प्रधानमन्त्री भेटेर फर्किएका ओली गम्भीर देखिए, रायमाझीलाई आफैँ खोज्न पत्रकारलाई सुझाव

प्रधानमन्त्री भेटेर फर्किएका ओली गम्भीर देखिए, रायमाझीलाई आफैँ खोज्न पत्रकारलाई सुझाव

काठमाडौं : उपप्रधानमन्त्री भइसकेको व्यक्ति कहाँ भाग्छन् भन्दै पार्टीका नेता टोपबहादुर रायमाझीको बचाउमा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार पत्रकारलाई नै रायमाझी खोज्न भने।

तीन दिनको बीचमा दोस्रो पटक प्रधानमन्त्री भेट्न गएका उनी शनिबार केही गम्भीर देखिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ओली आफैँ सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटिरहेका छन्।

‌ओलीको भेटलाई नक्कली शरणार्थी प्रकरणमा रायमाझी जोडिनुलाई हेरिएको छ। अनुसन्धान स्रोतको दाबी अनुसार रायमाझी भन्दा पनि ओलीसँगका अती निकट व्यक्तिको नाम जोडिएपछि उनले प्रधानमन्त्री प्रचण्ड भेट्न थालेका हुन्।

यसअघि प्रधानमन्त्रीलाई भेटेर फर्किएका ओलीले सन्चारकर्मीसँग खुलेर बोल्दै पटक-पटक ‘मन्त्री भइसकेको व्यक्ति भाग्छ जसरी बाटैमा समात्नु षड्यन्त्र भएको’ दाबी गरेका थिए।

शनिबार भने उनी पत्रकारहरूसँग खुल्न चाहेनन्। छोटो-छोटो उत्तर दिए। ‘पूर्वमन्त्री, उप-प्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र भन्नुभएको थियो। तर टोपबहादुर रायमाझी हराउनुभयो। कहाँ हुनुहुन्छ?’ भन्ने प्रश्नमा उनले ‘तपाईँहरूले खोज्नुस् न!’ भन्ने जवाफ दिए।

रायमाझी आफ्नो सम्पर्कमा नरहेको दाबी गर्दै उनले रायमाझी कहिले आउँछन् भन्ने प्रश्नको जवाफमा भने, ‘उहाँलाई नै सोध्नुस् न।’

उनले एमाले मन नपराउनेहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेकाहरूलाई जोगाउन खोजेको भनेर आरोप लगाए।

२३ बैशाख, २०८०, १४:२८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।