विपक्षमा बहस गर्न आएपछि स्वागत नेपाललाई खाँणले रोक्न खोजे तर सकेनन्, हतकडी नलगाएकोमा सोधे प्रश्न

विपक्षमा बहस गर्न आएपछि स्वागत नेपाललाई खाँणले रोक्न खोजे तर सकेनन्, हतकडी नलगाएकोमा सोधे प्रश्न

काठमाडौं : अदालतमा ल्याइएका अन्य थुनुवालाई हत्कडी लगाउने तर पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई हत्कडी नलगाएकोमा अदालतमा प्रश्न उठेको छ।

खाँणलाई न्यायिक हिरासतमा राख्ने अनुमतिका लागि प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला प्रहरी परिसरबाटै खाँणको हातमा हतकडी थिएन।

अधिवक्ता स्वागत नेपालले अदालतमा म्यादका लागि ल्याइएकाहरूको हातमा हतकडी रहेको तर खाँणको हातमा हतकडी नभएको भन्दै अदालतमै विभेद भएको प्रसङ्ग निकालेका थिए।

इजलासमा नेपालले खाँणको विपक्षमा बहस गर्न खोज्दा खाँणका पक्षका वकिलसँगै खाँणले समेत आफ्नो विपक्षमा बहस नगरिदिन आग्रह गरेका थिए। तर उनले बहस गरे।

खाँणका पक्षका वकिलहरूले हाजिर जमानीमा छाड्न आग्रह गरे पनि न्यायाधीश उत्तम सिलुवालले तीन दिन न्यायिक हिरासतमा राख्न अनुमति दिए।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई बुधबार विहान चाबहिलको मैजुबहालमा रहेको डेराबाट पक्राउ गरेको थियो।

पक्राउ गर्न प्रहरी आएपछि नै खाँणले सकेसम्म प्रहरी कार्यालय नजाने प्रयास गरेका थिए। तर उनको प्रयास सफल भएन।

२७ बैशाख, २०८०, २२:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।