रवि उम्मेदवार बन्न अयोग्य रहेको दाबीसहित चार उजुरी

रवि उम्मेदवार बन्न अयोग्य रहेको दाबीसहित चार उजुरी

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी परेको छ। चितवन-२ बाट उम्मेदवार बनेका उनको उम्मेदवारीको बैधताविरुद्द चार वटा उजुरी परेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार तीन वटा उजुरी उम्मेदवार र उनीहरूका प्रतिनिधिले दर्ता गरे भने एक उजुरी काठमाडौँबाट इमेलबाट परेको हो।

नागरिकताको प्रकरणदेखि नै कानुनी लडाइमा रहेका कानुन व्यवसायी युवराज पौडेल सफलले इमेलमार्फत उनले नेपाली नागरिकता पाएको तीन महिना नकटेको र नागरिकता लिँदा प्रक्रिया नपुगेको दाबी गर्दै उजुरी गरेका हुन्। अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोध अन्तर्गत उजुरी गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार भएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानुनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन्।

उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाउने र सफलको उजुरीको सम्बन्धमा स्पष्टीकरण मार्फत जवाफ मागेर निर्वाचन आयोगमा पठाइने कार्यालयको तयारी छ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद पद रिक्त भएको थियो। मङ्सिर ४ को मतदान अगाडि कात्तिक २९ गते रविको नागरिकताबारे उजुरी परे पनि आयोगले नटुङ्ग्याइ मतदानमा गएको थियो।

निर्वाचनमा उनी निर्वाचित भएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट परेपछि रविको नेपाली नागरिकता निष्क्रिय रहेकाले उनले राजनीतिक हक प्रयोग गर्न नपाउने फैसला गरेको थियो।

पुरानै नागरिकताको आधारमा रवि काठमाडौँ महानगरपालिका-६ बाट मतदातामा दर्ता भएका थिए। उनी विरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्चमा रिट दर्ता भइसकेको छ। मङ्गलबारको पेसी हेर्न नमिल्ने भएपछि पेशी बुधबार सरेको छ।

२१ चैत, २०७९, २१:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।