तिलोत्तमाको १३ किलोमिटर सडकमा मानव साङ्लो

तिलोत्तमाको १३ किलोमिटर सडकमा मानव साङ्लो

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबार मानव साङ्लो निकालिएको छ।

नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियानको १००औं श्रृंखलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मानव साङ्लो निकालिएको हो।

योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरूले एक—आपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए।

मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए।

सरसफाई तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने विषयमा नगरबासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ।

सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।

मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन समेत गरिएको छ। अभियान १००औं श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो।

स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ। स्मारकको नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रूपमा उद्घाटन गरे।

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो। चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरूको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ।

३० फागुन, २०७९, १६:४१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।