उप-निर्वाचनको मनोनयनमा २५ जना भन्दा बढी लगे कारबाही, निर्वाचन आयोगको १० बुँदे निर्देशन

उप-निर्वाचनको मनोनयनमा २५ जना भन्दा बढी लगे कारबाही, निर्वाचन आयोगको १० बुँदे निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले उप निर्वाचनको मनोनयनको दिन उम्मेदवारहरूले पालना गर्नुपर्ने १० बुँदे निर्देशन सार्वजनिक गरेको छ।

भोलि सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्न सक्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आयोगले जारी गरेको निर्देशनमा उम्मेदवारी मनोनयन गर्न जाँदा उम्मेदवार, समर्थक प्रस्तावकसहित २५ जनाभन्दा बढी लैजान नपाउने, बाजा,, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिन्ह र झन्डा सहित जान नहुने, मनोनयनको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने उल्लेख गरेको छ।

यसैगरी मनोनयन गर्न जाँदा र मनोनयन स्थलमा उम्मेदवारको पक्षमा नारा/जुलुस, भाषण र प्रतिस्पर्धी लक्षित गालीगलौज र टीकाटिप्पणी गर्न नपाउने, मनोनयनको समयमा सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति प्रयोग गर्न नहुने समेत निर्देशनमा उल्लेख छ।

नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले उम्मेदवारको मनोनयनमा सहभागी हुन नहुने, मनोनयनका समयमा बालबालिकाको प्रयोग गर्न नहुने, संवैधानिक निकाय तथा सोका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारलाई आफ्नो  सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,. हेलिकप्टर प्रयोग गरी राजनीतिक दल वा उम्मेदवारले उम्मेदवारी मनोनयन गर्न जान नहुने समेत उल्लेख छ।

निर्देशनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले उम्मेदवारी मनोनयनको क्रममा राजनीतिक दल वा उम्मेदवारसँग सहभागी हुन नहुने उल्लेख छ।

सोमबार चितवन-२, तनहुँ-१ र बारा-२ को उप निर्वाचनका लागि मनोनयन हुँदैछ। चितवनबाट निर्वाचित रवि लामिछानेको नागरिकता निष्क्रिय ठहरिएपछि उनको सांसद पद खारेज भएको थियो। तनहुँ र बारामा जितेका सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि ती स्थान समेत रिक्त भएको थियो।

१९ चैत, २०७९, १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।