नेपालले पीएनजीलाई ५२ रनले हरायो, ओडीआई मान्यता कायमै राख्न अब एक जित पर्याप्त

नेपालले पीएनजीलाई ५२ रनले हरायो, ओडीआई मान्यता कायमै राख्न अब एक जित पर्याप्त

काठमाडौं :आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको छ।

टीयू क्रिकेट मैदानमा सानदार कमब्याक गर्दै नेपालले लिग-२ को निर्णायक सिरिजमा विजयी सुरुवात गरेको हो। यो जितसँगै अब नेपाललाई ओडीआई मान्यता कायमै राख्न बाँकी तीन खेलमा एक जित नै पर्याप्त हुनेछ।

खेलमा नेपालले दिएको २९८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पीएनजी नेपालको कसिलो बलिङ सामु ४८ औं ओभरमा मात्र २४५ रनमा अल आउट भयो।

पीएनजी खेलमा राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो। जसका लागि ओपनर टोनी उराले ५० र किप्लिन डोरिगाले २६ रनको योगदान दिएका थिए।

तर यसपछि नेपाली बलरहरू लगातार रुपमा पीएनजीको विकेट झार्न सफल भए। ७७ रनमा पहिलो विकेट गुमाएको पीएनजीले ३५ ओभरको खेल सक्किँदासम्म मात्र १५७ रनमा ७ विकेट गुमाइसकेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा मात्र ३७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। त्यसैगरि दीपेन्द्र सिंह ऐरीले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए।

पीएनजीका लागि नोरमान भानुवाले सर्वाधिक ६० रनको योगदान दिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो। 

नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो।

नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो। नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा २ सय ८७ रन बनाएको थियो।

नेपालले ओडिआईमा यसअघि पहिला ब्याटिङ गर्दा टीयू मैदानमै गत वर्ष पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा २ सय ७८ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले।

आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो भने उनले १ हजार ओडिआई रनसमेत बनाए।

त्यसैगरि कुशल भुर्तेल ४५ रनमा पेभेलियन फर्कँदा कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए।

आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरेका थिए। रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए।

आसिफ ३८ औं ओभरमा आउट भएका थिए। त्यसैगरि दीपेन्द्रसिंह ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे। एक छक्का प्रहार गरेका करण केसी ८ र सोमपाल कामी ७ रनमा आउट भए।

आउट हुने अन्तिम खेलाडी भिम सार्कीले ३८ बल खेली ४ चौका सहित ४४ रनको योगदान दिए। पीएनजीका लागि सेमो कामिआले ५ विकेट लिएका थिए।

यो जितसँगै नेपाली टिमले लिग-२ मा पछिल्ला ९ खेलमा ८ जित निकाल्न सफल भयो। अब बाँकी तीन खेलमा एक जित निकाले नेपालले एकदिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्नेछ।

यदि नेपालले सिरिज क्लिनस्विप गरेमा अर्थात् अबका बाँकी तीनै खेल जितेमा नेपाल लिग-२ मा शीर्ष तीनमा रहँदै सिधै विश्वकपको छनोटमा स्थान बनाउन सफल हुनेछ।

अंक तालिकामा पाचौं स्थानमा रहेको नेपालको यो जितपछि ३३ खेलबाट ३४ अंक भएको छ। ३५ अंकसहित सबै खेल खेलेको अमेरिका चौथो स्थानमा छ।

५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ।

२५ फागुन, २०७९, १६:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।