तनहुँको सभामा देउवा र प्रचण्डको वाचा' गोविन्दलाई जिताएर पठाउनुस्, मन्त्री पक्का'

तनहुँको सभामा देउवा र प्रचण्डको वाचा' गोविन्दलाई जिताएर पठाउनुस्, मन्त्री पक्का'

काठमाडौँ : तनहुँ क्षेत्र नम्बर १ का गठबन्धनका उम्मेदवार गोविन्द भट्टराइको पक्षमा मत माग्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैले भट्टराइलाई जिताएर पठाए मन्त्री बनाउने वाचा गरेका छन्।

बुधवार भएको चुनावी सभामा पहिला देउवाले तनहुँ भानुभक्त आचार्यको भूमिसँगै अब राष्ट्रपतिको भूमि समेत बनेको भन्दै तनहुँवासीलाई भट्टराइलाई जिताउन आग्रह गरेका थिए। भट्टराइलाई जिताएर पठाए मन्त्री बनाउने जिम्मा आफ्नो भएको उनको दाबी थियो।

प्रधानमन्त्री प्रचण्डले पनि देउवाको भनाइमा समर्थन गर्दै भट्टराई मन्त्री बन्ने बताए। उनले देउवाको वचन खेर नजाने भन्दै आफूले समेत साथ दिने बताएका थिए।

'अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो,' प्रचण्डले भने' तपाईँहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईँहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ।'

तनहुँ-१ मा भट्टराई काङ्ग्रेस-माओवादी-एकिकृत समाजवादीसहितको गठबन्धनको उम्मेदवार बनेका छन् भने एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट काँग्रेस छाडेका स्वर्णिम वाग्ले उम्मेदवार छन्।

६ बैशाख, २०८०, १८:५८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।