मानवनिर्मित चमकधमकले छपक्क छोपिँदै भक्तबहादुरलाई ‘सरुभक्त’ बनाएको प्राकृतिक पोखरा

मानवनिर्मित चमकधमकले छपक्क छोपिँदै भक्तबहादुरलाई ‘सरुभक्त’ बनाएको प्राकृतिक पोखरा

पोखरा अहिलेजस्तो ठूलो थिएन। मोरिया टोल, गणेश टोल, रामकृष्ण टोल जस्ता सानासाना नेवारी टोल मिलेर बनेको चिटिक्कको थियो। न ठूला कंक्रिटका घर थिए, न त अहिलेजस्तो घनाबस्ती।

यतिसम्म कि, भक्तबहादुर श्रेष्ठ ओछ्यानमा सुतीसुती माछापुच्छ्रे र अन्नपूर्ण हिमाल हेर्न पाउँथे। त्यहि पोखराको सुन्दरतामा मन्त्रमुग्ध भएरै उनले सयौं कविता लेखे, पागल बस्तीजस्ता उपन्यास लेखे अनि भक्तबहादुरबाट ‘सरुभक्त’ भए।

तर, अहिले पोखरा फराकिलो बन्दै गएको छ। जति पोखरा फराकिलो बन्दै छ, उति प्राकृतिक सुन्दरता कम हुँदैछ। आफैँ सुन्दर पोखरा मानवनिर्मित चमकधमकले छोपिन थालेको छ। सुन्दर डाँडामा साहसिक खेल खेल्ने मानवनिर्मित प्रविधि बनेको छ, सिसाको पुल, सिमेन्टको हातदेखि शिवको ठूलो मुर्ति बनेका छन्। मन्दिरहरू थपिएका छन्। पहिले हरियो जंगलले ओगटेको डाँडाहरूमा अब होटल र रेष्टुरेन्ट देखिन थालेको छ।

आकाशमा चराभन्दा धेरै अल्ट्रालाइट र प्यारासुट उड्छ। फेवाताल साँघुरिँदै गएको छ। चमेराहरू चमेरे गुफाबाट बसाईँ सर्दैछन्। गुप्तेश्वर गुफा अब ‘गुप्त’ रहेन, दिनमै हजार मानिस ओहोरदोहोर गर्छन्। पातले छाँगा ‘डेभिड फल्स’ बनेको छ र शहरको भिडमा हराएको छ। सेती गण्डकी लुकेजस्तै पोखरामा प्रकृतिले सुन्दरता लुकाउँदै गएको आभास हुन्छ।

सरुभक्तलाई प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा कंक्रिट थुप्रिएको पटक्कै मन परेको छैन। जलवायु परिवर्तनले पोखराको वातावरणमा पनि अप्ठ्यारो पारेको छ। सेती गण्डकी किन भासिँदै गयोे? पोखराले के कति कंक्रिटको भार थेग्न सक्छ? घना बस्तीको लागि पोखरा सुरक्षित छ या छैन? यी र यस्ता जिज्ञासाबारे अनुसन्धान भएको छैन।

पुरानो दिन सम्झँदै सरुभक्तले भने, ‘पहिले हाम्रै बारीमा बाघ आउँथ्यो र घरपालुवा जनावर मारेर खान्थ्यो। गिद्धहरू आउँथे र एक आपसमा झगडा गर्थे। स्याल कराउँथ्यो। म युवा हुँदा सराङकोटबाट जंगलै जंगल देखिन्थ्यो तर अहिले काठमाडौं जस्तै घरैघर देखिन्छ। पुरानो पोखराको सुन्दरता मेटिँदै गएको छ। अहिले नै सावधान नभए भोलि जे पनि हुनसक्छ।’

भोटेको हातको त्यो नुनिलो चिया
पोखरा बागबजार, सेती गण्डकीको बगरमा जन्मिए सरुभक्त।

२ सय वर्षअघि, एक शाहवंशीय राजाले काठमाडौं, भक्तपुर र ललितपुरका २६ पुरिया नेवार बोलाएर व्यापार गराएका थिए रे। सरुभक्त सानो हुँदादेखि नै बाबुबाजेले व्यापार गरेको देखे।

उनले भने, ‘पहिले त नेवारले मात्रै व्यापार गर्थे पोखरामा। अहिले त नेवारभन्दा अन्य जातका व्यापारी बढि छन्।’

बाल्यकालको यादमा सरुभक्तको मस्तिष्क ओगट्नेमा भोटका भोटेहरू धेरै भए। उपल्लो मुस्ताङका भोटेहरू खच्चर, गधा र घोडा चढेर हिउँद छल्न पोखरा झर्थे। सेती गण्डकीको बगरभरी उनीहरू डेरा जमाएर बस्थे।

स्याउ जस्ता राता गाला भएका भोटिनी अनि बलिया भोटेहरू। बक्खु लगाएर हिड्ने तिनै भोटका मानिसहरूबारे सरुभक्तले नाटक तयार पारे थाङ्ला। बहुपति प्रथाबारे बनेको उनको नाटक यहि बालमस्तिस्कमा बसेको सम्झनाको उपज हो।

भोटेहरूबाट छुट्टै खालको भोटको बास्ना आउँथ्यो। जुन बास्नाले सरुभक्त अहिले पनि लठ्ठन्छन्। सरुभक्तको जिब्रोमा बाल्यकालमा झुण्डिएको स्वाद पनि उहि भोटे चिया।

चौंरीको घिउ, भोटको नुन र बिभिन्न जडिबुटी मिसाएर बनाएको नुनिलो भोटे चिया अहिले पनि उनलाई खाउँ–खाउँ लाग्छ, तर बनाएर दिन भोटेहरू पोखरा झर्दैनन्।

पोखराको पानी पिएका सरुभक्त
विगतमा हराउँदा सरुभक्त केहि समय मौन रहे।

एकछिन गम्दै उनले भने, ‘लेकसाइड भनेका ठाउँमा अहिले जति पनि बिल्डिङ ठडिएका छन् नि! ति सबैमा पहिले फेवाताल थियो। मैले थाहा पाउँदा मात्रै पनि फेवाताल निकै ठूलो थियो।’

पोखराका नेवारहरू, दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको दिन फेवातालमा भेला हुन्थे। त्यहाँ मेला लाग्थ्यो। बागबजारदेखि हिँडेर सरुभक्त फेवातालको मेलामा जान्थे।

अनुहार हँसिलो बनाउँदै उनले भने, ‘दशैंमा किनिदिएको नयाँ लुगा लगाएर ठाँटिएर मेला जान्थ्यौं। आमाहरूले रातिदेखि खानेकुरा तयार पारेर बोक्नुहुन्थ्यो, अहिलेजस्तो होटल थिएन। डुङ्गा चढेर तालबाराही मन्दिरमा दर्शन गर्थ्यौं। फर्केर आएपछि फेवातालको किनारामा बसेर खाना खान्थ्यौं। फेवातालको पानी पिउँथ्यौं।’

हँसिलो अनुहार मलिनो बनाउँदै उनले भने, ‘भोलिको पोखराबारे मलाई धेरै चिन्ता लाग्छ। पछिल्लो पुस्तालाई पोखराको सुन्दरता के देखाउने होला भन्नेबारे म चिन्तित छु तर पोखरा बचाउने अभियानमा लागेकाहरू चिन्तित देख्दिन। विनाअनुसन्धान कंक्रिट थुप्रिरहेको छ। गुफा, खोल्छा र भित्र खोक्रो भएको पोखरामा यस्ता कंक्रिटहरू कत्तिको फाइदेमन हो भन्नेबारे हर्क गुरुङबाहेक अरुले सोधखोज गरेको थाहा छैन।’

‘नारीवादी बहिनीलाई ‘तरुनी खेती’ बोक्न लाज लागेछ’
सरुभक्तले कथा, कविता, नाटक र उपन्यास विधामा कलम चलाए। उपन्यास पागलबस्तीका कारण मदन पुरस्कार समेत जिते। तर, उनले लेखेको अर्को उपन्यास ‘तरुनी खेती’ले भने नारीवादीहरूलाई अप्ठ्यारो बनाएछ।

‘तरुनी खेती’ पुस्तक प्रकाशन भएपछिको अनुभव बाँड्दै उनले भने, ‘किताब प्रकाशन भएपछि एक नारीवादी समूहले पुस्तकको चर्चा गर्ने भनेर मलाई बोलाए। सबैले तरुनी खेती भन्ने शिर्षकतिर मात्रै ध्यान दिएछन्, भित्र के लेखेको छ भन्नेबारे कमै ख्याल गरेछन्।’
एक जना चर्चित नारीवादी बहिनी बबिता बस्नेत पनि कार्यक्रममा आएकी थिइन्।

सरुभक्तले गम्दै भने, ‘ती नारीवादी बहिनीले, टेम्पोमा किताब देखाउँदै आउँदा सबैले नराम्रो नजरले हेरे भन्ने खालको अभिव्यक्ति दिनुभयो। उहाँलाई मैले अझै पोष्टर बनाएर टाँसेर देखाउनुस् किनभने यसको भित्र नारीको खेती कसरी भइरहेको छ भन्नेबारे लेखिएको छ भनें।’

टेप रेकर्डरमा बन्दुकको आवाज ट्याक्क–ट्याक्क आएपछि...
विद्यालयमा सधैं प्रथम भए उनी। तर एसएलसी दिएपछि भने उनलाई जाँच दिनै मन लागेन। खै किनकिन, कलेज भर्ना भएर पढ्ने तर जाँच नदिने गर्दै हिँडे उनी।

कहिले विज्ञान संकायमा पुगे, कहिले अर्थतिर मोडिए त कहिले मानविकीतिर होमिए। सबै विषय अध्ययन गरेकाले जीवन बुझ्न सजिलो भएको उनी बताउँछन्। उनलाई पढ्न मन लागेको विषय दर्शनशास्त्र थियो तर त्यो पाएनन्, त्यसैले पनि उनी विभिन्न विधातिर होमिए। गणीत भने उनको फेवरेट विषय कहिल्यै बनेन।

उनी कहिले पोखरा त कहिले काठमाडौंमा रुमल्लिए। अब भने पूर्ण रूपमा पोखरा सरेका छन्। पोखरामा रंगमञ्च तयार पार्न पापड बेल्नेमा एक सरुभक्त पनि थिए।

एकांकी, पुर्णाकी हुँदै भाषण गर्ने ठाउँलाई नाटक घर बनाएका हुन् सरुभक्तको समूहले।

उनले विगत सम्झँदै भने, ‘त्यो समयमा मेकअप गर्ने मानिसहरू समेत हुँदैनथे। एकपटक मेकअप गर्ने मानिसको खाँचै पर्यो। दुर्गा बराल ‘बात्सायन’ चित्र बनाउने। हामीले उनलाई नै अनुहारमा रंग पोत्न लगायौं र नाटक गर्यौं। उहाँ लामो समयसम्म हाम्रो मेकअप म्यान बन्नुभयो।’
संगीतका लागि निकै समस्या थियो। एउटा टेप रेकर्डर प्रयोग हुन्थ्यो।

उनले विगत सम्झँदै भने, ‘२०३६ सालतिर होला, लाहुरे सम्बन्धी नाटक गर्नुपर्ने भयो। जसमा लडाइँको दृश्य थियो। लडाइँका लागि बन्दुकको आवाजको आवस्यकता पर्यो। महेन्द्र पुलपारी एउटा ब्यारेक छ। मणिपाल अस्पताल भएको ठाउँमा आर्मीले तारो हान्ने (प्राक्टिस गर्ने) ठाउँ थियो। हामी कलेज जाँदा सधैं त्यहाँ सैनिकले गोली हानेको आवाज आउँथ्यो। हामी कान र आँखा दुवै टाठो बनाउँथ्यौं।’

लाहुरेसम्बन्धी नाटक गर्ने भएपछि कर्णेलको अनुमति लिएर आवाज रेकर्ड गर्न गएको सम्झए उनले।

‘म र विक्रम रेकर्ड गर्न गएका थियौं। राइफल पड्काएर दननन् दननन् आवाज निकाल्यो सैनिकले। आवाज निकै ठूलो थियो। सुरुमा त डरले कानै थुन्न परेको थियो। हामीले पनि नजिकै टेप रेकर्डर राखेर रेकर्ड गर्यौं। के–के न गर्यौं भनेर त्यो दिन धेरै खुसीसँग बित्यो। भरे घर आएर सुनेको त ट्याक्क–ट्याक्क मात्रै गर्छ। घननन् घन्केको त वरपरको पहाडको आवाज रैछ।’

उनले हाँस्दै भने, ‘भ्वाइलेन थिएन, अर्को कुरा। एकजना कलाकार भने हुनुहुन्थ्यो, अर्जुन दाइ। उहाँले भ्वाइलेन त बनाउनुहुन्थ्यो तर बजाउन आउँथेन।’

जर्मनबाट आएका एक पर्यटकलाई भ्वाइलेन बजाउन लगाएर गीत रेकर्ड गरेको पनि उनलाई अझै याद छ।

‘हामीले जर्मनको केटोलाई एउटा विद्यालयमा राखेर धेरै मेहनत र परिश्रम खर्चेर भ्वाइलेन बजाउन लगायौं र गीत रेकर्ड गर्यौं। यी कुराहरू अहिले सजिलै फेला पार्न सकिन्छ तर हाम्रो समयमा यो निकै अमूल्य थियो,’ उनले सुस्केरा हाल्दै भने, ‘त्यो समयमा दुःख पनि थियो र त्यहि दुःखमा आनन्द पनि।’

१८ पुस, २०७९, ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।