इमोसन' देखाउन असफल डान्सिङ रियालिटी सोजस्तो फिल्म

इमोसन' देखाउन असफल डान्सिङ रियालिटी सोजस्तो फिल्म

नेपाली फिल्म इतिहास हेर्ने हो भने अफ्ठ्यारा विषय र विधामा कमै काम भएका छन्।

लामो समय बलिउडको ह्याङबाट उत्रन नसकेको नेपाली फिल्ममा केही नयाँ काम भने नभएका होइनन्। 

त्यस्तै नयाँ विषयमाथि बनाइएको 'ज्याकीः आई एम ट्वान्टी वान' बिहीबार रिलिज भयो। जटिलमध्ये एक नृत्यको विधामा बनेको फिल्म हो यो। 

नेपालमा नृत्यको इतिहास बेग्लै छ। मौलिक नृत्यहरू थुप्रै छन्। तर फिल्ममा धरानमा जन्मेका युवा र काठमाडौंमा जन्मिएकी युवतीको 'हिपहप डान्स' मोह र उतारचढाव देखाइएको छ।

अब थोरै कथावस्तुको चर्चा गरौं।

ज्याकी लिम्बू (धीरज मगर) को डान्स गृह जिल्लामा चर्चित छ। घरमा बुबा छन्, जो आफू लाहुरे हुन नपाएको तिर्खा ज्याकीमार्फत मेटाउन चाहन्छन्। 

ज्याकीका दाजु मिलन संगीतमा 'योद्धाज ब्याण्ड'का मेम्बर थिए, बुबाको लाहुरे बनाउने प्रेसर धान्न नसकेर ड्रग्समा फसे र रिहावमा बस्छन्। 

लामो समय कोरियोग्राफीमा बिताएकी निर्देशक रेनशा राई राणाको मिहिनेत पर्दामा देखिन्छ। उनको यो कदम र उठाएको जोखिमलाई प्रशंसा गर्नैपर्छ।

आमाको भित्री मनमा लाहुरे बन्यो भने आफूबाट सन्तान टाढा जान्छ भन्ने सोच गढेको छ। त्यसैले सन्तानको कला मोहमा साथ दिन्छिन्। ज्याकीले बुबाको लाहुरे बन्ने सपना रोज्लान् कि आफ्नो खुसी ? फिल्मले यसैको उत्तर दिन्छ। 

त्यस्तै अर्कातिर काठमाडौंमा जन्मेकी रुवी (जसिता गुरुङ) को कथा छ। अन्तर्जातीय बिहे गरेका आप्पाले रुवीकी माँ र बहिनीलाई छाडिदिन्छन्। उनी मामा, माइजू र अजीसँग मामाघर बस्छिन्।

आमाले हिपहप डान्समा लाग्न पूर्ण रुपमा मद्दत गर्छिन् भने मामामाइजू उनको विरुद्धमा छन्। ज्याकीले जस्तै रुवीले परिवार रोज्लिन् कि डान्स, फिल्मले नै बताउँछ। 

लामो समय कोरियोग्राफीमा बिताएकी निर्देशक रेनशा राई राणाले आफ्नो ज्ञानबारे दोस्रो फिल्म बनाएकी हुन्। उनको मिहिनेत पर्दामा देखिन्छ। उनको यो कदम र उठाएको जोखिमलाई प्रशंसा गर्नैपर्छ। 

तर, नृत्य ड्रामा भन्दैमा फिल्मभरि लाउड ब्याकग्राउण्ड म्युजिक र डान्स मात्रै देखाउनु फिल्मको कमजोरी भएको छ। विषयवस्तु राम्रो भए पनि, पहिलो हाफमा नृत्य मात्रै, दोस्रो हाफमा मेलोड्रामा मात्रै छ। यी दुईलाई कनेक्ट गर्दै कथा भन्न फिल्म चुकेको छ। संवादमा मिहिनेत भए पनि पटकथा एकदमै फितलो छ। 

नृत्यका तौरतरिका र त्यसले भन्न खोजेका पक्षहरू दर्शकको नजरले देख्दैन। नृत्यका स्टेपहरूले पनि कथा भन्न र दर्शकलाई बुझाउन सक्नुपर्थ्यो, त्यसो भएको छैन। दर्शकको इमोसन डान्सले बोक्न सकेको छैन। फिल्मभरि हराएको पाटो भनेको दर्शक र पात्रबीचको 'इमोसनल कनेक्सन' हो। 

क्यामरा अतालिएको महसुस हुन्छ। के देखाउनुपर्ने के देखाइरहेको भन्ने अनुभूति दर्शकलाई हुन्छ।

फिल्ममा कलाकारहरूको मिहिनेत अर्को प्रशंसाको पाटो हो। चरित्र चित्रणदेखि कलाकारको अभिनय सबै अब्बल छ। तर कलाकारको इमोसन क्यामराले देखाउन सकेको छैन।

खिचाइदेखि कलरिङ अनि एडिटिङसम्म समस्या छ। 

टिकटकमा चर्चा कमाएकादेखि डान्समा अब्बल कलाकारहरू फिल्ममा भेला पारिएको छ। तर उनीहरूलाई क्यामराले खिच्न सकेको छैन। कति धेरै कलाकारहरू फिल्ममा झल्याकझुलुक्क देखिन्छन्, तर उनीहरूको महत्व क्यामराले देखाउन सकेको छैन। 

क्यामरा अतालिएको महसुस हुन्छ। के देखाउनुपर्ने के देखाइरहेको भन्ने अनुभूति दर्शकलाई हुन्छ। धेरै कलाकारको इमोसन एकैचोटि खिच्नुपर्ने भएकाले पनि त्यस्तो भएको मान्न सकिन्छ। जसले फिल्ममा दर्शक के हेर्न चाहन्छन्, त्यो देखाउन सकिएको छैन। जे हेर्न चाहँदैनन् त्यो अलि धेरै छ। 

उदाहरणका लागि, दर्शक एन्टागोनिष्टभन्दा अब्बल डान्स प्रोटागोनिष्ट हेर्न चाहन्छ। तर फिल्ममा उल्टो छ। जसले फिल्मको मुख्य कलाकारसँग दर्शक जोडिन सक्दैनन्। खिचाइमा सार्पनेस नहुनु अर्को समस्या हो। 

फिल्मको प्रायः सट ब्लु टोनमा खिचिएको छ। ब्लु लाइटले शान्त प्रवृत्ति झल्काउँछ। फिल्ममा पात्रले संघर्ष गरिरहेको छ, उसको अनुहारमा रिस छ, पीडा छ, प्रतिस्पर्धा छ, बदला छ। तर लाइट ब्लु टोनमा छ। जसले गर्दा पात्रको मनोदशा देखाउन सकेको छैन। 

नेपालमा कलालाई गर्ने प्रशासनिक दमनदेखि यसभित्रका नमीठो सत्य फिल्ममा समावेश छ।

ब्याकग्राउण्ड म्युजिक एकदमै लाउड छ। ब्याकग्राउण्डमा धेरै कुरा देखाउन खोज्दा मुख्य पक्ष छायामा परेको छ। डान्सका भिडियो खिच्दा त्यसको ब्याकग्राउण्डमा देखिएका कुराले दर्शकको ध्यान डान्समा कम पर्ने सम्भावना छ। 

सम्पादन अब्बल हुँदाहुँदै फिल्मले दर्शकसँग कनेक्ट गराउन सकेको छैन। पहिलो हाफ डान्सिङ रियालिटी सोजस्तो, दोस्रो हाफ मेलोड्रामाजस्तो भयो। फिल्मको अन्त्य पनि एकदमै फितलो छ। 

फिल्ममा ट्विस्ट एण्ड टर्न एकदम कम छ।अब के हुन्छ, कस्तो सट आउँछ ? भन्ने पहिल्यै थाहा हुन्छ।

विभिन्न कमजोरीका बाबजुद फिल्मले नेपाली युवामा पलाएको हिपहप डान्स मोहलाई न्यायिक तरिकाले देखाएको छ। 

नेपालमा कलालाई गर्ने प्रशासनिक दमनदेखि यसभित्रका नमीठो सत्य फिल्ममा समावेश छ। सार्वजनिक ठाउँमा कसरी कलाकारहरू भाग्नुपर्छ भन्ने तीतो यथार्थ स्ट्रिट आर्टिस्टले दैनिक भोगिरहेका घटना हुन्। 

फिल्ममा रेनशा महिला निर्देशक हैन, निर्देशक बनेर कथा भनेकी छन्। यो फिल्मको अर्को सकारात्मक पाटो हो। यो फिल्मबाट उनी राम्रो सम्भावना भएकी निर्देशकमा दरिएकी छिन्।

२३ बैशाख, २०८०, ११:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।