‘द पोएट आइडल’ न पूरै कविता सुन्न पाइन्छ, न त कविताको शीर्षक नै थाहा पाउन

‘द पोएट आइडल’ न पूरै कविता सुन्न पाइन्छ, न त कविताको शीर्षक नै थाहा पाउन

काठमाडाैं। सुरूवाती अवस्थादेखि नै विवादित देखिएको ‘द पोएट आइडल’काे फिजिकल अडिसन भर्खरै-भर्खरै प्रशारण भइरहेको छ। यो नेपालको आफ्नै पहिलो रियालिटी सो पनि हो। अमनप्रताप अधिकारीको निर्देशन तथा व्यवस्थापनमा रहेको यस कार्यक्रमको निर्णायकमा कविहरू उपेन्द्र सुब्बा, विप्लप प्रतीक, अनुप बराल र सुरक्षा पन्त रहेका छन्।

यस कार्यक्रममा निर्णायकलाई कुनै कविको कविता मन पर्याे भने निर्णायकहरूले प्रतियोगीले कविता वाचन गरी सकेपछि घण्टी बजाउँछन्। पहिलो र दोस्रो घण्टी बजेर मात्रै कुनै प्रतियोगी दोस्रो राउन्डमा पुग्दैन। उसलाई अर्को राउन्डमा पुग्न तीन जना निर्णायकले घण्टी बजाउनु पर्छ।

यो आइडलको सुरुवात एक झापाली कविबाट हुन्छ। उनको कविता सिधै सुरू हुन्छ, 
‘म चाहन्नँ तर म पाउनेछु।
तर चाहन्नँ म अवश्य अंगाल्नेछु
पाउने आशा त्याग्नेछु
पाइसकेका सबै छाड्नेछु
म चाहन्नँ तर म पाउनेछु।’

उनले वाचन गरेको कविता यत्ति हो। न शीर्षक छ। न पूरा कविता छ। सुन्ने पाठक नै अल्मलिन्छ कि उनले के भन्न खोजेका हुन् र उनी के अर्थमा कविता भनिरहेका छन् भनेर। केही मेलोमेसो नपाइ उनको कविता सकिन्छ। जे होस् उनी अघिल्लो राउन्डमा पुग्दैनन्। उनको लागि एक घण्टी मात्रै बज्छ।

यस्तै दोस्रो वाचन गर्ने कवि गोविन्द रेग्मी तनहुँका हुन्छन्। उनले छन्द कविता वाचन गर्छन्। उनको कविताको शीर्षक ‘विद्यादान’ हुन्छ। उनले पनि पूरा कविता वाचन गर्दैनन्। जे होस् उनी दोस्रो राउन्डमा पुग्छन्।

अर्का ‘हरियो पासपोर्ट’ नामक शीर्षकको कविता वाचन गरेका कवि एकराज थापाको शैली कताकता नवराज पराजुलीको जस्तो देखिन्छ। उनी सेलेक्ट भएसँगै अर्का एक कविको वाचन सुरु हुन्छ। उनको कविता पनि बिना शीर्षक सुरु हुन्छ। उनको कविताको अंश पनि पूरा नभए जस्तै लाग्छ।

यसरी अर्की कवि पिंकी बोहोराको कविता पनि बिना शीर्षक नै सुरु हुन्छ। उनले कविता भनेको हो कि गीत गाएको हो बुझिदैन। जे होस् उनी पनि अर्को राउन्डमा पुग्छिन्। उनी माथि निर्णायकको प्रतिक्रिया खासै सुनिदैन।

त्यसपछि अर्का उज्ज्वल घिमिरेको कविता सुरु हुन्छ। उनको कविता भव्य जस्तो सुनिन्छ। उनको कविता पनि पूरै वाचन गरिए जस्तो लाग्दैन।

उनको कविता माथि उपेन्द्र सुब्बाले टिप्पणी गर्दै भन्छन्, ‘तपाईं कम कविता पढ्नु हुँदो रहेछ।’ यति मात्र होइन उनले थप भन्छन्, ‘तपाईं कम कविहरूको संगतमा हुनुहुँदो रहेछ।’ यसरी एउटा प्रख्यात कविको कच्चा टिप्पणी जस्तो लाग्ने यो वाक्यले धेरै पढ्दा र धेरै साहित्यिक मान्छेको संगत गर्दा मात्र कवि भइने बताउन खोजेको हो कि जस्तो लाग्छ। 

उनको कविता निर्णायकले नरुचाए पछि होस्टको आग्रहमा उनले फेरि कविता वाचन गर्ने अवसर पाउँछन्। फेरि उनी माथी उपेन्द्र सुब्बाको टिप्पणी आउँछ, ‘बुक पढ्ने बानी लगाउनु भयो भने म तपाईंलाई अर्को राउन्डमा लैजान्छु।’ त्यसपछि उनी अर्को राउन्डमा पुग्छन्। उनी यसरी अर्को राउन्डमा पुग्नु कताकता निर्णायक र होस्टको मिलेमतो जस्तो देखिन्छ।

यस्तै, अर्की कवि रेज्मी राई पाँचथरबाट हुन्छिन्। उनको कविता एउटा फिक्का कविताहरूको थुप्रो जस्तो लाग्छ। न गहिरो भाव छ। न भन्न खोजेको भावलाई कविता जसरी नै भनिएको छ। उनको कवितालाई अनुप बराल सुरुमा मन पराउँदैनन् तर पछि उपेन्द्र सुब्बाले मौका दिउँ न त भनेपछि उनीहरूको कानेखुसीमा उनी अर्को राउन्डमा पुग्छिन्।

यससँगै अनेक कविहरूको वाचन पछि रिना शाह सिराहाबाट कविता लिएर आइपुग्छिन्। बल्ल उनको कविता, कविता हो कि जस्तो लाग्छ। उनको कविताको वाचन र भाव दुवै सुन्दर हुन्छ। उनी कविता भन्दाभन्दै भावुक हुन्छिन्। निर्णायकलाई पनि भावुक बनाउँछिन्। सायद एउटा कविमा हुनुपर्ने गुण यही नै होला तर उनको कविता एक घटना जस्तो लाग्छ। जसलाई उनले कवितामार्फत् व्यक्त गरिरहेकी छिन्।

यससँगै अर्की झापाबाट आएकी कवि शारदा सापकोटाले बोलीसँगै साङ्केतिक भाषामा कविता सुनाउँछिन्। त्यसपछि इन्द्र महतोले मैथिली भाषामा कविता सुनाउँछिन्। उनीहरू दुवै अर्को राउण्डमा सजीलै प्रवेश गर्छन्।

यसरी अर्का अन्तिम प्रतियोगी सागर आचार्य काठमाडैंबाट हुन्छन्। उनको कविता बिना शिर्षक सुरू हुन्छ। उनले कविता सुनाएको हो कि कुनै र्याप गीत गाएको हो निर्णायक र पाठक दुवै छक्क पर्छन्। उनलाई सुन्दा वास्तवमा कविता भनेको के हो नै थाहा छैन जस्तो लाग्छ। 

यो त भयो कार्यक्रमको पहिलो एपिसोडका कुरा। पहिलो एपसोड जस्तो भएपनि दोस्रो एपिसोडबाट थोरै आशा बोकेर पुरै कार्यक्रम हेरिसक्दा पनि सन्तुष्टि भन्दा बढी असन्तुष्टि प्राप्त गरिन्छ।

यस कार्यक्रमको सुरूवात चितवनका कवि नवराज ढकालबाट हुन्छ। उनी आँखा नदेख्ने हुन्छन्। उनलाई मन पर्ने कवि भुपी शेरचन, हरिभत्त कटुवाल हुन्छन्। तर उनको कविता सुन्दा यस्तो लाग्छ, उनले ती कविको नामै अहिलेसम्म सुनेका छैनन्।

यसरी कार्यक्रमको दोस्रो एपिसोडमा पनि अधिकांश कविको कविता बिना शीर्षक सुरू हुन्छन् र पुरै कविता सुन्न नपाउँदै सकिन्छन्। न कविताको छेउ भेटिन्छ न त टुप्पो।

यसैबीच कार्यक्रममा महेन्द्र राईको ‘र त्यसपछि म काग भए’ शीर्षकको कविता वाचन सुरू हुन्छ। यस कार्यक्रमभरी हेर्दा लाग्छ, उनले जत्ति कविता माथि साधना ‘द पोएट आइडल’मा आएका अन्य कसैले गरेका छैनन्। उनी अर्को राउन्डमा पुग्छन्। उनी पछि पनि थुप्रै प्रतियोगीहरूको वाचन सुन्न पाइन्छ तर तिनमा परिपक्क कविता भन्दा बढी सिकारु कविता भेटिन्छ।

राजनीतिकर्मी, संचारकर्मी, व्यवसायी, विद्यार्थी लगायत शिक्षकसम्म उपस्थित भएका यस कार्यक्रममा कविता कम शब्दहरूको थुप्रो बढी सुन्न पाइन्छ। यससँगै निर्णायकहरूको मुल्यांकन पनि खासै फरक सुनिंदैन। जुन पहिलो एपिसोडमा छ त्यस्तै। कविता पनि कविताको मुल्यांकन पनि।

यसरी ‘द पोएट आइडल’ कार्यक्रममा वाचन गरिएका कविताको अधिकांशको शीर्षक भेटिदैन। शीर्षक भेटिएका कविता पनि आधाउधीमै सकिन्छन्। प्रतियोगीले कवितामार्फत् के भन्न खोजेको र निर्णायकले त्यसमा के प्रतिक्रिया दिइरहेका हुन्, कतिको त अत्तोपत्तो समेत पाइँदैन।

कविताको नाममा आयोजना गरिएका यस्ता कार्यक्रमले साहित्यको व्यापारिकरण गर्न खोजेको र यसमार्फत् वास्तविक साहित्य मर्ने तर्क पनि अहिले बजारमा चलिरहेको छ। यस अवस्थामा ‘द पोएट आइडल’ विवादमा देखिनु साहित्यको निम्ति दु:खद खबर पनि हुन सक्छ।

१७ पुस, २०७९, १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।