सभापति नै रास्वपामा गएपछि सुशासन पार्टीको अस्तित्व के हो? रमेश खरेलले नै भन्न सकेनन्

सभापति नै रास्वपामा गएपछि सुशासन पार्टीको अस्तित्व के हो? रमेश खरेलले नै भन्न सकेनन्
पार्टी कार्यालयमा बाराको उम्मेदवारको टिकट लिँदै खरेल। तस्बिर : रास्वपा

काठमाडौँ : स्वर्णिम वाग्ले नेपाली काँग्रेसमा आबद्ध रहे पनि उनी कुनै नेतृत्व तहमा थिएनन्। उनले सहजै काँग्रेसको सदस्यता त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिए। त्यसैले उनले शनिबारको पत्रकार सम्मेलनमा काँग्रेसमा फर्कनेबारे प्रश्न आएपछि हाकाहाकी भए' मैले राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यता लिइसके। पछाडि फर्कने बानी छैन।

त्यही मञ्चमा थिए नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल। उनी नागरिक सुशासन पार्टीका अध्यक्ष समेत हुन्। स्थानीय तहमा पार्टीका उम्मेदवारले जितेका छन्। उनी भने मङ्सिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट पराजित भए।

बारा-२ मा रास्वपाबाट उम्मेदवार बन्ने टिकट पाएपछि पत्रकार सम्मेलनमा उनीमाथि प्रश्न उठ्यो' पार्टी एकीकरण भएको हो कि के हो? अब सुशासन पार्टीको हैसियत के हो?'

तर उनले प्रस्ट जवाफ दिन सकेनन्। यसबारे छलफल हुँदैछ भन्ने गोलमटोल जवाफ मात्रै दिए। उनले पार्टीमा मेरिट मिलाउने कुरा हो भन्दै प्रश्नको जवाफ छलिरहे। उनले न सुशासन पार्टी जीवित छ भन्न सके न त रास्वपासँग एकीकरण भइसकेको नै बताए।

उनले न आफ्नो हैसियत सुशासन पार्टीको अध्यक्ष नै रहेको भन्न सके न त रास्वपाको साधारण सदस्य बनेको नै खुलाए। उनले बारम्बार भनिरहे'यसबारे छलफल हुँदैछ।'

मंसिर-४ को संसदीय निर्वाचनमा रास्वपाले पार्टी सदस्य र पार्टीका शुभेच्छुक दुवैलाई उम्मेदवार बनाउन खुला गरेको थियो। त्यही अनुसार विभिन्न उम्मेदवार पार्टीमा प्रवेश नगरे पनि घण्टी चुनाव चिन्ह लिएर उम्मेदवार बनेका थिए।

काठमाडौँ-१ मा पुकार बम, ललितपुरमा तोसिमा कार्की अनि काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ स्वतन्त्र घण्टी चिन्ह बाहक उम्मेदवार बनेका थिए।

श्रेष्ठ र कार्कीले चुनाव जितेपछि उनीहरू पार्टी सदस्य जस्तै सक्रिय भए। निर्वाचन कानुन अनुसार पार्टीहरूले जे भने पनि जुन दलको चिन्ह लिएर निर्वाचित भएको हो त्यही दलको ह्विप लाग्छ नै। निर्वाचित नभए पनि पुकार बम पनि अहिले रास्वपामै सक्रिय छन्।

सर्वोच्च अदालतले रविको नागरिकता निष्क्रिय बनाउने फैसला गरेपछि त्यसको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा उनी पनि सहभागी थिए।

तर खरेलको हकमा भने उनी सुशासन पार्टीको सभापतिकै हैसियतमा रास्वपा बाट उम्मेदवार बनेको हो या उनी रास्वपामै प्रवेश गरेको प्रस्ट खुलेको छैन। न खरेलले नै खुलाउन सके।

बारामा के को आधारमा उम्मेदवार बनेको अनि जित्ने आधार के हो भन्ने प्रश्नमा पनि उनको उस्तै गोलमटोल जवाफ थियो। उनले नेपाली नागरिकको हैसियतमा नेपालमा जहाँ पनि उम्मेदवार बन्न सकिने अनि आफूले कुनै क्षेत्र विशेषका लागि मात्रै नभइ समग्र नेपाल आमाका लागि काम गरेको जवाफ दिए।

१८ चैत, २०७९, १९:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।