बालेनको विकास मोडल : वीर अगाडिको मेडिकल हटाएर निजीलाई पार्किङ, टुकुचा प्वाल पारेर दुर्गन्ध उपहार

बालेनको विकास मोडल : वीर अगाडिको मेडिकल हटाएर निजीलाई पार्किङ, टुकुचा प्वाल पारेर दुर्गन्ध उपहार
तस्बिर- कृष्पा श्रेष्ठ

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले खेप्दै आएको आरोप हो ‘भत्काउन मात्र जान्ने, बनाउन नजान्ने।’

महानगरको मेयरको रूपमा उनले अवैध संरचना हटाउनबाट शुरू गरेका थिए, जुन जारी नै छ। तर, उनले जुन रफ्तारमा भत्काए त्यही सुस्तता देखाए निर्माणमा।

त्यसको नमुना बनेको छ- वीर अस्पतालबाहिरको संरचना। वीर अस्पतालको नयाँ भवन बाहिरको टहरा लगायतका संरचनालाई भाडामा लगाउँदै आएको थियो अस्पताल प्रशासनले।

काठमाडौं महानगरले ती संरचना अवैध रहेको भन्दै मनोरम पार्क बनाउने लक्ष्यका साथ फार्मेसीहरू हटायो अनि भत्कायो। तर, भत्काउँदाको दिन जस्तो अवस्थामा त्यहाँको संरचना थियो, अहिले पनि उस्तै छ।

बालेनले पार्क बनाउने भनेर भत्काए। अहिले त्यहाँ निजी पार्किङको मस्ती छ। असोज ५ मा महानगरले डोजर चलाएको वीर अस्पतालको फार्मेसी क्षेत्र क्षतिग्रस्त अवस्थामै छ।

पाँच वटा फार्मेसीमा डोजर चलाएको थियो महानगरले। अहिले त्यो भग्नावशेषमध्ये केहीमा फुटपाथ व्यवसायीले लुकिछिपी पसल सञ्चालन गरेका छन्। अधिकांश स्थान पार्किङ क्षेत्र बनेको छ।

भत्किएकै संरचनाको बीच भागबाट मोटरसाइकलहरू घुसारेर पार्किङ चलाइएको छ। भत्किँदाका इट्टा र ढुङ्गाहरू छरपष्ट छन्। अस्पताल प्रशासन अनि महानगरले पन्छाउने प्रयास समेत गरेका छैनन्।

अस्पतालको प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सागर मिश्र, अस्पताल प्रशासन अब फार्मेसी राख्ने अनि बनाउने पक्षमा छैन।

'औषधि पसल भत्कायो। त्यसपछि हामीबले औषधि पसल राखेको पनि छैनौं। अनि नयाँ बनाएर औषधि चलाउने पक्षमा पनि छैनौं’, मिश्रले उकेरासँग भने।

उनले अस्पताल प्रशासनले नक्सा संसोधन गरेर पैसा भएपछि मात्रै त्यहाँ नयाँ संरचना बनाउने योजना रहेको बताए।

‘भत्काउने बेलामा भत्काइदियो सक्यो, अब के गर्ने। नेपालमा भत्काउन सजिलो छ। अस्पतालको अन्तरिक स्रोत छैन। अस्पतालले कसरी बनाउने? भत्काउने निकायले बनाइदिए हुन्थ्यो भन्ने हो। महानगरको पनि त जनताहरू यहाँ आउछन्’, उनले थपे।

यता महानगरका प्रवक्ता नवीन मानन्धर अस्पताल व्यवस्थापन समितिले नै भत्काउन अनुरोध गरेअनुसार भत्काएको दाबी गर्छन्। नक्सा पास पनि नभएको र प्रशासनले भत्काउन अनुरोध गरेकाले भत्काएको उनको तर्क छ।

‘वीर हस्पिटलको सम्पत्ति हो त्यो। नक्सा पास नहुनु अनि पसल सञ्चालनको तरिका पनि नमिलेको कारण वीर हस्पिटलकै अनुरोधमा त्यो बिगारेको हो,’ प्रवक्ता मानन्धर भन्छन्, ‘हस्पिटलको व्यवस्थापन समितिको मातहतमा त्यो पसल नरहेको हामीले जानकारी पायौँ। महानगरपालिकाले आफ्नो नीतिगत नियममा नै त्यो भत्काइएको थियो।’

महानगरले भत्काए पनि जसको स्वामित्वमा जग्गा छ, उसैले बनाउनुपर्ने मानन्धरले तर्क गरे।

‘उहाँहरूको स्वामित्वमा रहेको जग्गामा के अनि कसरी बनाउने भन्ने उहाँहरूको कुरा हो,’ उनले अगाडि थपे,ְ ‘हामीलाई कागज गराएर अब त्यसको सबै जिम्मा महानगरलाई दिनुहुन्छ भने हामी बनाइदिछौँ।’

महानगरले भत्काएको संरचना आफ्नो स्वामित्व नभएको स्वीकार गर्छ। तर, स्वामित्व नै नभएको क्षेत्रमा श:शुल्क पार्किङको अनुमति कसरी दिएको भन्नेबारे चाहिँ बोल्दैन।

अस्पताल अगाडि अनि भत्काएको संरचनामा पार्किङको अनुमति अस्पतालले दिएको हैन, महानगरले हो। अस्पताल प्रशासन पार्किङको कारण बिरामी ल्याउन र लैजानसमेत समेत गाह्रो भएको र त्यसबारे महानगरलाई जानकारी गराउँदा पनि वास्ता नगरेको दाबी गर्छ।

‘यहाँ समस्या आयो भनेपछि त थाहा पाउनुपर्ने नि! हस्पिटलको अगाडि पार्किङ गर्दा बिरामीलाई सरूवा गर्दा समस्या भइरहेको छ,’ सागर मिश्र भन्छन्, ‘मौखिक रूपमा पटक-पटक भनेकै हो। स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएकै छौं तर पार्किङ हट्दैन।’

महानगरले भत्काएको क्षेत्र वीरको परिसरमा पार्नेगरी कम्पाउण्ड हाल्ने योजना भए पनि त्यो कहिले बन्छ निश्चित छैन। अस्पताल प्रशासन विस्तारै बनाउने बताउँछ। महानगरलाई वास्तै छैन।

उता महानगरका प्रवक्ता मानन्धर, पार्किङले पारेको अप्ठ्यारोबारे अस्पतालले जानकारी नै नगराएको दाबी गर्छन्। उनी पार्किङ गर्नहुन्न भन्ने कुरा अस्पतालबाटै आउनुपर्ने तर्क गर्छन्।

‘स्पेस त उहाँहरूकै हो। आफ्नो सम्पत्तिमा पार्किङ राख्न नदिन उहाँहरूले सक्नुहुन्छ’, उनले भने।

उनले सो क्षेत्रमा एक लाइन पार्किङका लागि एक कम्पनीलाई अनुमति दिएको स्वीकार्दै एक लाइनभन्दा बढि पार्किङ राख्न नपाइने बताए। त्यसो भएको अवस्थामा महानगरमा उजुरी दिएर कारबाही गर्ने उनको दाबी छ।

भत्काएको टुकुचाको संरचना पनि लथालिङ्ग
पुरिएको टुकुचा खोल्ने भन्दै महानगरले टुचुकाको बहाव क्षेत्र खोल्दा कुनै हलको कम्पाउन्डमा त कुनै घरको कम्पाउन्डभित्र फेला पार्यो। केही स्थानमा खोतल्यो पनि। सबैभन्दा पहिला खोतलेको थियो जय नेपालको आँगनमा।

टुकुचा खोला खोत्लन थालिएपछि यो विषय उच्च अदालत पाटन पुग्यो। टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी भयो।

अनि माघमा त ‘टुकुचा खोला उत्खनन कानून विपरीत भएको ठहर’ गर्दै जग्गाधनीको पक्षमा फैसला नै आयो। तर, टुकुचाको राणाकालीन ढल संरचना खोतल्दाको भ्याङ टालिएको छैन। उस्तै छ।

वीरशमशेरको पालादेखि जय नेपाल हल रहेको जग्गा धनी शिशिर राणा अहिले पनि महानगरको मान्छे आइहाल्छन् कि भनेर त्यही बसिरहन्छन्।

‘हामीलाई यहाँ खोला थ्यो भनेर पहिला नै थाहा थियो। त्यै भएर त हामीले यहाँ खोला भएको संरचनामा खाली ठाउँ राखेको’, उनले भने।

त्यतिबेला महानगरले नै नक्सामा खोला हटाइदिएको र अहिले त्यसमाथि संरचना बनेपछि हरायो भन्दै भत्काउन आएको उनको दाबी छ।

अहिले डोजर चलाएको ठाउँमा फोहोर थुप्रिन थालेको छ। ढल बनेको टुकुचाबाट दुर्गन्ध आउँछ। यहाँको संरचनाको पहिलेकै जस्तो बनाउनुपर्ने, नभए क्षतिपूर्ति दिनुपर्ने राणाको माग छ। यस सम्बन्धमा महानगर सँग पटक-पटक वार्ता गरे पनि केहि सुनुवाइ नभएको उनी बताउँछन्।

राणाको दाबीअनुसार अहिले सो क्षेत्रमा जग्गाको भाउ आनाको एक करोडसम्म पर्छ। उनीहरूको पुर्ख्यौली सम्पत्तिको रूपमा तीन रोपनी १२ आना जग्गा आयो। पाँच दाजुभाइमा बाड्न जग्गा बेच्ने प्रयास गर्दा ग्राहकै नआएको उनको गुनासो छ।

‘पूर्णपाठ अनुसार काम अघि बढ्छ’
महानगरका प्रवक्ता मानन्धर अदालतले त्यहाँ कुनै काम कारबाही नगर भनेको र पूर्णपाठ नआएकाले रोकिएको बताउँछन्। पूर्णपाठ आएपछि मात्र महानगरले के गर्ने निर्णय गर्ने उनले बताए।

‘पूर्णपाठमा पहिला जस्तो छ त्यस्तै बनाइदेउ भन्यो भने त्यही हुन्छ,' उनले भने, ‘हैन, संरचनामा क्षति नपुर्यामइ टुकुचा खोला बनाऊ भन्यो भने त्यो पनि गर्छौं।’

१९ फागुन, २०७९, १९:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।