टिकटकले गिज्याएको महोत्सव

टिकटकले गिज्याएको महोत्सव

अत्तरियाको सुदूरपश्चिम महोत्सवमा लोक गायक पुस्कल शर्मा स्टेज चढे। वियोगी गीत गाएर प्रशंसक रुवाउन सिपालु उनले ‘आउँछौं आउँदिनौं...’ बोलको गीत गाए। युवतीहरूको एक समूह सँगै गीत गाउन थाल्यो। त्यसैमध्येकी एक युवतीले आफूलाई सम्हाल्नै सकिनन्। ग्वाँ–ग्वाँ रुन थालिन्।

‘पुस्कलले त्यसरी रुन हुँदैन है बहिनी’ भनेर स्टेजबाटै सम्झाए। उनको रुवाइ झनै चर्को भयो। कसैले उनको रुवाइ खिचेर सामाजिक सञ्जालमा राखिदियो। शर्मा स्वयंले पनि टिकटकमा भिडियो पोष्ट गरे। भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। शर्माको फ्यान ती युवती भाइरल भइन्, केहि युट्युब च्यानलमा अन्तरवार्तासमेत आयो।

टीकापुर महोत्सवमा गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी...’ बोलको गीत गाइन्। थेग्नै नसक्ने दर्शकको भीडमा केहि युवतीको समूहले एलिनासँगै गीत गाउन थाल्यो। त्यसै मध्येकी एक युवतीले ज्यान नै चुँडिएला झैँ गरी गाउन थालिन्। दर्शक छेक्न बनाइएको कमजोर बार ती युवतीलाई थेग्न नसकेर भत्केला जस्तो भयो।

युवती थाकेको देखेर एक अधबैंशे पुरुषले पानी पिउन भन्दै दिए तर गीतमा डुबेकी उनले अस्वीकार गरिन्। शरीरमा बल सकिएर लखतरान हुँदासमेत उनको आवाज रोकिएन। यो पनि पहिलो घटना जस्तै सामाजिक सञ्जालमा भाइरल बन्यो।

त्यसैगरी अर्को भिडियो पनि सञ्जालमा देखियो। भद्रगोल व्यवस्थापनका बीच कसैको काँधमा चढेर क्यामरातिर हेर्दै एक पुरुषले अनेक हर्तक गरिरहे। प्रहरी त्यो सबै रोक्न प्रयास गरे पनि सफल भएन। अन्त्यमा नसकेपछि हाँसेर फर्किएको दृश्यसमेत सञ्जालभर व्याप्त छ।

आयोजकले दर्शकको सुरक्षामा देखाएको लापरबाही सञ्जालमा बाहिरिएका यी भिडियोहरूमा प्रष्ट देखाएको छ। यी त भए दर्शकका कुरा। अब कलाकारतर्फ लागौं।

एक वर्षअघि पथरी महोत्सवमा गीत गाउँदा–गाउँदै गायक प्रमोद खरेल स्टेजबाट लडे। उनी गीत गाउँदै पछाडी सरेका थिए, स्टेज तयार पार्दा कुनामा २ फुट ‘ग्याप’ थियो। उनी स्टेजबाट झण्डै ५ फिट तल कंक्रिटको संरचनामा खसे। यो भिडियो पनि सामाजिक सञ्जालमा धेरै हेरियो।

गायक राजेश पायल राईले पाल्पाको एक महोत्सवमा गीत गाउँदा–गाउँदै स्टेज नै तल झर्यो।

युवा पुस्तामाझ चर्चित र्यापर भिटेनले स्टेजमा गाइरहँदा दर्शकदिर्घाबाट ढुंगा प्रहार भयो। यो घटनाले मानसिक रूपमा विक्षिप्त भएका उनले स्टेजमै करेन्ट लगाएर आत्महत्या गर्न खोजे। त्यो घटनाले आफ्नो दिमागमा परेको असरबारे उनले धेरै अन्तरवार्तामा सुनाए। 

झण्डै ४ महिना अघि मात्रै अर्का र्यापर जीबबलाई पनि ढुंगा प्रहार भयो।

एक महिना अघिमात्रै प्रथम सिद्धार्थनगर सांस्कृतिक मेलामा गायक दुर्गेश थापाले गीत गाइरहँदा दुई पक्षबीच झडप भयो। ‘कि दुर्गेश जेलमा, कि दुर्गेश रेलमा’भन्ने गीत गाइरहँदा भीड भड्किएर कुर्सी ठोका–ठोक गरेको भिडियो युट्युबमा अहिले पनि सजिलै भेटिन्छ।

टिकटकले देखाएको महोत्सव
क्यामरा जता, उतै हेरेर गरेका अस्वभाविक अभिनय, रुवाइ, बोतलको पानी खन्याउने, बीचमा उठेर नाच्ने, धकेल्ने, लडाउने, भीडमा काँधमा बोकेर अनौठा हर्कत गर्ने दृश्य मेला–महोत्सव गइरहने मानिसका लागि सामान्य होलान्। तर यी हर्कतहरू महोत्सवको मापदण्ड विपरीत हुन्।

अहिले यहि महोत्सव आयोजकको अव्यवस्थित व्यवस्थापन सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। महोत्सवमा भिडियो बनाउन अभ्यास गरेको भन्दै टिकटकमा अहिले अनेकौं भिडियो आएका छन्।

कोहि खाल्टोमा खस्न खोज्ने, कोहि अल्लो रुखमा चढेर हल्लने, कोहि गेटमाथि चढेर हामफाल्न खोज्ने, कोहि भर्याङबाट हामफाल्न खोजेजस्तो गर्ने लगायतका अभिनयले टिकटकमा लाखौं भ्यूज बटुलिरहेका छन्। महोत्सवमा दर्शकले गरेका हर्कतका पुराना भिडियोहरू पनि सञ्जालमा उत्तिकै चर्चामा छन्।

मेला महोत्सवको मापदण्ड छैन एकनास
सामाजिक सञ्जालमा यस्ता भिडियो देखिनु दुःखद् भएको स्वयं आयोजकहरू नै बताउँछन्। नेपालभर मेला महोत्सव आयोजना गरिसकेको कम्पनी एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालिका सदस्य सुरेश गौतम महोत्सवहरूको एकनासको मापदण्ड नहुँदा समस्या भएको बताउँछन्।

उनी भन्छन्, ‘हामीले धेरै ठाउँमा कार्यक्रम गर्यौं, विभिन्न टुरवाला कार्यक्रम पनि गर्यौं तर एकनासको महोत्सव मापदण्ड कतै पाएनौं।’

महोत्सवको स्टेजदेखि आउने दर्शकसम्मको जिम्मेवारी आयोजकले लिनुपर्ने भए पनि प्रशासनका प्रहरी खटाउन कन्जुस्याइँ गर्ने गरेको उनको गुनासो छ।

‘भीडमा फरक प्रकृतिमा मानिस आउँछन्, मदिरा बेच्न  निषेध गरे पनि महोत्सवमा मदिरा सेवन गरेर दर्शक छिर्ने र होहल्ला गर्ने हुनसक्छ,’ उनी थप्छन्, ‘महोत्सव जति नै भव्य भए पनि चाहिनेजति प्रहरी खटाउन सम्बन्धित निकायले आनाकानी गर्छ।’

बहस हाेइन सेलिब्रेसनमा व्यस्त आयाेजक
सार्वजनिक मेला महोत्सवमा जुवातास खेल्न र खेलाउन नपाइने, गैरकानूनी क्रियाकलाप गर्न नपाइने, ध्वनी प्रदुषण, लैंगिक हिंसा, अश्लिल गतिविधि गर्न नपाइनेलगायतका मापदण्ड छन्। तर यसको पालना र कार्यन्वयनमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन।

सामाजिक सञ्जालमा भाइरल भएका भद्रगोल महोत्सव र त्यहाँ घटेका घटनाका विषयमा आयोजकलाई सोध्दा उनीहरूसँग यसको जवाफ छैन। उनीहरू यस विषयमा वहस नै गर्न चाहँदैनन् बरु महोत्सव सफल भएको भन्दै खुसी साटिरहेका छन्।

मेला–महोत्सवमा बालबालिका, महिला, जेष्ठ नागरिक सबैको जमघट हुन्छ। हो–हल्ला, झै–झगडा हुँदा उनीहरू भाग्न सक्दैनन्। उनीहरूको सुरक्षा आयोजकको पहिलो प्राथमिकता हुनुपर्नेमा त्यसमा आयोजक चुकेका छन्। यस विषयमा न आयोजकको ध्यान गएको देखिन्छ न त स्थानीय वा सुरक्षा निकायकै।

२४ माघ, २०७९, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।