वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको पुष्टि

वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको पुष्टि

सुर्खेत : दोहोरो नागरिकता लिएका वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिका सदस्य नवराज गुरुङलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले दोषी ठहर गरेको छ।

कार्यपालिका सदस्य गुरुङले दोहोरो नागरिकता लिएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा उनी दोषी देखिएकाे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदम लामिछानेले जानकारी दिए।

६ महिना लामो अनुसन्धानपछि प्रशासनले गुरुङलाई दोषी ठहर गरेकाे हाे।

गुरुङले जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट २०४५ पुस २८ गते ११८७५ नम्बरको पहिलो नागरिकता र २०४९ साउन २१ गते १७१२२ नम्बरको दोस्रो नागरिकता लिएका थिए। दोषी ठहर भएका उनकाे दोस्रो पटक लिएको नागरिकताको प्रमाणपत्र रद्द गरेर जरिवाना ताेकिएकाे छ।

प्रशासनले गुरुङले २०४९ साउन २१ गते लिएको १७१२२ नागरिकता प्रमाणपत्र रद्द गरी नेपाल नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ९ को ५ बमोजिम जरिवाना गरेको जनाएको छ। गुरुङलाई प्रशासनले पाँच हजार जरिवाना तोकेको हाे।

नेपाली कांग्रेसका तर्फबाट कार्यपालिका सदस्यका उम्मेदवार यामबहादुर विकले गुरुङले दोहोरो नागरिकता लिएको भन्दै असार २ गते उजुरी दिएका थिए। उजुरीमा दोस्रोपटक लिएको नागरिकताको आधारमा गुरुङले कार्यपालिका सदस्यमा उम्मेदवारी दिएको उल्लेख गरिएको छ।

प्रशासनको आदेशमा भनिएको छ, ‘यस कार्यालयबाट दोस्रो पटक जारी भएको नेपाली नागरिकताको प्रमाण–पत्र रद्द गरी नेपाल नागरिकता ऐन, २०६३ को दफा २१, ९, ५ बमोजिम जरिवानासमेत गरी रद्द भएको ब्यहोरा नेपाल नागरिकता नियमावली, २०६३ को नियम १२ (ग) बमोजिम सरोकारवाला सम्पूर्ण निकायमा जानकारी गराउनू।’

१६ माघ, २०७९, २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।