श्रीमतीलाई चिठी लेख्दालेख्दै कवितामा रस बसेका कृष्णशरणको महाकाव्य लेख्ने धोको

श्रीमतीलाई चिठी लेख्दालेख्दै कवितामा रस बसेका कृष्णशरणको महाकाव्य लेख्ने धोको

पर्वतको बिहादी गाउँपालिका कुँडादीका कृष्णशरण उपाध्यायका बाबु लक्ष्मीशरण पौडेल सानैदेखि घरमा बस्नै नरुचाउँने। उनका बुबा घर गृहस्थमा रुचि नै नभएका सन्त प्रवृत्तिका थिए। पूर्वीय दर्शन, पुराण, उपनिषद्, व्याकरण र साहित्यको अध्येता थिए उनी।

त्यसको प्रभाव उनमा पनि पर्यो। उनी पाठ्यक्रममा भन्दा बाहिरी कुरामै बढी रुचि राख्ने। विद्यालयका पाठ्यपुस्तक एक-दुई महिना पढेर थन्काउने बानी थियो। बरु उनी घुम्न, खेल्न अनि चित्र बनाउन रमाउँथे।

उनको फरक स्वभाव समाजले रुचाइरहेको थिएन। उनले नजिकका आफन्तबाट कामै नलाग्ने, पत्रुको उपमा पाइसकेका थिए। 

अनाथालयमा बाल्यकाल

उपाध्यायकी आमा सोझी। कान अली कम सुन्ने अनि खुलेर बोल्न पनि नसक्ने। अली चाँडै आमाको मृत्यु भयो। उनी पाँच वर्षको उमेरमा हजुरआमाको संरक्षणमा पुगे।

६ वर्षको उमेरमा बाबुले चितवन लगेर व्रतबन्ध गराए। बाबु जता पुग्थे उनी पनि सँगै। कहिले चितवन, कहिले नवलपरासी। २०३२ सालमा बाबुले उनलाई भारतको वृन्दावनमा लगेर छाडिदिएछन्। बस्न आश्रम मिलेन। अनि उनी अनाथालयमा पुगे।

‘प्रत्येक दिन आठ-दशवटा आलु बफाएर बोक्रैसँग मिचेर नुन, बेसार र दुई-तीन बाल्टी पानी हालेर ४० जनाका लागि दाल तयार हुन्थ्यो,’ उनले भने, ‘कहिले गहुँका त कहिले बाजराका सुक्खा डढेका रोटी खान दिइन्थ्यो। पित्तलको थालमा दाल हाल्दा आलुका बोक्रा परे भने आलुका चाना पर्यो भनेर खुब खुशी हुने।’

उनको जीवनमा यो क्रम केही वर्षसम्म जारी रह्यो। पछि उनले एउटा आश्रम भेटे। त्यहाँ उनी झाडु लगाउने, पकाएका भाँडा माझ्ने काम गर्न थाले। बिहान अनि बेलुकी ठिक समयमा भगवानको आरतीमा उपस्थित हुनैपर्ने। नभए त्यो दिनको खाना गयो।

२०६७ को अन्त्यतिर उनको बुबाको निधन भयो। पितृशोकले अत्यन्तै भावविह्वल थिए उनी। त्यही शोकमा छान्दिक कविता फुर्न थाल्यो रे। त्यसयता उनी निरन्तर कवितामा केन्द्रित छन्।

धर्म, दर्शन, संस्कृति, सभ्यता, रीति, प्रकृति, राजनीति, प्रशासन, कृषि, वाणिज्य, प्रेम, भक्ति, ज्ञान, विज्ञान र वैराग्य सबै विषयमा उनका कलम चल्छन्। चलिरहेका छन्।

उनको दाबी अनुसार पहिला पहिला कविता लेख्दा उनी दुई वर्ष त एक रात पनि निदाएनन् रे। अहिले पनि उनमा अल्प निन्द्राको बानी रहेछ। दुई-तीन घण्टा मात्रै सुत्छन् रे।

उनका ९० प्रतिशत भन्दा बढी कविताहरू संस्कृतको वर्णमात्रिक छन्दमा छन्। तिनमा उनले करिब ५० वटा छन्दको प्रयोग गरेका छन्। बाँकी १० प्रतिशत लोक झ्याउरे, मात्रिक आदिमा रचेका छन्। 

२०४२ सालमा उनले संस्कृत साहित्यमा शास्त्री गरे। २०४६ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर तह पास गरे। अहिले उनी तनहुँको बन्दिपुरमा रहेको बन्दिपुर क्याम्पस र नोट्रे डेम स्कुलमा पढाउँछन्। यो यात्रा शुरु गरेको नि ३२ वर्ष बितिसकेछ उनको।

महाकाव्य लेख्ने धोको

उपाध्यायलाई आफ्नो जीवनकालमा सयवटा पुस्तक निकाल्ने धोको छ। उनका अहिलेसम्म १२ कृति प्रकाशित भइसकेका छन्। बाँकी पुस्तक प्रकाशनको तयारीमा रहेको उनले बताए।

मथुरा, वृन्दावनमा रहँदा स्वाध्ययन, चिन्तन, मनन र मन्त्रानुष्ठानमा सधैं लीन भइहने उपाध्याय जिन्दगीको सबैभन्दा बढी समय लेखनमा नै बिताउने गरेको बताउँछन्।

‘अहिलेसम्म प्रकाशित कृतिहरू कविता संग्रह हुन्। अब भविष्यमा खण्डकाव्य, काव्य अनी महाकाव्य लेख्ने धोको छ’ उनले भने, ‘सय कृति पुर्याउने धोको मेरा पिताजीको आशीर्वादले अवश्य पूरा हुने छ।’ 

उपाध्यायको बाबुलाई छोराको विवाह माछामासु नखाने घरकी केटीसँग गरिदिने इच्छा रहेछ। त्यहीअनुसार खोज्दा-खोज्दै उनका बाबुले केटी फेला पारे।

उनको परिवार ठ्याक्कै उनकै बाबुले चाहे जस्तै रहेछ। अनि उनको विवाह भयो। विवाह पछि उनी काठमाडौं बस्न थाले। श्रीमती घरमा। उनी श्रीमतीलाई दिनकै चिठी लेखेर पठाउँथे। 

‘सायद मलाई कवि हुन जुरेको रहेछ। श्रीमतीलाई पठाउने चिठीमा आकाश-पातालको कुरा गर्थें। भावनामा हराउँथें। कल्पनामा डुब्थें। अहिले ती चिठी छैनन्,’ उनले भने।

यो पनि

११ फागुन, २०७९, १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।