यूएईलाई लगातार दोस्रो खेलमा हराउने लक्ष्यमा नेपाल, दुई खेल अगावै ओडीआई मान्यता जोगाउने योजना

यूएईलाई लगातार दोस्रो खेलमा हराउने लक्ष्यमा नेपाल, दुई खेल अगावै ओडीआई मान्यता जोगाउने योजना

काठमाडौं : आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको खेलमा नेपालले आज घरेलु मैदानमा यूएईको सामना गर्दैछ।

टीयू क्रिकेट मैदानमा हुने यो खेल जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहने छ।

यूएईलाई लिग-२ मा लगातार दोस्रो खेलमा हराउँदै नेपाल सिरिजका अन्तिम दुई खेल अगावै ओडीआई मान्यता जोगाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ।

लिग-२ कै गत हप्ता यूएईमा भएको सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो।  

हाल सानदार फर्ममा रहेको नेपालले लिग-२ मा खेलेका पछिल्ला ९ खेलमा एक खेल मात्र हारेको छ। जसको ठीक विपरित यूएईले भने यस पछिल्ला १० एकदिवसीय खेलमा मात्र २ खेल जितेको रेकर्ड छ। 

यस अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो भने यूएई भने पीएनजीसँग ५६ रनले पराजित भएको थियो।

लिग-२ को अंक तालिकामा पाचौं स्थानमा रहेको नेपालको ३३ खेलबाट १६ जितपछि ३४ अंक छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका चौथो स्थानमा छ।

यदि आजको खेलमा यूएईलाई हराएमा नेपालको ३६ अंक हुनेछ भने यसपछिका सिरिजका बाँकी दुवै खेल हारे पनि नेपाल कम्तीमा लिगको टप फाइभ भित्र पर्नेछ।

यस लिगमा टप फाइभमा रहने टिमको सोझै ओडीआई मान्यता कायम हुनेछ। 

यसपछि सोझै विश्वकप छनोट खेल्न भने नेपालले आजको खेलसँगै सिरिजका अन्य दुई खेल पनि जित्नुपर्ने हुन्छ। 

यस लिगमा ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। यी दुवै सोझै विश्वकप छनोटमा पुगिसकेका छन्।

३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। यदि अब तीनै खेल जितेमा ४० अंकका साथ नामिबियालाई पछि पार्दै नेपाल लिगको शीर्ष तीनभित्र पर्दै सोझै विश्वकपमा छनोट हुनेछ।

२८ फागुन, २०७९, ०८:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।