विदेशमा पढ्न जान एनओसीमा लागेको रोक खुल्यो तर शैक्षिक संस्था सरकारले छान्ने

विदेशमा पढ्न जान एनओसीमा लागेको रोक खुल्यो तर शैक्षिक संस्था सरकारले छान्ने

काठमाडौं : विद्ध्यार्थीहरू आन्दोलित भएपछि स्नातक अगाडि ब्रिजकोर्स गर्न विदेश जान नपाउने नियमबाट सरकार पछि हटेको छ।

सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ मा कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमामा लागि विदेशमा अध्ययन गर्न जान रोक लगाएको थियो।

सरकारको यो निर्णयलगत्तै अध्ययनका लागि विदेश जान चाहने विद्ध्यार्थीहरू विरोधमा उत्रिएका थिए।

विरोधपछि निर्देशिकाको दफा २८ संशोधन गर्दै कक्षा १२ वा सोसरह उत्तीर्ण गरी विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई निर्देशिका जारी हुनुअघि स्वीकृति प्रदान गरिएका कार्यक्रममा जान बाधा नपर्ने उल्लेख छ।

एनओसी खुला गरे पनि निर्देशिकामा सरकारले सूचीकृत गरेको विश्वविद्यालय, शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रममा अध्ययन गर्न अध्ययन अनुमति पत्र पाउने प्रावधान राखिएको छ।

शैक्षिक परामर्शसम्बन्धी कन्सल्टेन्सीहरूले आफूखुसी विदेशको शैक्षिक संस्थामा प्रक्रिया बढाएर स्विकृति पाएपछि मात्रै मन्त्रालयबाट एनओसी बनाउने गरिँदै आएको थियो।

नयाँ प्रावधानले सरकारी सूचीमा सूचीकृत शैक्षिक संस्थामा मात्रै आवेदन दिन पाउने बाध्यकारी व्यवस्था राखिएको छ।

१३ बैशाख, २०८०, २१:४८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।