कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा

कंगोमा इबोला फैलिएपछि विश्व स्वास्थ्य संगठनद्वारा ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा

एजेन्सी : विश्व स्वास्थ्य संगठनले अफ्रिकी देश कंगोमा फैलिएको इबोला संक्रमणलाई ‘अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ।

कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको यो घातक रोगका कारण हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जनामा संक्रमणको आशंका गरिएको छ।

डब्लुएचओका अनुसार यो संक्रमण ‘बुन्डिबुग्यो’ प्रजातिको भाइरसका कारण फैलिएको हो। यस प्रजातिका लागि अहिलेसम्म कुनै प्रमाणित खोप वा औषधि उपलब्ध छैन।

संगठनले यो प्रकोप हालको रिपोर्टभन्दा अझै भयावह हुन सक्ने र क्षेत्रीय स्तरमा फैलिन सक्ने चेतावनी दिएको छ।

कंगोको इटुरी प्रान्तबाट सुरू भएको यो भाइरस राजधानी किन्सासा र छिमेकी देश युगान्डामा समेत पुगिसकेको पुष्टि भएको छ। युगान्डामा संक्रमणका कारण एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

यस्तै, विद्रोहीको नियन्त्रणमा रहेको गोमा सहरमा पनि एक जनामा संक्रमण देखिएको छ। रिपोर्टका अनुसार कंगोमा रहेका कम्तीमा ६ जना अमेरिकी नागरिक पनि यस भाइरसको जोखिममा परेका छन्।

इबोला संक्रमित व्यक्तिमा सुरुमा ज्वरो आउने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, टाउको र घाँटी दुख्ने जस्ता लक्षण देखिन्छन्। संक्रमण बढ्दै जाँदा वान्ता हुने, पखाला लाग्ने र शरीरका भित्री वा बाहिरी अंगबाट रक्तस्राव हुन थाल्छ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितहरूको वास्तविक संख्या अझै बढी हुन सक्ने भन्दै निगरानी बढाउन आग्रह गरेका छन्।

संगठनले छिमेकी देशहरूलाई सतर्क रहन र सिमानामा चेकजाँच कडा पार्न भनेको छ। यद्यपि, डराएर सिमाना नै बन्द गर्ने वा व्यापारमा प्रतिबन्ध लगाउने जस्ता कार्य नगर्न पनि डब्लुएचओले सचेत गराएको छ।

कंगोमा यसअघि सन् २०१८ देखि २०२० को बीचमा भएको इबोला प्रकोपमा २३ सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। इबोला भाइरस पहिलो पटक सन् १९७६ मा कंगोमै पत्ता लागेको थियो, जुन चमेरोबाट मानिसमा सरेको विश्वास गरिन्छ।

जेठ ४, २०८३ सोमबार १३:२२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।