीका अनुसार उनले करिब ३० राउण्ड गोली चलेको आवाज सुनेका थिए। ती प्रत्यक्षदर्शीले भने, ‘गोलीको आवाज सुन्दा कुनै 'सेमी-अटोमेटिक' हतियार प्रयोग गरिएको जस्तो लाग्थ्यो।’

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्यान डिएगो इस्लामिक सेन्टरमा भएको यस गोलीकाण्डलाई ‘अत्यन्तै भयानक’ भन्दै दुःख व्यक्त गरेका छन्।

उनले घटनाको बारेमा जानकारी लिएको र यसलाई गम्भीरताका साथ हेरिने बताएका छन्।

अहिले मस्जिद वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रहरीले थप प्रमाणहरू संकलन गरिरहेको छ।

जेठ ५, २०८३ मंगलबार ०७:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।