नेताहरूको कर्तुतको कुण्डली रहेको भन्दै खनालले भने'आवश्यक परे सार्वजनिक गर्छु'

नेताहरूको कर्तुतको कुण्डली रहेको भन्दै खनालले भने'आवश्यक परे सार्वजनिक गर्छु'

तनहुँ : ३० वर्ष प्रहरी सङ्गठनमा काम गरेर अवकाशसँगै राजनीतिमा होमिएका सर्वेन्द्र खनालले आफूसँग धेरै नेताको कर्तुतको कुण्डली रहेको भन्दै आवश्यक परे सार्वजनिक गर्ने दाबी गरेका छन्।

पूर्व आइजिपी खनाल एमालेबाट तनहुँ- १ को उपनिर्वाचनको उम्मेदवार हुन्। अपराध महाशाखाको प्रमुख रहँदा गुन्डा नाइके कुमार घेैँटेको इन्काउन्टर गराएका उनले गुण्डाविरुद्द कडा नीति अपनाउँदा आफुविरुद्द षडयन्त्र भएको दाबी समेत गरे।

दमौलीमा भएको एमाले व्यास नगर कमिटीको बैठकमा बोल्दै उनले  आफू प्रहरी सेवाको नेतृत्वमा रहँदा मुलुकमा गुन्डाराजसँगै थुप्रै विकृति र विसङ्गतिको अन्त्य गर्न सफल भएको दाबी समेत गरेका थिए।

‘मसँग धेरै नेताको कुण्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्न सक्छु,’ उनले भने,' ललितानिवास काण्डको फाइल खोल्न खोज्दा ममाथि षडयन्त्र भयो’ उनले दाबी गरे।

प्रहरी कालमा तनहुँका जनताको हितमा धेरै काम गरेको उनको दाबी थियो। जागिरे जीवनकालमा सधैं जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको, सरकार र द्वन्द्वरत पक्षबीच शान्ति वार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समूहको शान्ति प्रक्रियामा अवतरण र पृथकतावादी आन्दोलनलाई राजनीतिको मूलधारमा ल्याउने काम भएको उनको दाबी थियो।

तनहुँ–१ मा  निर्वाचित भए गर्व गर्न लायक जिल्ला बनाउने भन्दै उनले राष्ट्रियस्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्लाका रूपमा विकास गर्ने दाबी गरे।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ-१ मा उनीसँगै नेपाली काँग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले लगायतका उम्मेदवार छन्। 

२१ चैत, २०७९, १९:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।