एउटा फिल्मसँग जोडिएको वास्तविक ठगीको जालो, ठग्ने उम्किएर अस्ट्रेलियामा, निर्माता बन्न ठगिएका दुईसहित पाँचजना अदालत धाउँदै

काठमाडौँ : फिल्म निर्देशक सुदर्शन थापा र ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवालसहित तीन जनाविरुद्ध ठगीमा मुद्दा दर्ता भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा ले १ करोड ५० लाख रुपैयाँ बिगो कायम गरेर ठगीको मुद्दा दर्ता गरेको हो।
ठगीका अभियुक्त बनेका तेस्रो व्यक्ति फिल्म सम्पादक मिलनकुमार श्रेष्ठ छन्। उनीहरू तीन जना मिलेर ठगी गरेको भन्दै सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए।
उनको जाहेरीका आधारमा प्रहरीले खोज्न थालेपछि निर्देशक थापा फरार भएको अवस्थामा जेठ अन्तिमतिर पक्राउ परे। प्रहरी वृत्त बौद्धको हिरासतमा तीन दिन बसेका उनी हाजिर जमानीमा छुटेका थिए। फिल्म सम्पादक श्रेष्ठ र ओएसआरका प्रमुख अग्रवाल पनि हाजिर जमानीमा छुटेका थिए।
अन्तिममा फरार रहेका थापा समेत पक्राउ परेपछि प्रहरीले अनुसन्धान सक्काएर सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय बुझाएपछि त्यही रायको आधारमा आइतबार ठगीको मुद्दा दायर भएको हो।
एउटा फिल्मसँग जोडिएको रियल ठगीको जालो
यो ठगीको मुद्दा गएर जोडिएको छ फिल्म प्रसाद-२ सँग। यसको पहिलो निर्माताको फिल्मको बहानामा ठगी गर्ने नियतका कारण सुदर्शन बस्नेत मात्रै हैन अन्य पनि सिकार बनेका छन्।
फिल्म प्रसाद सफल भएपछि त्यसका निर्माता सुवास थापाले सिक्वेलको रूपमा प्रसाद-२ को निर्माणको तयारी सुरु गरेका थिए। प्रसादकै कलाकार विपिन कार्की नम्रता श्रेष्ठ लगायतका कलाकार लिएर फिल्म बनाउने पक्कापक्की भइसकेको थियो। तर सुवाससँग फिल्मलाई फ्लोरमा लैजानेसमेत पैसा थिएन।
त्यही बेलामा मेडिकलको उपकरण सम्बन्धी व्यवसाय गर्दै आएका केशव पाण्डे सोही फिल्मका कथाकार सुशील पौडेलमार्फत फिल्म निर्माण टिमसँग जोडिन पुगे। फिल्मको निर्माता बनाउने प्रलोभन देखाएर पाण्डेसँग सुवासले ६५ लाख रुपैयाँ लिएर पत्रकार सम्मेलन समेत गरे।
फिल्म सुटिङका लागि पोखराको गाउँ समेत पुग्यो। तर फिल्मको सुटिङ सुरु हुन सकेन। पाण्डेले आफ्नो भागको लगानीको ६५ लाख दिइसकेका थिए। तर सुवासले त्यो पैसा फिल्म निर्माणको साटो व्यक्तिगत लेनदेन मिलाउन खर्च गरिसकेका थिए।
फ्लोरमा जान ठिक्क परेको टिमले मुख्य निर्मातासँगै पैसा नभएको चाल पाएपछि निर्माण टिम सुटिङ नै नगरी काठमाडौँ फर्कियो। काठमाडौँ आएर सुवासको नियत ठगी गर्ने खुलेपछि पाण्डेले कि फिल्म निर्माणको सबै अधिकार आफूलाई दिन कि आफ्नो पैसा फिर्ता गर्न ताकेता सुरु गरे।
तर फिल्म निर्माणको कामै सुरु नहुँदा नै सुवासले प्रसाद-२ को डिजिटल राइट्स भन्दै ओएसआरसहित विदेशमा प्रदर्शन गर्ने अधिकार समेत विक्री गरेर पहिल्यै पैसा लिएर खर्च गरिसकेको खुलेपछि पाण्डे फिल्म निर्माणबाटै ब्याक भए। उनले आफ्नो पैसा फिर्ता माग्न थाले। सुवासले नदिएपछि उनी बैंकिङ कसुरको मुद्दा लिएर प्रहरी कार्यालयमा गए।
अनि प्रवेश भयो सुदर्शन बस्नेतको
यता निर्माण टिममा रहेका सुवास अनि निर्देशक सुदर्शनसहित मिलेर पाण्डेलाई झुलाइरहे। उता यही बेलामा टिमले निर्माताको रूपमा सुदर्शन बस्नेतलाई फिल्ममा भित्र्याउने काम गरे। एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा फिल्म बनाउने तयारी थालियो।
फिल्म निर्माणको चरणदेखि नै लफडैलफडा भएकाले नम्रता अनि विपिनले अभिनय नगर्ने निर्णय गरे। नम्रता त जोगिइन् तर विपिन जोगिन सकेनन्। फिल्म निर्माण टिमले उनी विरुद्ध निर्माता संघमा उजुरी दिएपछि विपिन फिल्म खेल्न बाध्य भए। नम्रताको ठाउँमा केकी अधिकारी भित्रिइन्। उता निश्चल बस्नेतको ठाउँमा अर्पण थापा भित्रिसकेका थिए।
निर्माता भनिएका सुवासलाई प्रहरीले चेक बाउन्सको बैंकिङ कसुरमा खोज्न सुरु गर्दा फिल्मको सुटिङको काम सकिएर सम्पादनसहितको काम सुरु भइसकेको थियो। उनी भूमिगतै बसेर फिल्म निर्माणको सबै काम सक्काएर रिलिजको तयारीमा लागे।
पहिला निर्माता बनेर झुक्क्याएर ६५ लाख ठगी भइसके पनि न फिल्म न पैसा भएका पाण्डे आफ्नो पैसाको दाबी गर्दै चलचित्र विकास बोर्ड गए। विकास बोर्डमा पोखरामा माछापुच्छ्रे गाउँपालिकाका होमस्टे सञ्चालकसहितको पैसा समेत निर्माण टिमले दिएका थिएनन्। उनीहरू पनि आफ्नो पैसा पाउँ भन्दै बोर्डमा गए। फिल्मका प्राविधिकहरूले समेत पैसा माग्दै निवेदन दिए।
बोर्ड अध्यक्ष भुवन केसी फिल्मको आवरणमा ठगी गर्न सक्रिय सुवास थापाको पक्षमा देखिए। उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले भूमिगतै थिए। उनको तर्फबाट फिल्म वितरक, नयाँ निर्माता लगायतका टिम सक्रिय भएर बोर्डबाट सेन्सर पास गराए।
२०७९ चैत २४ मा रिलिज मिति तोकेर फिल्म युनिट प्रचार प्रसारमा सक्रिय भएपछि पाण्डे न्याय खोज्न पुनरावेदन अदालत पाटन गए। पाटनले अन्तरकालिन आदेश दिएर फिल्मको रिलिज रोकिदियो। फिल्मको रिलिज मिति सर्यो। उनीहरूले वैशाखमा फिल्म रिलिज गरे। फिल्मको व्यवसाय चौपट भयो।
फिल्मको व्यापार नभएसँगै भूमिगतै रहेका सुवास थापा देशै छाडेर भागे। उनी अस्ट्रेलिया पुगे।
अनि सक्रिय भए तेस्रा निर्माता
पहिलो निर्माताका रूपमा ठगिएका पाण्डेले दायर गरेको बैंकिङ कसुरको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भइसकेको थियो। तर फिल्म भव्य चल्ने अनि लगानी उठिहाल्छ भनेर निर्माता हुन राजी भएका सुदर्शन बस्नेतको लगानी डुब्ने पक्का भयो।
यही बिचमा प्रसाद अनि प्रसाद-२ मा समेत भएको लगानी निकाल्न निर्देशक सुदर्शन थापा र ओएसआर डिजिटलका प्रमुख अग्रवाल सक्रिय भए। सुवासले बाहिरका केही देशहरूमा सुदर्शन बस्नेत भित्रिनु अगाडि नै फिल्मको राइट्स दिएर पैसा लिइसकेका थिए।
आधिकारिक रूपमा निर्माता सुदर्शन बस्नेत थिए नै। आफूलाई जानकारी नै नदिई प्रसाद-२ ओएसआर लगायत विभिन्न देशमा रिलिज भएको जानकारी पाएपछि उनले खोजी सुरु गरे। अमेरिकासहितका देश र ओएसआरमा समेत फिल्म राखेर भएको आम्दानीबारे जानकारी नै नदिएको चाल पाएपछि उनले प्रहरी वृत्तमा आपराधिक विश्वासघातको आरोपमा जाहेरी दर्ता गराए।
छायाङ्कनको काम सकिएपछि श्रेष्ठले सम्पादनको जिम्मेवारी पाएको, सम्पादनपछि इनकमिङको लागि डीसीएन कम्पनीमा पठाएर उसैले विभिन्न डिजिटल कम्पनीलाई बिक्री गर्ने सहमति भएको थियो।
तर निर्देशक थापा, ओएसआर डिजिटलका अग्रवाल मिलेर सुवाससँग लिनुपर्ने पैसा उठाउन फिल्म विक्री गरे। यो थाहा पाएपछि चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्र बिक्री वितरण गरेको भन्दै उनले निर्माता डिजिटल वितरक अनि सम्पादक तीनै जनालाई प्रतिवादी बनाएर जाहेरी दिए।
जाहेरीमा निर्माताको जानकारी र अनुमति बिनै ओएसआरले २०७९ फागुन १९ मा फिल्म प्रदर्शन गरेको, अमेरिका, अस्ट्रेलिया, दुबई, कतार लगायतका मुलुकमा आफूखुसी बिक्री वितरण गरेर आपराधिक विश्वासघात गरेको दाबी गरे।
ओएसआरको युट्युबबाट चलचित्रमार्फत ६० लाख, विदेशी मुलुकहरूबाट ९० लाख गरी १ करोड ५० लाख समेत आर्जन गरेर ठगी गरेको भन्दै उनले जाहेरी दर्ता गरेपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ सुरु गर्यो।
अनि आइतबार यी तीनैजनाविरुद्ध विश्वासघात गरेर लाभ लिई मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा (१) अनुसारको कसुर गरेको आरोपमा मुद्दा दर्ता भयो जुन पुष्टि भएमा १ करोड ५० हजार रुपैयाँ बिगो बराबरको जरिवाना, क्षतिपूर्ति र ७ वर्षसम्म कैद हुनसक्छ।
यो ठगीको मुख्य योजनाकार सुवास भने फरार छन्। उता फिल्मको निर्माता बन्न खोज्दा ठगिएका पाण्डेको मुद्दा अदालतमा विचाराधीन छ। अदालत धाउनेमा अर्का निर्माता पनि थपिए सुदर्शन बस्नेत।
असार २, २०८१ आइतबार १९:५१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।