पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टिममा करणको कमब्याक

पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टिममा करणको कमब्याक

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा पीएनजीविरुद्ध टस जितेको छ।

सिरिजको तेस्रो खेलमा टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

आजको खेलमा करण केसी पुन: टिममा फर्किएका छन्। हिजो यूएईसँगको खेलमा आराम दिइएका उनलाई टिममा भित्राएर गुलशन झालाई आज बेन्चमा राखिएको छ।

आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।

अब नेपालको लक्ष्य यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

लिग-२ को अंक तालिकामा ३४ खेलबाट १७ जितपछि ३६ अंकसहित नेपाल चौथो स्थानमा उक्लिएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका पाँचौ स्थानमा झरेको छ।

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अबका दुवै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

२९ फागुन, २०७९, ०८:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।