नेपालको उत्कृष्ट कमब्याक, २२/३ को अवस्थाबाट सम्हालिंदै यूएईलाई दियो २४९ रनको बलियो लक्ष्य

नेपालको उत्कृष्ट कमब्याक, २२/३ को अवस्थाबाट सम्हालिंदै यूएईलाई दियो २४९ रनको बलियो लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको यूएईविरुद्धको खेलमा नेपालले उत्कृष्ट कमब्याक गरेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले कुनैबेला मात्र २२ रनमा तीन विकेट खेर फालेको थियो।

तर खराब सुरुवात गरेको नेपालको इनिङलाई मध्यक्रमका ब्याटरले सम्हाले। यसपछि नेपालले अन्तिम चार बल खेल्नु अगाडि अल आउट हुँदै २४८ रन बनायो।

जितका लागि अब यूएईले २४९ रनको बनाउनु पर्नेछ।

धरापमा परेको नेपालको इनिङलाई जोगाउन  कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले।

८३ बलमा सात चौकाको मद्दतले अर्धशतक बनाएका उनले ११२ बलमा कुल ७७ रनको योगदान दिए। उनको ओडीई करियरको यो आठौं अर्धशतक हो।

 २२/३ को अवस्थामा रहेको नेपालको इनिङलाई चौथो विकेटका रुपमा भीम सार्कीसँग मिलेर रोहितले ५४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।

भीमले ३७ बलमा ४ चौकासहित २९ रनको योगदान दिएका थिए। त्यसैगरी आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा गुल्सन झाले ३२ बलमा ३७ रन बनाए।

आक्रमक ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले भने मात्र १९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३४ रनको योगदान दिए।

सुरुवात खराब गरेको नेपालले टिमको स्कोर मात्र १२ रन हुँदा दुवै ओपनर गुमाएको थियो।

दोस्रो ओभरमै आसिफ शेख डकआउट भए भने पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ८ रनमा आउट भएका थिए।

यसपछि आठौं ओभरमा कुशल मल्ल पनि मात्र ९ रनमा पेभिलियन फर्किँदा नेपालले मात्र २२ रनमा तीन विकेट खेर फालेको थियो।

यस्तो छ समीकरण

यो खेल जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहने छ।

लिग-२ कै गत हप्ता यूएईमै भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो।  

नेपालले लिग-२ मा खेलेका पछिल्ला ९ खेलमा एक खेल मात्र हारेको छ भने यसको ठीक विपरीत यूएईले भने पछिल्ला १० एकदिवसीय खेलमा मात्र २ खेल जितेको रेकर्ड छ। 

यस अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो भने यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो।

लिग-२ को अंक तालिकामा पाचौं स्थानमा रहेको नेपालको ३३ खेलबाट १६ जितपछि ३४ अंक छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका चौथो स्थानमा छ।

यदि आजको खेलमा यूएईलाई हराएमा नेपालको ३६ अंक हुनेछ भने यसपछिका सिरिजका बाँकी दुवै खेल हारे पनि नेपाल कम्तीमा लिगको टप फाइभ भित्र पर्नेछ।

यस लिगमा टप फाइभमा रहने टिमको सोझै ओडीआई मान्यता कायम हुनेछ। 

यसपछि सोझै विश्वकप छनोट खेल्न भने नेपालले आजको खेलसँगै सिरिजका अन्य दुई खेल पनि जित्नुपर्ने हुन्छ। 

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अब तीनै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

२८ फागुन, २०७९, १३:२४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।