सन्दीपले ५ विकेट लिएपछि ९५ रनमै अल आउट भयो पीएनजी, नेपाललाई सामान्य लक्ष्य

सन्दीपले ५ विकेट लिएपछि ९५ रनमै अल आउट भयो पीएनजी, नेपाललाई सामान्य लक्ष्य

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा पीएनजीविरुद्ध जितका लागि ९६ रनको सामान्य लक्ष्य पाएको छ।

सिरिजको तेस्रो खेलमा टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको नेपालले सानदार खेल देखायो।

नेपाली स्पिनर हाबी भएको खेलमा सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएपछि पीएनजी ३२ ओभरमा मात्र ९५ रनमा अल आउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा मात्र २५ रन दिएर ५ विकेट लिएका थिए।

सन्दीपले ओडीआई करिअरमा एकै खेलमा पाँच विकेट लिएको यो तेस्रो पटक हो। सन्दीप अघि करण केसीले मात्र नेपालका लागि तीन पटक पाँच विकेट लिएको रेकर्ड छ।

त्यसैगरी ललित राजवंशीले ७ ओभरमा १३ रन खर्चिएर २ विकेट झारे भने कुशल मल्लले पनि ३ ओभरमा मात्र ६ रन दिएर २ विकेट लिएका थिए। सोमपाल कामीले पनि एक विकेट झारे।

नेपालको आक्रामक बलिङको अगाडि पीएनजीका लागि कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।

कप्तान आसाद भालाले सर्वाधिक २० रन जोड्दा पीएनजीका सात ब्याटरले दोहोरो रन संख्या छुन सकेनन्।

आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।

अब नेपालको लक्ष्य यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

लिग-२ को अंक तालिकामा ३४ खेलबाट १७ जितपछि ३६ अंकसहित नेपाल चौथो स्थानमा उक्लिएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका पाँचौ स्थानमा झरेको छ।

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अबका दुवै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

२९ फागुन, २०७९, ११:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।