नेपालको एकदिवसीय मान्यता अर्को चार वर्षका लागि जोगियो, यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित

नेपालको एकदिवसीय मान्यता अर्को चार वर्षका लागि जोगियो, यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित

काठमाडौं : यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालको एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि कायमै भएको छ।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको खेलमा यूएईविरुद्ध नेपालले उत्कृष्ठ बलिङ प्रदर्शन गर्दे आफ्नो ओडीआई इतिहासमा रनको आधारमा सर्वाधिक ठूलो जित निकालेको हो।

यो जितसँगै नेपाल ३४ खलबाट ३६ अंक जोड्दै लिग-२ को चौथो स्थानमा उक्लिएको छ। यस लिगमा टप फाइभमा रहने टिमले सोझै ओडीआई मान्यता पाउने हुनाले नेपालको मान्यता सजिलै जोगिएको हो।

नेपाललाई यसअघि सन् २०१८ पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ओडीआई मान्यता दिएको थियो।

खेलमा नेपालको सानदार बलिङको अगाडि २४९ रनको लक्ष्य पच्छ्याएको यूएई २३ औं ओभरमा मात्र ७१ रनमै अलआउट भयो।

नेपालको धारिलो बलिङसामु छैठौं ओभरमा नै मात्र ८ रज जोड्ने क्रममा यूएईको चार विकेट खसिसकेको थियो।

यूएईका लागि अफसज खानले २९ रनबाहेक अन्य कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्। उसका ८ ब्याटर दोहोरो रन नै नबनाउँदै आउट भएका थिए।

नेपालका लागि बलिङतर्फ ललित राजवंशीले ७.५ ओभरमा मात्र २० रन दिएर सर्वाधिक ५ विकेट लिएका थिए।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालको कुनै बेला मात्र २२ रनमा तीन विकेट झरेको थियो।

सुरुवात खराब गरेको नेपालले टिमको स्कोर मात्र १२ रन हुँदा दुवै ओपनर गुमायो।

दोस्रो ओभरमै आसिफ शेख डकआउट भए भने पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ८ रनमा आउट भएका थिए।

यसपछि आठौं ओभरमा कुशल मल्ल पनि मात्र ९ रनमा पेभिलियन फर्किँदा नेपालले मात्र २२ रनमा तीन विकेट खेर फालेको थियो।

तर खराब सुरुवात गरेको नेपालले ब्याटिङमा उत्कृष्ट कमब्याक गरेको थियो। नेपालको इनिङलाई मध्यक्रमका ब्याटरले सम्हालेपछि नेपालले इनिङको अन्तिम चार बल खेल्नु अगाडि अल आउट हुँदै २४८ रन बनाएको थियो।

धरापमा परेको नेपालको इनिङलाई जोगाउन  कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेलेका थिए।

८३ बलमा सात चौकाको मद्दतले अर्धशतक बनाएका उनले ११२ बलमा कुल ७७ रनको योगदान दिए। उनको ओडीई करियरको यो आठौं अर्धशतक हो।

 २२/३ को अवस्थामा रहेको नेपालको इनिङलाई चौथो विकेटका रुपमा भीम सार्कीसँग मिलेर रोहितले ५४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।

भीमले ३७ बलमा ४ चौकासहित २९ रनको योगदान दिएका थिए। त्यसैगरी आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा गुल्सन झाले ३२ बलमा ३७ रन बनाए।

आक्रमक ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले भने मात्र १९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रनको योगदान दिए।

लिग-२ मा यूएईविरुद्ध नेपालको यो लगातानर दोस्रो जित हो। गत हप्ता यूएईमै भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो।

नेपालको ओडीआई इतिहासमा रनको आधारमा यो हालसम्म कै सर्वाधिक ठूलो जित हो। यसअघि नेपालले सन् २०२१ मा ओडीआईमा पीएनजीविरुद्ध १५१ रन जितको रेकर्ड बनाएको थियो।

नेपालले लिग-२ मा खेलेका पछिल्ला १० खेलमा ९ खेल जित्दै अर्को रेकर्ड पनि बनाएको छ।

यो जितसँगै लिग-२ को अंक तालिकामा ३४ खेलबाट १७ जितपछि ३६ अंकसहित नेपाल चौथो स्थानमा उक्लिएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका पाँचौ स्थानमा झरेको छ।

अब नेपालको लक्ष्य यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अबका दुवै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

२८ फागुन, २०७९, १५:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।