मंसिरको चुनावमा पराजित उपेन्द्र यादव उपनिर्वाचनमा ५ हजार बढी मतान्तरले विजयी

मंसिरको चुनावमा पराजित उपेन्द्र यादव उपनिर्वाचनमा ५ हजार बढी मतान्तरले विजयी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन्। 

उनले कुल २८ हजार ४१५ मत पाउँदा निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत ल्याए।

त्यसैगरी एमालेका पुरुषोत्तम पौडेल भने १० हजार २१६ मतसहित तेस्रो स्थानमा रहे। रास्वपाका उम्मेदवार रमेश खरेल भने २ हजार ८२९ भोटसहित चौथो स्थानमा रहे।

गत मंसिरको निर्वाचनमा पराजित भएका यादव पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा उपनिर्वाचनमा भने विजयी भए।

यस क्षेत्रमा जसपा विजयी हुँदा उपनिर्वाचन भएका अन्य दुई क्षेत्रमा भने रास्वपाले बाजी मार्यो। चितवन-२ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ-१ बाट स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन्।

बारा-२ बाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त सांसद पदका लागि उपनिर्वाचन भएको हो।

१३ बैशाख, २०८०, ०७:२१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।