सुकुम्बासी आयाेगले नबाँडेकाे बुटवलको ११ कठ्ठा ५ धुर सार्वजनिक जग्गा कसरी पुग्याे व्यक्तिको नाममा?

सुकुम्बासी आयाेगले नबाँडेकाे बुटवलको ११ कठ्ठा ५ धुर सार्वजनिक जग्गा कसरी पुग्याे व्यक्तिको नाममा?

बुटवल : सार्वजनिक जग्गा भु–माफियाहरूले लालपुर्जा बनाएर बेचविखन गर्न लागेको समाचार बाहिरिएसँगै बुटवलमा अन्य सार्वजनिक जग्गा पनि व्यक्तिका नाममा पुगेको पाइएको छ।

बुटवलको वडा नं ११ मा ११ कठ्ठा ५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको हो। वडा नं. ११ को कित्ता नं १९९ को ७ कठ्ठा तथा कित्ता नं १८७ को ४ कठ्ठा ५ धुर गरी ११ कठ्ठा ५ धुर आंकडा जग्गा बेचबिखन गरेको पाइएको हो।

बुटवल उपमहानगरपालिका ७ दिप नगरमा बस्दै आएकी पार्वती पाण्डेले जोतभोग गर्दै आएको भए पनि उक्त आंकडा जग्गा कृष्ण भुसाल जैसीका नाममा लालपुर्जा बनाएर बेचविखन भइरहेको छ।

बुटवल वडा नं. ११ का वडा सदस्य नकुल शाहीले वर्षाैंदेखि भुसाल लगायतले नक्सा तयार गरी बेचबिखनको तयारी गरेको अवस्थामा फेला परेपछि आफूहरू मालपोत कार्यालय पुगेको बताए।

जग्गाको जोतभोगको सिफारिस गर्दै आएको पाँचमौजा तपाह सिंचाइ व्यवस्थापन समितिले २०७१ सालमा उक्त ११ कठ्ठा ५ धुर जग्गा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने भविश्वर पाण्डेकी छोरी पार्वती पाण्डेले जोतभोग गर्दै आएको प्रमाणित गरेको छ।

जोतभोगको प्रमाणित गर्ने सिंचाइ व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रेश्मी हाल बुटवल उप–महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष छन्। उक्त जग्गा पाण्डेले २०६३ सालमा हरिकला भुसालबाट घरसारको कागज गरी लिएको र पैसाबापत जग्गा बेचबिखन गरेको जानकार स्थानीयले बताए।

२०७२ सालमा बुटवल उपमहानगरपालिकाले समेत उक्त जग्गाको फिल्ड बुकमा रुद्रप्रसाद शर्माको नाममा दर्ता भएको र निजको मृत्यु पश्चात श्रीमती हरिकला भुसालले घरसारमा पैसा लिई पार्वती पाण्डेलाई बेचबिखन गरेको भन्दै बुटवल उपमहानगरपालिका–सैनामैना नगरपालिका अन्तरगत बहाल बिटौरी, आंकडा लगत बमोजिम जग्गा दर्ता समिति २०७२ लाई सिफारिस समेत गरेको छ।

यसरी सिफारिस भएको बुटवल उपमहानगरपालिका साविक वडा नं १३ (हाल वडा नं ११) को कित्ता नं १९९ र १८७ नम्बरको उक्त जग्गाको लालपुर्जा भने २०५१ सालमा सुकुम्वासी समस्या समाधान आयोगबाट कृष्णप्रसाद जैसीको नाममा निकालेको देखिन्छ।
उक्त लालपुर्जा आयोगका तत्कालिन अध्यक्ष भोजप्रसाद श्रेष्ठको हस्ताक्षरमा जारी भएको देखिन्छ।

तर भुमाफियाहरूको सो समूहले २०७२ सालमा दर्ता गरेको उक्त जग्गामध्ये कित्ता नं १९९ को लालपुर्जाको गएको पुस ९ प्रतिलिपी निकालेर पुस १० गते बुटवल १४ (साविक मोतीपुर ७ सेमलार) की लक्ष्मी न्यौपानेलाई बेचबिखन गरी लालपुर्जा बनाएको देखिन्छ।

मालपोत भन्छ–खोजी गर्दैछौ
मालपोत कार्यालय बुटवलले भने यस विषयमा खोजी भइरहेको बताएको छ। उनीहरूले लिएको उक्त लालपुर्जाको अभिलेख मालपोत कार्यालय बुटवलमा नदेखिएको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत उपेन्द्रराज पौडेलले बताए। आकंडा उल्लेख भएको जग्गा कसले कसरी लालपुर्जा बनायो भन्नेबारे खोजी गरिरहेको उनले बताए।

‘हामीले कार्यालयका अधिकृत घनश्याम अर्यालको नेतृत्वमा टोली नै बनाएर अनुसन्धान गर्ने काम गरी रहेका छौं,’ उनले भने, ‘अर्यालजीको टोलीले दिएको प्रतिवेदन के आउँछ हेरौं।’

उपमहानगरपालिकालाई कर
मालपोत कार्यालयको अभिलेखमा नदेखिएको उक्त जग्गाको बुटवल उप–महानगरपालिकाले करसमेत लिएको देखिन्छ। २०७२ सालमा कृष्णप्रसाद जैसीले प्रतिलिपि निकालेको उक्त लालपुर्जा पेश गरेर बुटवल उप–महानगरपालिकाबाट आर्थिक वर्ष २०७९÷०८० को समेत भुमी कर भुक्तानी गरेका छन्। २०७९/०८०को उक्त जग्गाको भूमी कर एकमुष्ट ४ हजार ४ सय २८ रूपैयाँ भुक्तानी गरेको भएको देखिन्छ।

वडा अध्यक्ष र तत्कालीन आयोगका अध्यक्ष श्रेष्ठ के भन्छन्?
बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले उक्त भोजप्रसाद श्रेष्ठ नेतृत्वको सुकुम्वासी आयोगले बुटवल ९ ग को कुनै पनि कित्ताको लालपुर्जा वितरण नगरेको बताए।

बुटवलमा आंकडा, बहाल बिटौरी र कोदाले जग्गामा बस्नेहरूको संख्या अत्याधिक रहेको छ भने वडा नं ११ बुद्धनगर र मोतिपुर क्षेत्रमा बसोबास गर्ने अधिकांश बासिन्दाको जग्गा आंकडा प्रकृतिको जग्गा रहेका छन्।

तत्कालीन सुकुम्वासी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठले समेत आफूले उक्त क्षेत्रको जग्गाको लालपुर्जामा हस्ताक्षर नगरेको र उक्त हस्ताक्षर समेत आफ्नो नभएको दाबी गरे।

११ माघ, २०७९, ०८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।