कपिलवस्तुको सगरहवा : जहाँ ७७ हजार शाक्यहरूको सामूहिक वध भयो

कपिलवस्तुको सगरहवा : जहाँ ७७ हजार शाक्यहरूको सामूहिक वध भयो

बुटवल : ७७ हजार शाक्यको सामूहिक वध भएको स्थलका रुपमा मानिएको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा रहेको सगरहवा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको पर्खाइमा रहेको छ।

 

शाक्यमुनी बुद्धको जीवनको उत्तरार्द्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरूको वध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ।

तर जगदीशपुर ताल नजिकै रहेको यो ऐतिहासिक स्थल अहिलेसम्म पनि ओझेलमा छ। 

संरक्षण विहीन अवस्थामा रहेको यस स्थानलाई नजिकै रहेको मानवनिर्मित जगदीशपुर तालसँग जोड्दै पर्यटक आकर्षित गर्नुपर्ने आवाज बेला-बेलामा उठिरहे पनि परिणाम मुखी कार्य भने हुन सकिरहेको छैन। 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले कोषले सो क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यहरुलाई अगाडि सारेको बताए।

उनले गत हप्ता मात्रै पुरातात्त्विक महत्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने गरि मूर्तिकला कार्यशाला सम्पन्न गरेको उल्लेख गरे।

तर लुम्बिनी विकास कोषले केही औपचारिक कार्यक्रमहरू मात्र गरेर सगरहवाको विकास हुन नसक्ने स्थानीय अर्जुन थारू बताउँछन्।

सगरहवामा सन १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुरहरले उत्खनन् गरेका थिए।

उक्त उत्खनन् र अन्वेषणमा ठूलो र वर्गाकार स्तूपको चारै दिशामा स-साना स्तूपा र १७ वटा ठूला स्तूपा एवं मुख्य स्तूपाभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी लगायतका सामग्री भेटिएको थियो।

सगरहवामा ३ हजार वर्ष अघिका पुरातात्त्विक वस्तुहरू रहेको बताइन्छ। जसको संरक्षण गर्ने गरि विकास कोष र पुरातत्व विभागले काम गर्नुपर्ने स्थानीयबासीहरू बताउँछन्।

२ चैत, २०७९, ०९:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।