ओलीको प्रस्तावपछि राष्ट्रपति उम्मेदवारमा माधव नेपालको प्रवेश, माओवादीले निर्णय गर्न सकेन

ओलीको प्रस्तावपछि राष्ट्रपति उम्मेदवारमा माधव नेपालको प्रवेश, माओवादीले निर्णय गर्न सकेन

काठमाडौं : आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अनौपचारिक भेटघाटमा एमालेको प्रस्तावमा 'राष्ट्रपतिको उम्मेदवार बन्न' प्रस्ताव आएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगे।

सोमबारै राष्ट्रपतिबारे टुङ्गो लगाउन माओवादीले पार्टीको पदाधिकारीको बैठक राखेको थियो। बैठक अगाडि नेपालले प्रचण्डलाई भेटेर ओलीको तर्फबाट आएको प्रस्ताव सुनाउँदै राष्ट्रिय सहमतिको आधारमा आफू राष्ट्रपतिको उम्मेदवार हुन तयार रहेको सुनाए।

प्रचण्ड भेटेर फर्किदा उनले पत्रकारहरूमाझ' राष्ट्रपतिका लागि चर्चा धेरैको भएको बताउँदै तर चर्चामा ल्याउने कुरा एउटा अनि टुङ्गोमा पुर्याउनु अर्को कुरा भएको भन्दै आफ्नो नाममा सहमति भई नसकेको सङ्केत गरेका थिए।

उनले भेटमा आफूले प्रचण्डलाई राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र त्यसको पहल प्रधानमन्त्रीले गर्नुपर्ने बताएको दाबी गरेका थिए।

'हाम्रोबिचको सम्बन्ध बलियो होस्, लामो यात्रामा जाऔँ भनेर मैले प्रधानमन्त्रीलाई भनेको छु' उनले भने।

साँझतिर बसेको पार्टी पदाधिकारीको बैठकमा प्रचण्डले राष्ट्रपतिको आकांक्षीहरुबारे जानकारी दिने क्रममा एकीकृत समाजवादीको नाम पनि लिएका थिए। उनले नेपालसँगको वार्ताको विस्तृत प्रसङ्ग भने खुलाएनन्।

बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्ने मोडालिटी तय हुन सकेन। न त कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्ने नै निर्णय हुन सक्यो।

प्रचण्डले बैठकमा एमालेले राष्ट्रपतिको उम्मेदवारलाई हल्का रूपमा लिएको र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिएर माओवादीलाई घेराबन्दीमा पारिरहेको बताएकाले उनी एमालेको सिफारिसमा राष्ट्रपतिमा समर्थन गर्ने पक्षमा नभएको भने प्रस्ट खुलाएका थिए। उनले सोमबारै एक कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख फरक-फरक दलको भए राष्ट्रिय सहमति हुने बताएर एमालेलाई राष्ट्रपतिमा नसघाउने सङ्केत गरेका थिए। सभामुख एमालेबाट निर्वाचित हुन्।

आइबार बेलुका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका नेताहरूको दलबल बोकेरै प्रचण्डसँग बालुवाटारमा राष्ट्रपतिबारे छलफल गरेको थियो। उनले बैठकमा यसबारे संक्षिप्त जानकारी दिँदै कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको तर उम्मेदवार नतोकेको बताएको एक नेताले उकेरालाई जानकारी दिए।

बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको चयन हुनुपर्ने तर दलभित्रबाट उम्मेदवार आउनुपर्ने पक्षमा छलफल भएको पार्टी महामन्त्री देव गुरुङले जानकारी गराएका थिए।

उनले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्ने पक्षमा पार्टी रहे पनि त्यो गैर राजनीतिक व्यक्ति हुन नहुनेमा पार्टीमा एकमत रहेको बताएका थिए।

'एमाले अध्यक्ष ओली र प्रचण्डबिच हरेक दिन राष्ट्रपतिको उम्मेदवारबारे छलफल चलिरहेको छ। एमालेले राष्ट्रपति पाए सरकार बलियो घेराबन्दीमा पर्ने भन्दै अध्यक्ष सरकार पनि जोगिने अनि राष्ट्रपति एमालेले पनि नपाउने विकल्पको खोजीमा देखिनुभयो। त्यसैले त्यसको अधिकार उहाँलाई नै दिने निर्णय भयो,' माओवादी केन्द्रका एक नेताले भने।

८ फागुन, २०७९, २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।