यसरी पूर्ति गर्न सकिन्छ शेयरबजारकाे घाटा

यसरी पूर्ति गर्न सकिन्छ शेयरबजारकाे घाटा

काठमाडौं : लामो समयदेखि घाटामा रहेको नेपालको शेयर बजारका कारण हजारौं लगानीकर्ताको अर्बौंको सम्पत्ति गुमाएका छन्। कतिपय त बजारबाट नै पलायन हुने अवस्थामा पुगेका छन्।

बैंकको बढ्दो ब्याजदरलाई निरन्तर शेयर बजार घट्नुको कारकको रूपमा लिएका छन् कतिपय बजार अनुसन्धानकर्ताहरूले।

यी बाहेक केही बजार लगानीकर्ताहरूले शेयर बजार सम्बन्धी ज्ञान नै नलिनु, लगानीकर्तामा धैर्यताको अभाव देखिनु, धितोपत्र बोर्ड र नेप्सेको भूमिका शून्य हुनु लगायत सामाजिक सञ्जालमा आउने सूचनाका कारण पनि बजार निरन्तर ओरालो लागेको उनीहरू बताउँछन्।

नेपाल पुँजीबजार लगानी संघका कोषाध्यक्ष राजु पौडेलका अनुसार सीमित ठूला लगानीकर्ताले आफूले बेचेपछि बजार घटाउन तल्लीन भएका कारण बजार उकालो लाग्न नसकेको हो।

उनले भने, ‘अहिले नेपालको शेयर बजारमा दुई चार जना शेयर खेलाडीहरूले विभिन्न हत्कण्डा अपनाएर र केही अनलाइन पत्रिकाहरूलाई प्रयोग गरेर आफूले बेचेपछि बजार घटाउन तल्लीन हुने गरेको देखिन्छ।’
 
किन घट्दो क्रममा छ शेयर बजार?
शेयर बजार भनेको नाफा र घाटाकै बजार हो। यसमा कुनै कम्पनीले नाफा कमाए लगानीकर्ताले पनि नाफा कमाउँछन् भने कम्पनी घाटामा जाँदा लगानीकर्ता पनि घाटामै।

चार्टर्ड एकाउन्ट तथा अर्थविद् अनल भट्टराई बजार अनुकूल नीति नभएका कारण बजार घटेको तर्क गर्छन्।

उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकको नीति गलत छ। शेयर बजारका लागि लोन कम छ। अनलाइन कारोबारलाई प्रभावकारी बनाउन जोड दिनुपर्ने देखिन्छ। बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा कसरी समावेश गर्ने भन्ने यकिन गर्नुपर्छ।’
 
अर्का शेयर विश्लेषक मुक्ति अर्याल बजारमा ‘करेक्सन’ देखिनुको एक मात्र कारण राष्ट्र बैंकले लिएको पछिल्लो नीतिलाई नै मान्छन्।

‘शेयर धितोमा गरिएको कडाइ नै बजार ओरालो लाग्नुको प्रमुख कारण हो,’ उनी भन्छन्, ‘कोही व्यक्ति तथा संस्थाले आफ्नै सम्पत्ति धितो राखेर लगानी गरेर कमाउँछु भन्दा पनि नियामक निकायले बन्देज लगाउनु गलत हो।’

कम्पनीको अवस्था नहेरी बजार हल्लाको पछाडि दौडिँदा पनि यस्तो अवस्था आएको उनको भनाइ छ।

‘राम्रा कम्पनीमा लगानीकर्ता आएर बजार माथि पुगेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले थपे, ‘कम्पनीको ‘पर्फमेन्स’ छोडेर बजार हल्लाको पछि लाग्ने लगानीकर्ताको बानीले यसरी सेयर बजारमा उतारचढाव आएको हो।’

कसरी रिकभर गर्ने घाटा?
शेयर बजारमा आफ्नो लगानीलाई रिकभर गर्न होस् वा लगानीलाई नडुबाउन बजार विश्लेषकहरूले बेला–बेला विभिन्न टिप्सहरू दिने गरेका छन्।

लगानी गर्नुअघि लगानीकर्ताले आफूले चाहेको शेयर खरीदको उपयुक्त समय र बिक्रीको उपयुक्त समयको विषयमा निर्णय लिनु, जस्तोसुकै परिस्थितिमा पनि धैर्यवान हुनु र सफल भनिएका लगानीकर्तालाई आँखा चिम्लिएर विश्वास नगर्दा पनि लगानी डुब्न पाउँदैन।

‘मिठाई पसलमा जाँदा कि त आफूले कुन राम्रो हो भनेर बुझ्नुपर्यो वा सानैदेखि आमाबुवाले खुवाएको मिठाई राम्रो हो भनेर मान्नुपर्यो। बजारमा आज आएका नयाँ मिठाई चिन्न गाह्रो हुन्छ भने त्यो मिठाई नकिन्न पनि सकिन्छ,’ अहिलेसम्म शेयर बजारमा लगानी नगुमाएका लगानीकर्ता राजेन्द्र खेतान भन्छन्, ‘त्यस्तै स्टक मार्केटमा २० वर्षदेखिका कम्पनीमा विश्वास गर्नुपर्यो। होइन भने नयाँ आएका कम्पनीको शेयर लिनुपर्छ। १०० रूपैयाँको शेयर हो २०० रूपैयाँ कसो नपुग्ला भन्ने हिसाबले हाल्दा मान्छेले त्यहाँ फेल खान्छ।’

कस्तो अवस्थामा सेयर किन्ने ?
नेपालमा शेयर बजार जुनसुकै बेला पनि घट्ने र बढ्ने क्रम भइरहेको छ। यद्यपि पछिल्लो समय यसलाई मापन गर्ने कुनै सूत्र छैन।

तर केही शेयर विश्लेषकहरूले भने बजार श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको तीन महिना तल झर्ने समय मान्ने गरेका छन्। यससँगै वैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम सुरू हुने उनीहरू बताउँछन्।

यससँगै कतिपय विश्लेषकहरू भने बैंकले दिने ब्याजदर र शेयरमा लगानी गर्दा हुने नाफालाई पनि लेखाजोखा गर्नुपर्ने बताउँछन्।

उनीहरू भन्छन्, ‘जुनसुकै कम्पनीको पनि मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी, खूद सम्पत्ति, कूल सम्पत्ति, सञ्चालन खर्च, सञ्चित नोक्सानी जस्ता आधारभूत कुराको जानकारी राखेर मात्र सेयर किन्नुपर्छ।’

बजार गिरावट भइरहेको बेला किनेको शेयरले बजार उचाइमा पुगेको अवस्थामा मालामाल बनाइदिन सक्छ।

विश्लेषक भन्छन्, ‘अहिलेको घट्दो बजारमा शेयर बेचेर भाग्ने होइन, किनेर भविष्यमा राम्रो नाफाका लागि आफूलाई तयार गर्नु बुद्धिमता हुन्छ।’

५ पुस, २०७९, १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।