वैदेशिक रोजगारी : जति अवसर, त्यति नै चुनौती

वैदेशिक रोजगारी : जति अवसर, त्यति नै चुनौती

काठमाडौं : काभ्रे घर भएका विवेक लम्साल परिवारका एक्ला छोरा हुन्। एक त उनको पढ्ने उमेरमा घरको आर्थिक अवस्था कमजोर थियो। त्यसमाथि भूकम्पले घर भत्किएपछि उनी पढ्दा-पढ्दै दुबई गए। 

दुबईमा रहेर उनले राम्रै कमाइ गरे। घर बनाए। परिवारलाई आर्थिक रुपमा सबल बनाउँदै लगे। उनले कमाएको ७० प्रतिशत पैसा घरखर्चमा सके भने बाँकी बचत गरेर गाउँमै जग्गा किने।

करिब पाँच वर्षको विदेश बसाइपछि उनी हाल स्वदेश फर्किएका छन्। विवेक अहिले आफूले किनेको जग्गामा तरकारी खेती गर्छन्। त्यो बाहेक उनले कुखुरापालन पनि गरिरहेका छन्।

वदेशमा कमाएको पैसाले गर्दा नै व्यवसायमा लगानी गर्न पाएकोमा खुशी हुँदै उनी भन्छन्, ‘विदेश गएर कमाउन सकेकोले नै अहिले नेपालमा बसेर काम गर्न पैसा भएको छ, नत्र यत्रो पैसा कहाँ पाउनु?’

वैदेशिक रोजगार देशको अर्थतन्त्रको लागि त अवसर हो नै यसले श्रम बजारलाई पनि पछिल्लो समय उकास्नलाई ठूलो मद्दत गरेको छ।

वैदेशिक रोजगारले विदेशमा गएर काम गरेर फर्कनेहरूलाई विभिन्न सीपमार्फत अनुभवी बनाउन मद्दत गर्छ।

उनीहरू विदेशमा गएर श्रम त बेच्छन् नै त्यहाँ गएर सिकेको कामलाई स्वदेशमा पनि उपयोग गरेर आर्थिक लाभ उठाइरहेका छन्।

यता देशमा श्रमयोग्य कामदार कम हुँदा उनीहरूको ज्यालादर पहिलेको तुलनामा बढ्दै गएको छ भने उनीहरूको माग बढ्दै जानु पनि स्वाभाविक हो।

वैदेशिक रोजगारीले देशमा साक्षरता बढाउन, गरिबी घटाउन, कृषि क्षेत्रको विकास गर्न, विभिन्न पूर्वाधारको निर्माण गर्न महत्वपूर्ण योगदान दिँदै आएको छ।

विदेशी मुद्राको सञ्चिति बढ्दा राष्ट्रको अर्थतन्त्र उकासिन सहयोग हुनुसँगै परिवारको आधारभूत आवश्यकता पूरा गर्न ठूलो सहयोग पुगिरहेको छ।

यति मात्र होइन, वैदेशिक रोजगारले परिवारिक रहनसहन र जीवनशैलीमा पनि सकारात्मक परिवर्तन ल्याएको छ।अर्थात् पछिल्लो समय वैदेशिक रोजगारीले आधुनिक समाज निर्माण गर्नमा पनि भूमिका खेलेको छ।

कम छैनन् चुनौती

वैदेशिक रोजगारीले सिर्जना गरेका चुनौतीलाई दुई भागमा बाँड्न सकिन्छ, व्यक्तिगत र राष्ट्रिय। वैदेशिक रोजगारीमा जानेहरूले व्यहोर्नुपर्ने समस्यागत चुनौती एकातर्फ छ भने यसका कारण सिङ्गो मुलुकले झेल्नु परेका समस्याहरू अर्कातर्फ छ। 

पछिल्लो एक अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये ७० प्रतिशतले जोखिमयुक्त काम गर्नुपर्ने हुन्छ। 

कार्यक्षेत्रमा हुने जोखिम, दुर्व्यवहार, पारिवारिक मनमुटाव, बालबच्चामाथि उचित संरक्षणको अभाव आदि समस्याहरु वैदेशिक रोजगारीमा जानेहरूले भोगिरहेका छन्।

त्यस्तै वैदेशिक रोजगारीका कारण ज्यान गुमाउने नेपालकीको संख्या पनि उच्च छ। यो मानवीय क्षति अर्को गम्भीर चुनौतीका रूपमा रहेको छ।

स्वदेशमा रोजगारीको अवसर नभएपछि अधिकांश युवा अहिले विदेशीन बाध्य छन्।

अर्थ विश्लेषकहरूका अनुसार विदेशमा रोजगारीका लागि नेपालीहरू जाने क्रम यसरी नै बढ्दै जाने हो भने अबको पाँच वर्षमा नेपालका ७० प्रतिशत घरमा रेमिट्यान्स पुग्नेछ। 

अब प्रश्न उठ्छ? यतिका युवा वैदेशिक रोजगारीमा जाँदा देशको अर्थतन्त्रलाई क्षणिक राहत त होला तर यसले देशलाई दूरगामी हित गर्ला त? देशको आधारभूत विकासका लागि के यो फाइदाजनक छ त? 

अर्थविद्हरू क्षणिक रूपले आर्थिक लाभ भए पनि अन्ततः वैदेशिक रोजागरी देशका लागि घातक हुने बताउँछन्।

नेपालको कुल जनसङ्ख्याको ४०.३ प्रतिशत हिस्सा १६-४० वर्षको उमेर समूहले ओघटेको छ। जसमा वर्षेनी ४ लाख ५० हजार श्रमशक्ति श्रमबजारमा प्रवेश गर्छन्। 

१५ औँ पञ्चवर्षीय योजनाले १५–२४ वर्षको साक्षरता ९९ प्रतिशत पुर्याउने, १५ वर्ष माथिको श्रम सहभागिता ४८.५ प्रतिशत पुर्याउने, बेरोजगारी दर ६ प्रतिशतमा झार्ने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५० प्रतिशत पुर्याउने लगायतका परिमाणात्मक लक्ष्यहरूलाई जोडेर ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन योजना अगाडि सारेको छ।

वैदेशिक रोजगारीमा जाने क्रम र संख्या हेर्दा यो योजना पूरा गर्न निकै चुनौतीपूर्ण रहेको बताउँछन् वैदेशिक रोजगारी विषयमा ने अध्ययन गरिरहेका हरि प्रसाद शर्मा।

उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न नसकिनु, विभिन्न ज्ञान तथा सीपमूलक कार्यक्रमलाई अद्यावाधिक र स्तरीय गराउन नसकिनु, श्रम पुँजी र प्रविधिमा बहुसंख्यक युवाहरूको पहुँच कम हुने भएकोले युवाहरूलाई जोडेर स्वरोजगार प्रबर्द्धन गर्ने सम्भावना न्यून हुनु जस्ता ठुला चुनौतीहरू यो क्षेत्रमा छन्।’

उनका अनुसार मुलुकका युवाहरू रोजगारमूलक शिक्षा तथा व्यावसायिक सिप र प्रविधिसँग जोडिन सकेका छैनन्। नेपालको शिक्षा प्रणाली लर्ड मेकाउले मोडलमा आधारित छ। यो शिक्षा प्रणालीले युवाहरूलाई उत्पादनसँग जोड्न सकिरहेको छैन।

वर्तमान समयमा बालबालिका र वृद्धवृद्धा मात्रै मुलुकमा बाँकी रहने अवस्थाले देशका उर्वर भूमि बाँझै रहने र उत्पादन घट्दै जाने र मुलुक आयातमा निर्भर हुनुपर्ने जस्ता समस्या बढिरहेको छ।

७ फागुन, २०७९, १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।