उपनिर्वाचनको रन्को : चितवनमा रविलाई स्थानीय उम्मेदवारको दबाब, बारामा उपेन्द्रलाई कुशवाहको चुनौती, तनहुँमा दुई टुरिस्ट उम्मेदवारको परीक्षण

उपनिर्वाचनको रन्को : चितवनमा रविलाई स्थानीय उम्मेदवारको दबाब, बारामा उपेन्द्रलाई कुशवाहको चुनौती, तनहुँमा दुई टुरिस्ट उम्मेदवारको परीक्षण

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनबाट संसदमा जानबाट रोक्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरे पनि ब्याक भयो।

वैशाख १० मा मा हुने उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गर्दा बहाना बनायो सत्ता गठबन्धन। आफूहरू पनि सरकारमा रहेको र सरकारमा प्रमुख दलहरूले समेत उम्मेदवार नदिने भएपछि यादवलाई नै सघाउने निर्णयमा पार्टी पुगेको लोसपाका नेताहरू दाबी गर्छन्।

बारा-२ मा नेपाल काँग्रेसले यादवलाई सघाउने औपचारिक निर्णय गरिसकेको छ। तर माओवादी केन्द्र लगायतका सरकारमा रहेका अन्य दलहरूले न उम्मेदवार घोषणा गरेका छन् न त कसलाई सघाउने भन्ने निर्णय नै गरेका छन्।

मङ्सिर ४ को निर्वाचनमा सो क्षेत्र सात दलीय गठबन्धनबाट माओवादीका शिवचन्द्र कुशवाह उम्मेदवार बनेका थिए। उनी जसपाका रामसहायप्रसाद यादवसँग पराजित भए।

जसपाका यादवले १३ हजार ८ सय २२ मत ल्याएर जित्दा कुशवाहले १३ हजार चार सय ६८ मत पाएका थिए। माओवादीको राम्रै मत देखिए पनि अहिले बारा-२ बारे पार्टी नेतृत्व मौन छ।

यो बीचमा कुशवाह पनि जनमत पार्टी प्रवेश गरिसकेका छन्। उनी जनमतबाट सोही क्षेत्रमा उम्मेदवार बन्दैछन्। उनलाई जिताउन जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मोर्चा कसी सकेका छन्।

उनले आइतबारै चुनाव लक्षित कार्यक्रम सुरु गरेर निर्वाचनमा हारेका यादव उम्मेदवार बन्नु जनमतको अपमान हुने दाबी गरिसकेका छन्। उनले बारा– २ का जनताले बाहिरका मान्छेलाई नजिताउने दाबी गर्दै यहाँको मान्छेले यहीको उम्मेदवार खोजेको दाबी गरेका थिए।

राष्ट्रिय सुशासन पार्टीबाट काठमाडौँ-१ मा उम्मेदवार बनेर पराजित भएका रमेश खरेल निर्वाचनको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर बारा-२ मा उम्मेदवार बनेका छन्। बारा-२ का मतदातासँगको उनको सम्बन्ध भनेको प्रहरी सङ्गठनमा पोस्टिङ पाउँदा सो क्षेत्रमा बसेको हो। प्रहरी सङ्गठनमा काम गर्दाको आक्रामक छविलाई उनी निर्वाचनमा क्यास गर्न सक्ने विश्वासमा देखिन्छन्।

तर एकाएक बारामा उनलाई उम्मेदवार बनाउँदा रास्वपाभित्रै असन्तुष्टि देखिन्छ। उनको उम्मेदवारी घोषणा अगाडि नै रास्वपाले सो क्षेत्रको निर्वाचनको जिम्मा दिएको केन्द्रीय सदस्य गणेश कार्कीले संयोजक पदबाट राजीनामा दिए।

अर्को प्रमुख दल एमालेले चितवन-२ र तनहुँ-१ बारे निर्णय गरे पनि बारा-२ मा अन्य कुनै उम्मेदवारलाई समर्थन गर्ने या आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको छैन।

तीनै क्षेत्रमा माओवादी-एकीकृत समाजवादी मौन

माओवादी केन्द्र र एकीकृत समाजवादीले बारा-२ बारे मात्रै हैन चितवन-२ र तनहुँ-१ बारे समेत केही निर्णय गरेको छैन। सोमबार तीनै क्षेत्रमा उम्मेदवारी दर्ता हुँदै छ।

अहिले तीन क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस, एमाले अनि राष्ट्रिय स्वतन्त्र पार्टी आक्रामक तयारीमा देखिन्छन्। चितवन २ मा काँग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तनहुँ १ मा गोविन्द भट्टराईले टिकट पाएका छन्। 

एमालेले चितवनमा स्थानीय युवा नेता रामप्रसाद न्यौपानेलाई टिकट दिँदै तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा स्वर्णिम वाग्ले अनि चितवनमा रवि लामिछाने उम्मेदवार बन्दैछन्।

तनहुँमा के गर्छन् गोविन्दराज ?

तनहुँ-१ मा रास्वपाले हालै काँग्रेस छाडेर आएका अर्थविद् स्वर्णिम वाग्लेलाई टिकट दिए। शनिबार आयोजित कार्यक्रममा रविले उपनिर्वाचनमा एकको बदला तीन सिट ल्याउने दाबी गर्दै आफूलाई प्रधानमन्त्री, स्वर्णिमलाई अर्थमन्त्री अनि रमेश खरेललाई गृहमन्त्रीको रूपमा प्रोजेक्सन त गरे तर उनकै लागि पनि यो पटक त्यति सहज भने देखिँदैन।

स्वर्णिमका लागि काँग्रेसको पकड रहेको तनहुँ-१ मा निर्वाचन जित्न त्यति सहज भने देखिँदैन। काँग्रेसले सो क्षेत्रमा सधैं बागी उम्मेदवार बन्ने गरेका गोविन्दराज जोशीमाथिको कारबाही फिर्ता लियो।

तर उनले निर्वाचनमा प्रभाव पार्ने खेल भन्दै अस्वीकार गरेका छन्। स्वर्णिमले जोशीको साथ पाए मत बढाउन भने सहज हुनसक्छ। जोशीसँग व्यक्तिगत नै तीन हजार हाराहारी मत रहेको मानिन्छ।

चिरञ्जीवी कुमार वाग्लेको समर्थनले पनि उनलाई केही सहज हुनसक्छ। तर अनियमितताको कट्टर विरोधी छवि बनाएका स्वर्णिमका लागि सार्वजनिक मञ्चमा यी दुवै नेता बोक्न त्यति सहज भने छैन।

वाग्ले अदालतबाट भ्रष्ट प्रमाणित भएर राजनीतिक यात्रा समाप्त भएका बदनाम पात्र हुन् भने जोशी सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका बदनाम पात्र।

एमालेका उम्मेदवार खनाल मङ्सिर ४ मा काठमाडौँ ६ मा पराजित उम्मेदवार हुन्। उनी सो क्षेत्रमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए। तनहुँसँगको उनको सम्बन्ध पुर्खाको जन्मस्थान मात्र देखिन्छ। त्यसमा सो क्षेत्र एमालेको कमजोर क्षेत्रकै रूपमा परिचित छ।

गत निर्वाचनमा माओवादीसहितको साथले चुनाव जितेका किसन श्रेष्ठ एकीकृत समाजवादीमा छन्। तर किसन एमालेमा रहँदा खनालको विशेष दोस्ती भएकाले उनले सार्वजनिक रूपमा नसघाए पनि भित्री रूपमा सघाउने सम्भावना नकार्न भने सकिन्न।

चितवनमा स्थानीय उम्मेदवार हाबी

माओवादीले यी दुवै क्षेत्रमा न गठबन्धनमा रहेको काँग्रेस या रास्वपालाई सघाउने निर्णय गरेको छ न त उम्मेदवारी दिने नै तयारी गरेको छ। मङ्सिर ४ को निर्वाचनमा यी दुवै क्षेत्रमा माओवादीले काँग्रेसका उम्मेदवारलाई सघाएको थियो। तनहुँ-१ बाट रामचन्द्र पौडेलले जिते पनि। तर चितवन-२ मा उमेश श्रेष्ठ पराजित भए।

गत निर्वाचनको माहौल हेरेर काँग्रेस अनि एमाले दुवैले स्थानीय मतदातासँग भिजेका स्थानीय युवा उम्मेदवारलाई टिकट दिए यसपालि। मङ्सिर ४ को निर्वाचनमा रास्वपाका सभापति रविले चितवनको भरतपुर क्षेत्रको सबैभन्दा धेरै मत पाएका थिए।

काँग्रेसले जिल्ला सभापति भइसकेका र भरतपुर बजार क्षेत्रमा पकड भएका जितनारायणलाई टिकट दियो यसपालि। यति मात्रै हैन। काँग्रेसले जितनारायणलाई सघाउने सर्तमा कारबाहीमा परेका विकास कोइराला लगायतका नेतामाथिको कारबाही फिर्ता लिइसकेको छ।

नागरिकता अनि राहदानी दुरुपयोग मुद्दासँगै 'बुढा पुस्ताको बिदाइ' भने पनि प्रधानमन्त्री अनि राष्ट्रपतिमा रास्वपाले बुढा पुस्तालाई नै समर्थन गर्दा उसको साख केही मात्रामा खस्केकै छ।

सर्वोच्चको फैसलापछि उनको नागरिकता ब्यूँतियो। राहदानी दुरुपयोगको मुद्दा प्रशासनिक रूपमा सुल्टाउन सफल भए। तर राहदानी दुरुपयोगमा मुद्दा नचल्ने महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट पुगेको छ। रिट दर्ता भएर बहस अगाडि बढे निर्वाचनमा प्रभाव पर्न सक्छ।

उनी अमेरिकी नागरिकको हैसियतमा नेपाल आएर नेपाली नागरिक हुँ भनेर नेपाली राहदानी बनाएको आफैंले स्वीकार गरिसकेका छन्। प्रमाणले पनि यही देखाउँछ। प्रयोग नगरेकाले दुरुपयोग भन्न मिलेन भन्ने अनुसन्धान गर्ने प्रहरी अनि सदर गर्ने सरकारी वकिल र महान्यायाधिवक्ता तर्कमा सर्वोच्च सहमत नभइ दुरुपयोग ठहर भए उनको संसदीय राजनीतिक यात्रामै पूर्ण विराम लाग्नेछ। तर यो चरणसम्म पुग्न मुद्दा सर्वोच्च अदालतसम्म भने पुग्नुपर्छ।

काँग्रेसमा उम्मेदवार चयनमै संस्थापन र संस्थापन इतरको विवादले उमेश श्रेष्ठले पार्टी पङ्क्तिकै सहयोग पाउन सकेनन्। माओवादीले समर्थन गरे पनि चितवन-२ का नेता तथा कार्यकर्ता कोही प्रचण्डलाई जिताउन गोरखा गए भने कोही क्षेत्र नम्बर ३ का माओवादी उम्मेदवारको प्रचारमा सहभागी भएका थिए।

उता लामो समय माधव नेपाल समूहमा बसेर निर्वाचन अगाडि मात्र एमालेमा फर्किएका कृष्णभक्त पोखरेलले पनि एमाले मतदाताको मत पाउन सकेनन् र तेस्रो भए।

चितवन-२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवार एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मङ्सिर ४ मा चितवन- ३ बाट उम्मेदवार बनेका थिए। पछि पार्टीले काँग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्दै उनको उम्मेदवारी फिर्ता लिएको थियो।

१९ चैत, २०७९, २१:१४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।