तनहुँमा रास्वपालाई गगनको कटाक्ष : गृह मन्त्रालय पाए दाइ कति राम्रो, भाउजू कति राम्रो भन्ने, नपाए गाली गर्ने?

तनहुँमा रास्वपालाई गगनको कटाक्ष : गृह मन्त्रालय पाए दाइ कति राम्रो, भाउजू कति राम्रो भन्ने, नपाए गाली गर्ने?

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी र तनहुँ-१ मा उम्मेदवार बनेका स्वर्णिम वाग्लेमाथि कटाक्ष गर्दै आफू अनुकूल भए दाई-भाउजुको प्रशंसा गर्ने नपाए गाली गर्ने गरेको बताएका छन्।

तनहुँमा गोविन्द भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित कार्यक्रममा सम्बोधन गर्दा उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँगै वाग्लेप्रति केन्द्रित भएका थिए। रास्वपाको चरित्रसँगै वाग्ले गर्ने गरेका दाबीको प्रतिउत्तर दिँदै उनले काँग्रेस बदल्न भागेर नभइ पार्टीभित्रै बसेर सङ्घर्ष गरे मात्र सम्भव रहेको बताए।

नयाँ आएका साथीहरूको सबैभन्दा ठुलो विषय कुन मन्त्रालय पाउने र कुन मन्त्री पाउने भन्नेमा केन्द्रित रहेको भन्दै उनले प्रश्न सोधे' केपी ओली र पुष्पकमल दाहालको गठबन्धन बन्दा किन मत हालेको? सरकारबाट किन बाहिर निस्केको, नयाँ गठबन्धनका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई किन मत हालेको अनि अहिले किन सरकार बाहिर बसेको?'

उनले नेपाली काँग्रेस छाड्दा स्वर्णिम वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवाप्रति गरेको टिप्पणीप्रति कटाक्ष गर्दै उनले भने' उपनिर्वाचनपछि नयाँ पार्टीलाई गृह मन्त्रालय लगायतका मन्त्रालय दियो भने सरकारमा जाँदैन? त्यसपछि त दाइ कति राम्रो, भाउजू कति राम्रो, यता नि राम्रो, उता नि राम्रो भन्छन्। यता पनि ठीक उता पनि ठीक। यही हो नयाँ पार्टी यही हो चाला?'

उनले केहीले म यति वर्ष विदेशमा बसेर यतिको जागिर छाडेर आएको भन्ने गरेको भन्दै कटाक्ष गर्न छाडेनन्। उनले आफू नेपालमा बस्नुको कारण विदेश जान योग्य नभएर नभइ देश बनाउन बसेको बताए।

'म विदेशमा बसेर यतिको जागिर छाडेर आएको भन्नेलाई भन्न मन लाग्छ तिमीले त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएर आएको हो। म त त्यो बेलामा सडकमा लडेर बसेको। छातीमा ढुङ्गा खाएर बसेको,' उनले भने'म जान नसक्ने भएर बसेको हैन। तिमी गयौँ भन्नेमा मेरो प्रश्न पनि हैन। तर म यहाँ बसेकोमा प्रश्न गर्यौ भने तिमी किन गयौँ भन्ने पनि प्रश्न आउँछ।'

काँग्रेस अहिले जुन अवस्थामा छ त्यो ठीक छ भन्ने भनाई नभएको भन्दै उनले काँग्रेस सुधारेर देश पनि सुधार्न सकिने बताए। काँग्रेस सुधार्न काङ्ग्रेसभित्रै बसेर सङ्घर्ष गर्नुपर्ने र सङ्घर्ष गर्दा मैले के पाउँछु भनेर हेर्न नहुने उनको तर्क थियो।                                                                                   

२० चैत, २०७९, १७:५५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।