जितनारायणको दाबी : चितवनवासीले नाकको डाँडी भाँच्नुपर्ने पात्र चिनिसके

जितनारायणको दाबी : चितवनवासीले नाकको डाँडी भाँच्नुपर्ने पात्र चिनिसके

चितवन : नेपाली काँग्रेसबाट चितवन-२ को उम्मेदवार तय भएसँगै जितनारायण श्रेष्ठले रवि लामिछानेविरुद्ध पहिलो दिनै आक्रामक अभिव्यक्ति दिएका छन्।

पार्टीको निर्णय सार्वजनिक भए लगत्तै पत्रकारमाझ प्रतिक्रिया दिँदै उनले रविका गतिविधिका कारण मतदाता उनीबारे जानकार भएकाले मङ्सिर ४ मा चितवन २ मा आएको हावाहुरी वैशाख १० मा नआउने दाबी गरे।

'मिडियामा छँदा टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्नुपर्ने भनेर चर्चामा आए पनि नाकको डाँडी भाँच्नुपर्ने उनी नै रहेछन् भन्ने चितवनले बुझिसक्यो' उनले भने।

प्रारम्भमा रविको नाम नलिई उनले मङ्सिरमा जसले हावाहुरी ल्याउने अहिले उही ब्यक्ती आफ्नो अस्तित्व के हो भनेर खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको भन्दै उनले भने' कारण पनि खुलाउनु पर्दैन, पार्टीमा निर्णय पनि गर्नु पर्दैन। कहिले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ।'

चितवन २ बाट निर्वाचित जनप्रतिनिधिले के काम गरे भन्ने मतदाताले बुझिसकेको भन्दै उनले मतदाता निरास भएको बेलामा रविले गरेको फन्डामा चितवनवासी झुक्किएको दाबी गरे।

रविकै गतिविधिले नाकको डाँडी भाँच्नुपर्ने पात्र को रहेछ भन्ने चितवनवासीले बुझिसकेको भन्दै उनले सरकारमा रहेका दलहरूले समेत आफूलाई समर्थन गर्ने उनले दाबी गरे।

१६ चैत, २०७९, १९:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।