बाँकी मन्त्री टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

बाँकी मन्त्री टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाएका थिए।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन।

यस्तै कांग्रेसले आज बारा-२ मा उम्मेदवारको बारेमा टुंगो लगाउने जनाइएको छ। कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाइसकेको छ।

बारा-२ मा सत्ता गठबन्धनबाट उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ।

१९ चैत, २०७९, ०७:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।