बाेराभित्र काेचिएका र घाम तापिरहेकाे अवस्थामा भेटिन्छन् नवौं शताब्दी बहुमूल्य ऐतिहासिक दस्तावेज

बाेराभित्र काेचिएका र घाम तापिरहेकाे अवस्थामा भेटिन्छन् नवौं शताब्दी बहुमूल्य ऐतिहासिक दस्तावेज

काठमाडौं : २०७२ सालको भूकम्पले तहसनहस बनाएको केसर पुस्तकालय अझै व्यवस्थित हुन सकेकाे छैन। पुस्तकालयको परिसरमा छिर्दा त्यहाँको अव्यवस्थित वातावरणले पहिल्यै स्वागत गर्छ।

जताततै धुलैधुलो, सवारी साधन र निर्माण कार्यका कर्कश आवाज, मानिसहरूकाे हाे-हल्ला। यस्तो लाग्छ- शान्त वातावरणमा पुस्तक पढ्न हाेइन अशान्त वातावरणमा पनि कसरी पुस्तक पढ्न सकिन्छ भन्ने सिक्न केसर पुस्तकालय जाने हाे।

पुरानो भवनमा पुस्तकालय व्यवस्थापन हुन नसकेपछि अस्थायी टहरामा पुस्तकालय राखिएको तीन वर्ष बितिसक्याे। तर अझै नयाँ भवन बनेकाे छैन। नयाँ भवन आगामी जेठ मसान्तसम्म बनिसक्ने पुस्तकालय प्रमुख सुरेशकुमार यादव बताउँछन्।

‘भवन विभागले जेठ मसान्तसम्म काम सक्छु भनेको छ, बीच-बीचमा सामान आपूर्तिको समस्या र कोभिडका कारण भवन निर्माणमा समस्या आएको विभागका कर्मचारी बताउँछन्’, उनी भन्छन्।

पुस्तकालयबाहिर छरिएको पुस्तकलाई लिएर यसअघि नै बहस र चर्चा भइसकेका छन्। यद्यपि प्रमुख यादव भने बाहिर छरिएका पुस्तक पुस्तकालयको नभएको दाबी गर्छन्।

यद्यपि अहिले ती पुस्तकहरू मन्त्रालयले टोली गठन गरेर व्यवस्थापनकाे कार्य भइरहेकाे उनी बताउँछन्।

उनी भन्छन्, ‘केसर पुस्तकालय बाहिर रहेको पुस्तकहरू अहिले यादव चन्द्र निरौलाको नेतृत्त्वमा व्यवस्थापन भइरहेको छ। हामीले जसको कागजपत्र र पुस्तक भेटिन्छ उनीहरूलाई नै बोलाएर ती कागजपत्र र पुस्तक जिम्मा लगाइरहेका छाैं।’

घाम ताप्दैछन् नवाैं शताब्दीका ऐतिहासिक दस्तावेज
केसर पुस्तकालयको आँगनभर अहिले किताबै किताब छ। केही धमिराले खाएको अवस्थामा छन् भने केही पानीले भिजेर अवशेष मात्र बाँकी। नेपालको इतिहास बोकेका महत्त्वपूर्ण दस्तावेजहरू पुस्तकालय परिसरभर छरीबरी छन्।

तीन वर्षदेखि पुस्तकालयको एक कुनामा थन्किएको पुस्तक केही पुरानो भएर र त कोही पानीले भिजेर लिच्चड निस्किन थालेपछि घाममा सुकाइएको केशर पुस्तकालय पुन:निर्माणका प्रोजेक्ट म्यानेजर नरकान्त सापकोटा बताउँछन्।

युनेस्कोको ‘मेमोरी अफ द वर्ल्ड रजिष्टर’ मा सूचीकृत दुईमध्ये एक पुस्तक केशर पुस्तकालयमा राखिएका छन्।

युनेस्कोले सन् २०१३मा केशर पुस्तकालयको ‘सुश्रुतासंहिता’ र राष्ट्रिय अभिलेखालयमा रहेको ‘निश्वासतत्वसंहिता’ लाई सूचीकृत गरेको थियो। यी दुवै पुस्तक नवौं शताब्दीका हुन्। जुनमध्ये केही घाममा सुकाइएको छ भने केहीलाई बोरा भित्र कोचेर राखिएको छ।

सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो। सुश्रुतसंहिता आयुर्वेदको तीन मूलभूत ग्रन्थहरू मध्ये एक हो। आठौं शताब्दीमा याे ग्रन्थ अरबी भाषामा 'किताब-ए-सुस्रुद' नामबाट अनुवाद भएको थियो।

पुस्तक मिल्काइनु चोरीभन्दा घातक
पुस्तक मिल्काइनु भनेको पुस्तक चोरीभन्दा घातक रहेको समीक्षक तथा लेखक महेश पौड्याल बताउँछन्।

सार्वजनिक पुस्तकालयका पुस्तक निजीकरण देशव्यापी फैलिएको रोग भएकाले भूकम्पपश्चात् पुस्तक मिल्काउन विभिन्न बहानाहरू खोजिएको उनको भनाइ छ।

‘पुस्तकालयका पुस्तक प्रयोगका दृष्टिले सार्वजनिक सम्पत्ति हुन्,’ उनी भन्छन्, ‘यहाँबाट एउटा मात्रै पुस्तक हराउँदा सयौंले आलोपालो गरि पढ्न पाएनन्, यसले दीर्घकालीन घाटा दिलाउँछ।’

इतिहासविद् डा. महेशराज पन्त केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालयसहित देशैभर अकर्मण्यता बढेको बताउँछन्।

भूकम्पमा आफ्नो पनि १५ हजार पुस्तक ढलेको र करिब ६ महिनामा ती सबै पुस्तक र चिठीपत्रको व्यवस्थापन गरेको उनी स्मरण गर्छन्।

उनी थप्छन्, ‘म एक्लो व्यक्तिले भूकम्पकाे ६ महिनामै त्यसलाई व्यवस्थापन गरिसकेँ भने त्यत्रा कर्मचारी पालेको मन्त्रालय मातहतका पुस्तकालयहरू यतिका वर्षसम्म के हेरेर बसिरहेका?’

सरकारसँग पुस्तक र पुस्तकालय जोगाउन इच्छाशक्ति नभएको उनकाे आराेप छ।

‘हातले लेखेका त्यत्ति महत्त्वपूर्ण ग्रन्थहरू भएको पुस्तकालय जोगाउन खै राज्य अगाडि सरेको ?’ उनी प्रश्न गर्छन्, ‘तलबभत्ता खान आएका कर्मचारीलाई त्यस कुराको महत्त्व भए न जोगाउँदा हुन्।’

अर्का लेखक तथा अनुसन्धानकर्ता लोकमणि पौडेल महत्त्वपूर्ण पुस्तक खोज्न केसर पुस्तकालय पुग्दा भेट्टाउन नसकेर फर्किएको अनुभव सुनाउँछन्।

‘देशकै पुरानो पुस्तकालयको यो हालत देखेर म दङ्ग छु,’ उनी भन्छन्, ‘अरू के भनौं खै! धेरै वर्षपछि केसर पुस्तकालय पुग्दा म छागाँ बाट खसे जस्तै भए।’

पहिलो पटक पुस्तकालय पुगेर फर्किँदै गरेकी स्मृति पराजुली छक्क परिन्।

‘यो पनि पुस्तकालय हो र? मैले कल्पना गरेको पुस्तकालय त यो भन्दा ठ्याक्कै उल्टाे थियाे,’ उनी भन्छिन्, ‘म यो देशको अवस्था हेरेर यत्तिको पुस्तकालयको अनुमान गर्न बाहेक अरू के नै सक्छु र? म त एकछिन पनि टिक्न सकिनँ। पुस्तकालयभित्र कर्मचारीको व्यवहार पनि उस्तै।’

१३ पुस, २०७९, ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।