फिल्म प्रसाद २ : बलात्कार यति सस्तो र सजिलो शब्द हो र!

फिल्म  प्रसाद २ : बलात्कार यति सस्तो र सजिलो शब्द हो र!

विभिन्न विवाद र घनचक्करबीच फिल्म 'प्रसाद २' हिजोदेखि सिनेमाघरहरूमा लागेको छ। 

फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने सुदर्शन बस्नेत यसका निर्माता हुन्।सामाजिक कथामा पहिलोपटक निर्देशक थापाले हात हालेका छन्। 

फिल्ममा सबैभन्दा सकारात्मक पाटो एउटा क्रियसन दर्शकको हातसम्म पुग्नु हो। फिल्म निर्माणका क्रममा भएका विवादले सिने क्षेत्रलाई लगानीकर्ताले हेर्ने नजरमा परेको नकारात्मक प्रभावबारे भने मनन आवश्यक छ। 

प्रसादलाई बोकेर बाग्लुङको सुनथान प्रवेश गरेका बाबुराम परियार र नारायणी 'प्रसाद २' सम्म आइपुग्दा सुन्दर बस्तीमा छन्। गाउँसँगै बलात्कारबाट जन्मेको सन्तान प्रसाद, नारायणी, रमेश र बाबुरामका बुवाको भूमिका निर्वाह गर्ने कलाकारहरू परिवर्तन भएका छन्। 

कलाकार परिवर्तन भए पनि कथा 'प्रसाद' फिल्मको अन्त्यबाटै सुरु भएको छ। 

सुन्दरबस्तीमा गणतन्त्र आइसकेको छ, छुवाछुतमुक्त गाउँ घोषणा भइसकेको छ र चुनावी माहोल गर्माएको छ। प्रसाद स्मार्ट फोनमा क्यान्डी क्रस खेल्न सक्ने भएको छ।

बिजुली बत्तीले गाउँ झलमल्ल छ। काजीसा'प बुढा भए पनि तमाखुवाला छाडेर फ्लेवरवाला हुक्काको लतमा लागेका छन्। 

'प्रसाद २' मा परिवर्तन भएको छैन त, सोच। 'प्रसाद' मा चुकेेको दृष्टिकोण यसमा पनि सुधाारिएन। फिल्मको सुरुमा क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेको मान्छेलाई बाबुरामले धर्म हैन, सोच परिवर्तन गर्नुपर्ने कुरा गर्छन्।

फिल्मले देखाउन खोजेको मुख्य कथा पनि व्यवस्था परिवर्तनसँगै सोचमा आएको परिवर्तन हो।

फिल्म के कति सफल/असफल छ। यहाँ त्यसको चिरफार गरिएको छ। 

'प्रसाद'मा श्रीमतीको कोखको बच्चा आफ्नो हैन भन्ने स्विकार्न एक पुरुषलाई परेको सकस देखाइएको छ। बलात्कारजस्तो जघन्य अपराधबारे वास्ता नगरिएको र महिलाको कोख मन्दिर हो, जसले आएर पनि प्रसाद चढाउन पाउँछ भन्नेसम्मको व्याख्या गरिएको भन्दै फिल्मको विरोध भएको थियो।

विरोधका बाबजुद फिल्मले दर्शक भने मज्जासँग बटुलेको थियो। 

'प्रसाद २' मा पनि बलात्कारबाट जन्मेको बच्चाले एक महिलाको मनस्थितिमा पार्ने प्रभाव देखाउन सकेको छैन। एक दृष्य छ, जसमा रमेशले सबै गाउँलेअघि प्रसादको बाउ आफू भएको बताउँछ।

त्यसपछि नारायणीले रुँदै भन्छिन्, 'हिजो सानो जात ठूलो जातको नाउँमा यो समाजले हाम्रो मनसँग बलात्कार गरिरह्यो, आज यसले मेरो तनसँग गरि'रा हो। 

भावनामा बहकिन पाइयो। तर विभिन्न साहित्यमा मेरो मनसँग बलात्कार भयो, मेरो सपनाको बलात्कार भयोजस्ता सस्ता साहित्य नलेखिदिए हुने।

एक महिलाको नाताले। बलात्कार त्यही सस्तो र प्रयोग गर्न सजिलो शब्द नहुनुपर्थ्यो। फिल्ममा पनि बलात्कार शब्दको 'मिसयुज' भएको बुझिन्छ।

छुवाछुत र बलात्कार विल्कुल फरक हो । दुवैलाई एकैजसरी देखाउँदा त्यसले नकारात्मक प्रभाव पार्छ। यदि यो काल्पनिक कथा हुन्थ्यो भने फरक पर्दैनथ्यो, तर यो सामाजिक कथा हो। यसले उठाएका विषयले समाजमा प्रभाव पर्छ नै। 

त्यस्तै कानुनका कुरा पनि फिल्मले उठाएको छ। मुलुकी ऐनको विवाहसम्बन्धी महल १ को दफा ६९ मा शारीरिक सम्पर्कबाट शिशु जन्मे विवाह भएको मानिनेछ भन्ने बुँदा राखेर फिल्ममा देखाइएको छ।

जबर्जस्ती करणीको प्रमाणलाई प्रहरीमा दर्ता नभएको भनेर कन्भिन्स गराइएको छ। तर मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ ले थपेका दुई ओटा बुँदाबारे फिल्मले उल्लेख गरेको छैन। जसमा विवाह हुन सक्ने कानुन उल्लेख भएको दफा ७० को उपदफा १ को खण्ड घ मा २० वर्ष नपुगेको अवस्थामा र अर्को बहुविवाह कायम हुने अवस्था भए विवाह नमानिने भन्ने पनि उल्लेख छ।

नारायणी र प्रसादले १२ वर्षअघि मन्दिरमा विवाह गरेका थिए। फिल्मभरि भित्तामा विवाहको फोटो झुण्ड्याइएको छ। गाउँले सबै यसको साक्षी छन्।

धार्मिक परम्पराअनुसार भएको विवाहलाई सरकारले वैधानिक मान्छ। त्यति मात्रै हैन, विवाहसम्बन्धी कानुनमा सबैभन्दा महत्व दिइएको शब्द हुन्छ, मञ्जुरी।

त्यत्रा गाउँलेअघि घिसार्दै एक महिलालाई लैजाँदा वकिल (न्याय) अमूर्त बनेर उभिएको छ र उल्टै बहुविवाहको मतियार भन्दै गाउँलेलाई जेल चलान गर्ने धम्की दिएको छ। 

यसले अहिले कानुनका ठेकेदारले गरेको न्यायको अपव्याख्या र अपराधीले पाएको सफाइलाई व्यंग्य गरेको मान्ने हो भने ठिक छ। नत्र समाजमा उल्टो प्रभाव छाड्न सक्छ। 

यस्तै बाल अपराधको कुरा पनि फिल्ममा अटाएको छ। बालबालिकासम्बन्धी ऐन २०७५ को सजायसम्बन्धी व्यवस्था १ मा कसूरजन्य कार्य गर्दा बालबालिकाको उमेर १० वर्षभन्दा कम भए निजउपर कुनै प्रकारको मुद्दा नचलाइने र निजलाई कुनै किसिमको सजाय हुने छैन भन्ने बुँदा उल्लेख गरिएको छ। यही बुँदालाई आधार मानेर फिल्ममा कथा भनिएको छ। 

तर यो देखाउने तरिका गलत छ। कानुनले जतिसुकै जघन्य अपराध गरे पनि त्यस्ता अपराधीलाई मार्न पाउने कानुन नेपालमा छैन। 

कानुनविपरीत कार्य गर्न बालबालिकालाई गीताको कथाले प्रेरित गरेको देखाएको छ। 

प्रसादलाई भगवान कृष्णसँग तुलना गरिएको छ। गीतामा लेखिएका कथा सुनाउँदा एउटा नाबालकको दिमागमा परेको मनोवैज्ञानिक असरलाई उल्टै सुपरहिरो जसरी प्रस्तुत गरिँदा यसले उल्टो असर पार्न सक्छ। 

फिल्मको सुरुमा क्रिश्चियन र अन्त्यमा हिन्दु धर्मको आस्थालाई नकारात्मक तरिकाले देखाइएको छ। यसले मानिसको धार्मिक आस्था र स्वस्थ समाजमा उल्टो प्रभाव पार्ने सम्भावना हुन्छ। सामाजिक कथाभन्दा समाजमा पर्ने असरबारे अनुसन्धान हुनुपर्थ्यो। तर फिल्ममा त्यस्तो भएको देखिँदैन। 

फिल्मको पटकथा एकदमै फितलो छ। एक बलात्कारीले गाउँले भेला भएको ठाउँमा कहिले महिलाको सहमति भन्छ त कहिले श्रीमानले बच्चा जन्माउन खेताला पठाएको भन्छ। उसले जे भन्यो गाउँलेले त्यही पत्याइदिन्छन्।

दाइको भूमिका निकै क्रूर तरिकाले लेखिएको छ। अहिलेसम्म नेपाली भाष्यमा बहिनीप्रति एकदमै 'प्रोटेक्टिभ' नेचर दाइको छ। बहिनीलाई कसैले सीधा नजरले हेरेको समेत पचाउन नसक्ने नेपाली समाजमा बहिनीको बलात्कारलाई कमजोरीका रूपमा राजनीतिक हतियार बनाउने दाइ यही फिल्ममा मात्रै सीमित होस्। 

पात्र निर्माणमा उस्तै समस्या छ। नारायणीको चरित्र निर्माण निकै दोधारे छ। यी पात्र कहिले दलितलाई सानो चित्तको भन्छिन्, कहिले पश्चगामी सोच भएर अगाडि नबढेको आरोप लगाउँछिन्। अरूको अधिकारका लागि प्रहरीकहाँ जान उक्साउँछिन्, आफ्नो लागि बोल्दिनन्। कहिले श्रीमानलाई वडाध्यक्ष बन्न प्रोत्साहित गर्छिन् त कहिले सानो कुराले उत्ति नै खेर छाड्न पनि।

१२ वर्षदेखिको श्रीमानको मायालाई बलात्कारीले भनेको एक शब्दमा विश्वास गर्छिन् नारायणी। उनको पात्रले दुई पटक माफी मात्रै मागेको छ। 

बाबुरामको पात्र निकै निरीह छ। ठूलो कुरा गर्छ तर त्यही दोधारे नारायणीका कारण मात्र ऊ बोल्न सक्छ। नारायणीविना यो पात्रको कुनै अस्तित्व छैन। 

रमेश केटीलाई भोग्य साधन मान्ने पात्र हो। यसले केही हदसम्म फिल्मलाई बढाउन मद्दत गरेको छ। खुट्टा घिसार्दै हिँड्छ तर यसले सग्ला र बलियापात्रलाई शारीरिक बलदेखि चालबाजसम्म जित्न सक्छ। 

योबाहेक काजीसापको चरित्र चित्रणमा उस्तै समस्या छ। उनी १२ वर्षसम्म छोरी मरेको जस्तै व्यवहार गर्छ। तर एकैछिनमा अपत्यारिलो पाराले परिवर्तन हुन्छ। काजीको छोरा अजयको भूमिका 'लाउड' छ। हात र खुट्टा यति धेरै चलाएका छन् कि, त्यसले पर्दामा निकै असहज महसुस गराउँछ। 

प्रसादको भूमिका निर्वाह गरेका बाल कलाकारको अभिनय भने राम्रो छ। हजुरवुबा र नातिबीच इमोसनल कनेक्सन देखिन्छ।

जब रगतको नाति हैन भन्ने थाहा पाउँछ हजुरबुबाले, त्यो इमोसनले दर्शकलाई छुन्छ। यो बाहेक कुनै पनि दृष्यमा संवेगको कनेक्सन छैन। 

फिल्मका पात्रहरू निर्माण गर्दा उनीहरूकै सोचलाई भने पश्चगामी तरिकाले प्रस्तुत गरिएको छ। प्रसादको टाउकोमाथि हात राखेर 'कसम खा' भन्नेदेखि भिलेनलाई मारेपछि मात्रै ह्याप्पी इन्डिङ हुन्छ भन्नेसम्मको पुरानो सोच फिल्ममा छ।

प्राविधिक पाटोको कुरा गर्दा, यसमा सम्पादन भने राम्रोसँग भएको छ। तर बितेका कुरा देखाउँदा कतै 'ब्याल्क एण्ड ह्वाइ छ त, कतै कलरफुल। यसले दर्शकमा कन्फ्युज पैदा गराउँछ।

फिल्ममा पहिलो गीतले कथालाई डोहोर्याउँ भने दोस्रोले कनेक्सन टुटाउँछ। बिहेमा कार्टुन क्रुज लगेर नृत्य गराउन जरुरी नै थिएन। 

समग्रमा बाहुनवादी दृष्टिकोणबाट दलितको कथा भनिएको फिल्म हो प्रसाद। पुरुषवादी दृष्टिकोणबाट भनिएको बलात्कृत महिलाको कथा हो प्रसाद। फिल्ममा बाहुनवाद धेरै ठाउँमा झल्किएको छ। क्षत्रीले मात्रै हैन, दलित आफैले पनि छुवाछुत गर्छन् भन्ने देखाइएको छ। उनीहरूको विगतलाई नकेलाइ कहिले सानो चित्त भनिएको छ त, कहिले पश्चगामी सोचका कारण दलित पछि परेको भनी व्याख्या गरिएको छ। 

अझै रमाइलो कुरा त, दलितको कथा भनिएको फिल्ममा बाबुरामको आमा र आमा भएकैले आधा रगत मिसिएको बाबुरामबाहेक अरूको रगतमा दलित मिसिएको छैन। सबै बाहुन र क्षत्रीपात्रले दलितको पीडा देखाइरहेका छन्। 

*हेेडलालाइन बदलिएको

१६ बैशाख, २०८०, १६:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।