हिजोका कुरामा प्राध्यापक हरिहर : आठ कक्षा पास भएपछि हेडमास्टर, त्यसपछि एसएलसीमा फेल

हिजोका कुरामा प्राध्यापक हरिहर : आठ कक्षा पास भएपछि हेडमास्टर, त्यसपछि एसएलसीमा फेल

हरिहर खनाल पेशाले प्रोफेसर भए पनि पेन्सन भने शिक्षकका रूपमा बुझ्छन्। आठ कक्षा पास गरेपछि नै हेडमास्टर बनेका उनी हेडमास्टर बनेपछि दिएको एसएलसी परिक्षामा भने फेल भएका थिए।

उनका बारेमा अहिलेसम्म डेढ दर्जन थेसिस लेखिइसकेका छन्। उनकै कथाकारितालाई लिएर अहिले पीएचडी पनि गरिँदैछ।

२००३ सालमा कास्कीको फल्याङ्कोटमा जन्मिएका खनालले सानैमा अभिभावक गुमाए। 

बाल्यकाल सम्झँदा उनी निकै भावुक हुन्छन्, ‘म जन्मेको ५ वर्षमा नै आमा बित्नुभयो। बुबा पनि ७ वर्षको छँदा जानुभयो। घरमा दिदी र म थियौं। बाआमाविनाको बाल्यकाल कस्तो होला, आफैं अनुमान लगाउनुस्। झन् दिदीको पनि सानैमा बिहे भयो। अनि त म एक्लै।’

उनको बाल्यकाल डन्डीबियो, हुतुतु र पाङ्गा लगायतका विभिन्न खेलहरू खेलेर बित्यो। बाल्यकालमा आफूले खेलेका ती खेलहरूका बारेमा अहिलेका पुस्ताले थाहै नपाउने अवस्था आएकोमा उनलाई दुःख लाग्छ।

आठ कक्षा पास गरेपछि हेडमास्टर

पोखरास्थित मौजारात्रि पाठशालाबाट आठ कक्षा पास गरेपछि उनी हेडमास्टर बने। 

चितवनको लोथर खोलादेखि उत्तरमा हुम्पुङ नाम गरेको एउटा गाउँ छ। त्यसै गाउँको धमगैरा प्राथमिक विद्यालयमा उनले हेडमास्टरको जागिर सुरू र डेढ वर्ष काम गरे।

एकातर्फ हेडमास्टरको रुपमा काम गरिरहेका बेला उनी अर्कातर्फ भरतपुरमा रहेको चितवन हाइस्कूलमा १० कक्षामा भर्ना भए। उनले सोही वर्ष एसएलसी पनि दिए। तर फेल भए।

‘हेडमास्टर भएर एसएलसीमा फेल हुनु पनि सानो असफलता त हैन नि,’ विगत सम्झँदै उनी भन्छन्। त्यो वर्ष फेल भए पनि उनले अर्को वर्ष एसएलसी पास गरेका थिए।

त्यो बेलाको सञ्चार 

कहिले हेडमास्टर, कहिले शिक्षक र कहिले सरकारी कर्मचारी भएर काम गरेका खनाल केही समय पत्रकार पनि भए। मातृभूमि नामक साप्ताहिक पत्रिकामा विरगंजमा रहेर उनले संवाददाताका रूपमा काम गरेका थिए।

विरगंजमा रिपोर्टिङ गरेर समाचार त बनायो तर समाचार काठमाडौं पठाउने कसरी? विरगंजबाट हुलाकमार्फत पठाएको समाचार १५ दिनपछि काठमाडौं पुग्थ्यो। अनि छापिंदा त समाचार बासी मात्र होइन मृत जस्तै हुने समस्या थियो। 

अहिलेको जस्तो न टेलिफोनको सुविधा थियो न सञ्चारका अन्य प्रभावकारी माध्यम नै उपलब्ध थिए। समाचार पठाउँदा सबैभन्दा छिटो माध्यम भनेको ‘आभा’ थियो।

आभा अर्थात् आकाशवाणी। जसमार्फत् छोटकरीमा समाचार पठाइन्थ्यो। बोल्नैपर्यो भने आभा केन्द्रमा गएर बोल्नुपर्ने हुन्थ्यो। र, त्यो बोली एकोहोरो हुन्थ्यो।

आफ्ना कुरा बोलिसकेपछि उताका कुरा सुन्नलाई ‌‘ओभर’ भनेर फोन राख्नुपर्थ्यो। अनि सँगैको फोन उठाएर उताबाट ओभर नभन्जुजेल उताका कुरा सुन्नुपर्थ्यो।

एकपटक विरगंजकै कुनै गाउँमा रहेको बैंकमा एउटा व्यापारी भारू साट्न पुगेका बेला खनाल पनि त्यही रहेछन्। ती व्यापारीले मागे जति भारू पाएनछन् र बैंकका कर्मचारीलाई हप्कीदप्की गर्न थालेछन्।

खनालले तीनै व्यापारीका बारेमा समाचार बनाए र मातृभूमिमा त्यो समाचार छापिएछ पनि। 

ती व्यापारीको पहुँच निकै ठूलो भएको खनाल सम्झन्छन्। उनलाई ज्यान जोगाउन विरगंज छाड्ने सुझाव आउन थाल्यो।

त्यसपछि उनले मातृभूमि साप्ताहिकको जागिर छाडे। उनको पत्रकारिता पनि बीचैमा टुङ्गियो।

मागी बिहे तर चिनेकै केटीसँग 

२२ वर्षको उमेरमा दमौलीकी केटीसँग उनको मागी बिहे भयो। उनकी दिदी बिहे गरेर दमौली पुगेकी थिइन्।

उनी दिदी भिनाजुलाई भेट्न दमौली जाने आउने गरिरहन्थे। त्यसरी जाने आउने गर्दा भिनाजुकै नाता पर्ने एक जनाले उनलाई एक दिन अचानक सोधे, ‘बाबु बिहे गर्ने इच्छा छैन?’

जवाफमा उनले आफ्नो घर पनि नभएको र जग्गा जमिन किन्न पनि नसकेको अवस्था बताए। तर ती बुज्रुगले यो समयक्रमसँगै हुँदै जाने कुरा हो, बाबुको उमेर छिप्पिसक्यो भनेर उनलाई आफ्नी छोरीसँग विवाह गर्न प्रस्ताव राखे।

उनीकी छोरीलाई त खनालले पहिल्यैदेखि भेटेका रहेछन्, दिदीकोमा गएका बेला। उनीहरूबीच राम्रै परिचय थियो। तर मागी बिहे भयो।

शिक्षकको दरबन्दीमा पेन्सन बुझ्ने प्रोफेसर

अंग्रेजी भाषाका शिक्षक उनी ट्युशन पनि पठाउँथे। कमाई राम्रै थियो। पैसामात्र कति कमाउनु, समाजमा प्रतिष्ठा पनि कमाउनुपर्छ भनेर उनले चितवनमै निजी क्याम्पसको अवधारणा बनाए।

केही साथीहरूको साथ दिएपछि सप्तगण्डकी बहुमुखी क्याम्पसका रुपमा उनको अवधारणले मूर्तरूप लियो। उनीले सोही क्याम्पसमा क्याम्पस प्रमुख भएर पनि काम गरे।

उनी शिक्षण पेशालाई समाज सेवाकै अभिन्न अंगका रूपमा लिन्छन्। प्राध्यापक भएर केही क्याम्पसहरूमा पढाएको भएपनि उनले पेन्सन भने हाई स्कूलको दरबन्दीबाट नै शिक्षकका रुपमा बुझ्ने गरेका छन्। 

साहित्यकारका रुपमा खनाल

लगभग ३० वटा पुस्तक निकालिसकेका खनाल साहित्यकारका रूपमा पनि चर्चित छन्।

अंग्रेजी भाषाका ज्ञाता भएकाले अंग्रेजी साहित्यका विश्वविख्यात पुस्तकहरूलाई नेपाली पाठकसम्म पुर्याउन उनले अनुवाद साहित्यमा पनि हात हालेका छन्। अहिलेसम्म उनले १५० भन्दा बढी कथा लेखिसकेका छन्। 

२०६४ सालमा काठमाडौं आएर साहित्यलाई थप अगाडि बढाउँदै लगेका खनालले विस्तारै पुस्तकहरू निकाल्न थाले। उनले लामो समय साझा प्रकाशनमा डाइरेक्टर भएर पनि काम गरे।

उनी साहित्यलाई जीवनको कथा ठान्छन्। उमेरसँगै सिर्जना शक्ति ह्रास हुँदै जाने कुरामा उनी विश्वास गर्छन्। 

नेपाली वर्तमान साहित्यको बारेमा उनी भन्छन्, ‘पहिलेको तुलनामा नेपाली साहित्य त धेरै नै खस्किएको छ। अहिले त एउटा रचना लेख्यो कि फेसबुकमा पोस्ट्याई हाल्छन्। सामाजिक सञ्जालले साहित्यलाई फिका बनाउन मद्दत गरेको छ।’

४ फागुन, २०७९, १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।