डा. सन्जिबको अनुभव : परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको प्रमाण भेट्यौं, पुनः परीक्षाको माग गर्दा शरीरभर नीलडाम बस्यो
बिरामीसँगको साक्षात्कारमा रमाउनु डा. सन्जिब तिवारीको दैनिकी हो। बिरामीको स्वास्थ्य जाँच तथा औषधि उपचार गरी बिरामीको रोग ठिक पार्नु उनको उत्तरदायित्व र कर्तव्य हो। यसैमा उनी केन्द्रीत हुन्छन्।
शुक्रबार दिउँसो त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्दा डा. सन्जिब इमर्जेन्सी ओपिडिमा बिरामी जाँचिरहेका थिए। तर, यतिमा मात्रै उनी सीमित छैनन्।
डा. सन्जिब चिकित्साशास्त्र अध्ययन गर्दादेखि नै अन्यायविरुद्ध लड्दै आएका चिकित्सक हुन्। चिकित्सा पेशा तथा चिकित्सकको हकहितका लागि उनले आवाज उठाउँदै आएका छन्।
डा. सन्जिब महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडीजीपीइएम अध्ययन गर्दाको एउटा प्रसङ्ग कहिल्यै भुल्दैनन्। प्रसङ्ग करिब दश वर्षअघिको हो।
त्यो बेला महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी तहको छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएछ। पारदर्शी तरिकाले छनोट परीक्षा नलिएर पहुँचको बलमा कतिपयलाई डाक्टर पढाउने चलखेल भएको उनी बताउँछन्।
‘हामीले परीक्षामा भएको चलखेल र प्रश्नपत्र बाहिरिएको राम्रै सबुत भेटेका थियौं,’ डा. सञ्जिबले त्यो बेलाको घटना सुनाए।
त्यसैले चिकित्साशास्त्र अध्ययनका लागि भएको छनोट परीक्षा पारदर्शी हुुनुपर्ने माग राख्दै त्यो बेला नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन (एनआरडिएन) ले १९ दिनसम्म आन्दोलन गर्नु परेको सम्झन्छन् उनी।
जुन आन्दोलनमा सन्जिबको समेत सक्रिय भूमिका थियो। उनी रेजिडेन्ट डाक्टर्स एशोसियसनको संस्थापक सस्दय समेत रहेछन्।
त्यसैले डा. सन्जिब पनि प्रशासन र प्रहरीको नजरमा परिहाले। आन्दोलन चलिरहेको थियो। परीक्षा अपारदर्शी भएको भन्दै हंगामा नै मच्चाएका थिए रेजिडेन्ट चिकित्सकले। आन्दोलनले छनोट परीक्षा नै बिथोलियो।
आन्दोलन गरिरहेकै बेला डा. सन्जिब लगायतका आन्दोलनमा सहभागी रेजिडेन्ट चिकित्सकलाई छानीछानी प्रहरीले लाठीचार्ज गर्दै भ्यानमा कोच्यो।
सन्जिबको शरीरमा पनि प्रहरीको चार लाठी प्रहार भए। त्यो बेला हात खुट्टा र ढाडमा प्रहरीले लाठी हानेको उनलाई राम्रोसँग याद छ।
‘आन्दोलनको क्रममा हामी सात जना समातिएका थियौं,’ डा. सन्जिबले सुनाए, ‘त्यो बेला राम्रैसँग प्रहरीको ३/४ लाठी खाइयो।’
प्रहरीले भ्यानमा लगेर दिनभरी जसो महाराजगञ्ज प्रहरी वृत्तमा राखेको डा. सन्जिबलाई सम्झना छ। त्यसपछि आन्दोलन नगर्ने सर्तमा प्रहरीले उनीहरूलाई छाडिदियो। तर, आन्दोलन रोकिएन। कयौं पटक धरपकड भए।
आन्दोलनमा उत्रिएका रेजिडेन्ट चिकित्सकले अस्पतालको सेवा भने बन्द गरेनन्। बरु अस्पतलको कोठाभित्र नभई भवन बाहिरको प्राङ्गणमा बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेको सम्झन्छन् उनी।
‘त्यो बेला अस्पतालको भवन बाहिर टेबल लगेर ओपिडी चलाएर बिरामी जाँचियो,’ डा. सन्जिबले सुनाए।
त्यो बेला मेरिटको आधारमा अब्बल विद्यार्थी अध्ययनका लागि छनोट हुनुपर्छ भन्ने रेजिडेन्ट डाक्टरको बटमलाइन थियो। चलखेल गर्न नहुने र छनोट परीक्षा प्रणाली पारदर्शी हुनुपर्ने आन्दोलनमा उत्रिएका रेजिडेन्ट डाक्टरको माग थियो।
१९ दिन आन्दोलन भएपपछि शिक्षा मन्त्रालयको सहभागितामा क्याम्पस र आन्दोलनमा उत्रिएका रेजिडेन्ट (विद्यार्थी) चिकित्सकबीच सम्झौता भयो। त्यसपछि आन्दोलन रोकियो।
आन्दोलनपछि त्यो बेला पुनः छनोट परीक्षा भएको डा. सन्जिबले सुनाए। त्यसपछि तुलनात्मक रूपमा धेरै हदसम्म पारदर्शी तरिकाले नै छनोट परीक्षा भएको उनी सम्झन्छन्।
प्रहरीको लाठीचार्जबाट धेरै दिनसम्म उनको शरीरमा निलडाम बसेका थिए। निक्कै दिनसम्म लाठी बजारिएका डाम मेटिएनन्। प्रहरीको लाठीले धेरै दिनसम्म उनको शरीर दुखेको थियो।
तर, त्यो आन्दोलनकै कारण पुनः छनोट परीक्षा भएको र पारदर्शीता भएकाले सायद त्यो बेला राम्रैका लागि लाठी खाइएछ जस्तो महशुस हुन्छ डा. सन्जिबलाई।
‘आन्दोलनको फल राम्रै भएकाले सायद राम्रैका लागि लाठी खाइएको रहेछ भन्ने भयो,’ उनले त्यो बेलाको घटना सम्झिए।
स्नातकोत्तर तहमा अध्ययन गरिरहेकै समयमा अर्को संघर्ष समेत गरेको र तलब तथा सेवा सुविधा समेत बढाएको उनले सुनाए। त्यो बेला सन्जिब एशोसियनको सचिव थिए।
मृत्यु भइसकेका छोराको मुखमा मुख जोडेर श्वास दिइरहे
२०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पको एउटा घटना सम्झँदा अझै डा. सन्जिबको मन चसक्क हुन्छ। शनिबार मध्यान्हमा भूकम्प गयो। जतिबेला डा. सन्जिब त्रिवि शिक्षण अस्पतालमा ड्युटीमै थिए।
भूकम्पपछिको स्थिति कोलाहलपूर्ण थियो। डा. सन्जिब लगायत टिम अस्पतालको भवनबाहिर खुला आकाशमा घाइते बिरामीको उपचारमा जुटे। अस्पतालबाहिर नै टेबल, कुर्सी र बेड राखेर घाइतेहरूको उपचार भइरहेको थियो।
सोही अवस्थामा करिब ३५ वर्षका पुरुषले घाइते बालक छोरा च्यापेर अस्पताल पुगे। घाइते छोरा करिब आठ वर्षका थिए। ती पुरुषले छोरालाई अस्पतालको ग्राउण्डमा रहेको बेडमा राखे।
डा. सन्जिबले बालकको स्वास्थ्य अवस्था परीक्षण गरे। तर, अस्पताल नपुर्याउँदै बालकको प्राण गइसकेको रहेछ। स्वास्थ्य परीक्षणपछि डा. सन्जिबले ती पुरुषलाई बालकको मृत्यु भइसकेको जानकारी दिए। छोराले प्राण त्यागिसकेको खबर सुन्दा ती पुरुष भावबिह्वल भए।
बालकको मृत्यु भएपछि डा.सन्जिब अन्य घाइते बिरामीलाई बचाउनतर्फ लागे। उनी अन्य घाइते बिरामीको उपचारपछि केही बेरमा राउण्ड गर्दै तिनै मृत्यु भएका बालक भएको छउेमा पुगे।
त्यतिबेला सम्म पनि मृत्यु भइसकेका छोराको मुखमा बुवाले मुखबाट फुकेर स्वास दिने प्रयास गरिरहेका थिए। बुवा घरि छाति थिचिदिन्थे त घरी मुखले श्वास दिन्थे।
मृत्यु भइसकेका छोरालाई मुखबाट बुवाले श्वास दिने असम्भव प्रयास गरेको देख्दा डा. सन्जिबको मन थामिएन। मनै चिसो भयो। कटक्क भयो।
त्यसपछि ती मृत्यु भइसकेका छोराको मुखमा श्वास हालिरहेका बुवालाई उनले सम्झाए। बुझाए। छोराको मृत्यु भइसकेकाले लान अनुरोध गरे। तर, उनले मानेनन्। छोराको मुखमा श्वास दिइनै रहे।
जति दिए पनि छोराको श्वास फर्किएन। छोरा श्वास फर्कने अवस्थाबाट टाढा भइसकेका थिए। धेरै बेरको पर्खाइपछि मात्रै बुवाले छोराको शव लिएर फर्केको उनी सम्झन्छन्। त्यो घटना सम्झँदा अहिले पनि डा. सन्जिबको मन सिरिङ्ग हुन्छ।
‘ती बाजेलाई पैसा अभावले भर्ना गरिएन’
शिक्षण अस्पताल पुग्नेमध्ये कयौं बिरामी त बेड नपाउने अनि पैसाकै अभावमा दुःख पाएको देख्दा डा. सन्जिबलाई दुःख लाग्छ।
करिब सात वर्षअघि कालिकोटबाट करिब ६५ वर्षका क्यान्सरको समस्या भएका बिरामीलाई शिक्षण अस्पतालमा पुर्याइएको थियो। ती बिरामीको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो।
बिरामीलाई उपचारपछि निको बनाउन त सम्भव थिएन नै। बाचुञ्जेल सहजताका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्नु उचित हुन्थ्यो। तर, बिरामीका आफन्तसँग पैसा रहेनछ।
फ्रि बेड १/२ दिनमा खाली हुने थियो। त्यही अनुसार डा. सन्जिबले बिरामी भर्ना गर्न अनुरोध गरे। बिरामीका आफन्तले भने पैसा नभएको भन्दै भर्ना गर्न मानेनन्। बिरामीलाई लिएर आफन्त फर्के। त्यो घटना सम्झँदा अहिले पनि डा. सन्जिबको मन चसक्क हुन्छ। यस्ता घटना भइनै रहने उनले सुनाए।
मृत्युको अन्तिम घडीमा...
तीन वर्षअघि करिब १७ वर्षका युवा बिरामीलाई शिक्षण अस्पताल पुर्याइएको घटना पनि डा. सन्जिबको मानसपटलमा ताजै छ। गोरखाका ती बिरामीलाई श्वास फेर्न कठिन भएकाले भेन्टिलेटरमा राख्नुपर्ने अवस्था थियो।
तर, भेन्टिलेटरमा नै राखे पनि केही दिन मात्रै बचाउन सकिने अवस्था थियो। बाचुञ्जेल सहजताका लागि ती युवा बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने डा. सन्जिबको टिमले बिरामीका बुवाआमालाई सल्लाह दियो।
तर, बिरामीका बुवा आमाले छोरा लामो समय नबाच्ने भए खर्च नगर्ने बताएछन्। बरु नबाच्ने छोरालाई गर्ने खर्च अन्य छोराछोरीलाई टर्छ भन्दै बुवाआमाले ती छोरालाई अस्पतालमा राख्नै मानेनन्। घर लिएर फर्के।
आर्थिक अभावकै कारण त्यसरी मृत्युको अन्तिम घडीमा बिरामीलाई बुवाआमाले घर लिएर गएको त्यो घटना सम्झँदा पनि उनको मन अझै कटक्क हुन्छ।
फिलिपिन्समा एमबीबीएस
२०३३ मा लमजुङको दूरा डाँडामा जन्मिएका सन्जिब पोखराको गण्डकी बोर्डिङ स्कुल लामाचौरबाट २०४९ मा एसएलसी दिएर राम्रो अंकमा उत्तीर्ण भए।
एसएलसीपछि सन्जिब आइएस्सी अध्ययनका लागि काठमाडौं आए। त्रिचन्द्र कलेजमा भर्ना भए। आइएस्सी पूरा गरे।
सन्जिबलाई डाक्टर बन्ने ठूलो सपना थियो। पढाइ पनि अब्बल नै थियो। त्यसैले उनी आइएस्सीपछि एमबीबीएस अध्ययनका लागि सन् १९९७ मा फिलिपिन्स पुगे। त्यहाँको सिबु इन्टिच्युड अफ मेडिसिन नामक कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भए। सन् २००३ मा एमबीबीएस सकेर सन्जिब नेपाल फर्के।
त्यसपछि डा. सन्जिबले बनेपाको सिर मेमेरियल अस्पतालमा मेडिकल अधिकृतका रूपमा करिब एक वर्ष काम गरे। एक वर्ष अन्य अस्पतालमा काम गरे।
अमेरिकामा अध्ययन पूरा नगरी नेपाल
नेपालमा दुई वर्ष काम गरेपछि डा. सन्जिब यूएसएमएलई छनोट परीक्षा उत्तीर्ण गरेर थप अध्ययनका लागि अमेरिका पुगे। अमेरिकामा ‘फ्यामिली मेडिसिन’ र ‘इन्टरनल मेसिन’ विषय अध्ययन गर्ने योजनामा थिए उनी।
त्यहाँ न्यूयोर्क डाउनटाउन अस्पतालमा उनले दुई वर्ष काम गरे। तर, पारिवारिक समस्याका कारण उनी अमेरिका बसेको दुई वर्षपछि नेपाल फर्कनुपर्यो। अध्ययन पूरा नहुँदै उनी नेपाल फर्के।
नेपाल फर्कनासाथ सन्जिबले त्रिभूवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल)मा छनोट परीक्षा दिए। अध्ययनका लागि छनोट भए।
२०६६ मा उनले स्नातकोत्तर तहको एमडीजीपी (जनरल प्राक्टिस) र इमर्जेन्सी मेडिसिन (इएम) विषयको अध्ययन थाले। जुन विषयको अध्ययनलाई एमडीजिपीइमका नामले समेत चिनिन्छ।
२०६९ मा डा. सन्जिबको तीन वर्षे एमडीजिपिइम अध्ययन पूरा भयो। उनी दीर्घरोग र आकस्मिक रूपमा उपचार गर्नुपर्ने बिरामीको उपचारमा नै बढी केन्द्रीत हुन्छन्।
पढाउने र उपचार गर्ने काम
एमडीजिपिइमको परीक्षा सकेको भोलिपल्ट नै डा. सन्जिब तनहुँको दमौलीमा एउटा निजी अस्पतालमा काम गर्न पुगे। त्यहाँ उनले करिब तीन महिना काम गरे।
त्यसपछि महाराजगञ्ज चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल) मा जागिर खुल्यो। उनले परीक्षा दिए। उनी पहिलो नम्बरमा नै छनोट भए। जहाँ एमडीजीपीइएम अध्ययन गरे। त्यहीँ डा. सन्जिबलाई जागिरे हुने अवसर मिल्यो।
२०६९ असोजमा क्याम्पसमा शिक्षण सहायकका रूपमा उनी करार जागिरे भए। त्यसपछि उनको दुई किसिमको भूमिका भयो।
क्याम्पसमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीलाई पठाउने अनि शिक्षण अस्पतालमा बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने। २०७२ मा डा. सन्जिब स्थायी भए। हाल उनी बढुवा हुँदै उप–प्राध्यापकका भूमिकामा छन्।
बिरामीका डाक्टर, डाक्टरका नेता
चिकित्सकको हकहितका लागि समेत लड्दै आएको डा. सन्जिब हालै नेपाल चिकित्सक संघका महा–सचिवमा निर्वाचित भएका छन्। त्यसैले बिरामीको उपचारमा केन्द्रीत हुनुमात्रै उनको जिम्मेवारी छैन।
चिकित्सकको हकहित तथा पेशाका लागि वकालत गर्नका लागि डा. सन्जिवको जिम्मेवारी थपिएको छ। तर, चिकित्सक भएका नाताले बिरामीको उपचार गर्नु नै पहिलो दायित्व हो भन्ने विषय आफूले कहिल्यै नबिर्सने उनले सुनाए।
बिरामीलाई मर्का नपर्नेगरी बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार र उपचार व्यवस्थापनमा नै केन्द्रीत भएर चिकित्सकको हकहितका लागि समय व्यवस्थापन गर्ने उनले सुनाए।
फागुन १३, २०७९ शनिबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।