ए डिभिजन लिग : डिफेन्डिङ च्याम्पियन मछिन्द्र लगातार दोस्रो खेलमा पराजित

ए डिभिजन लिग : डिफेन्डिङ च्याम्पियन मछिन्द्र लगातार दोस्रो खेलमा पराजित

काठमाडौं : डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार भोगेको छ।

गत दुई सिजनको उपाधि विजेता मच्छिन्द्र क्लब विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बिहीबार २–० गोल अन्तरले पराजित भएको हो।

ललितपुर स्थित च्यासल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको तीन मिनेटमै आर्मी अग्रता लिन सफल भयो।

कर्नर बलमा दीपक गुरुङले हेडरमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।

त्यसपछि ५९ औं मिनेटमा आर्मीले पाएको पेनाल्टी अवसरलाई नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको जित पक्का गरेका थिए।

यो जितसँगै आर्मीले तीन अंक जोडेको छ। आर्मीले पहिलो खेल संकटासँग गोलरहित बराबरी खेलेको थियो।

लगातार तीन पटक घरेलु लिगको उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि भने लगातार दोस्रो खेलमा धक्का लागेको छ।

यसअघि मछिन्द्र जावालाखेल युथ क्लवसँग ३–१ ले पराजित भएको थियो।

लिग अन्तर्गत बिहीबार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम (एनआरटी)लाई २–१ गोल अन्तरले हरायो।

लगातार दास्रो जितसँगै जावलाखेलले दुई खेलमा ६ अंक जोड्दा एनआरटीले भने लगातार दोस्रो हार भोगेको छ।

खेलको ६८ औं  मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।

यसपछि विदेशी खेलाडी फोडे फोफानाले ७७ औं मिनेटमा गोल गर्दै जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए।

यसपछि ८० औं मिनेटमा  सञ्जीव बिष्टले एक गोल गरे पनि एनआरटीलाई खेलमा फर्काउने पर्याप्त भएन।

२५ फागुन, २०७९, १८:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।