डा. गणेशको उपचार अनुभव : विहान पाँचै बजे छिनेको हात प्लास्टिकमा बोकेर युवक अस्पताल आए

डा. गणेशको उपचार अनुभव : विहान पाँचै बजे छिनेको हात प्लास्टिकमा बोकेर युवक अस्पताल आए

जीवनको अधिकांश समय दुर्गम क्षेत्रमा काम गरेर बिताएका डा. गणेश थापाले साना र ठूला गरी दश हजार भन्दा बढि शल्यक्रिया गरेका छन्। जनरल सर्जन डा. थापाले त्यतिकैको ज्यान बचाएका छन्।

जसमध्ये करिब नौ वर्ष अघिको एउटा घटना उनको मानसपटलमा ताजै छ। डा. गणेश सुर्खेत अस्पताल (हालको प्रदेश अस्पताल, सुर्खेत)मा काम गरिरहेका थिए।

पुस महिना थियो। विहान पाँच बजे करिब ३२ वर्षका युवालाई सुर्खेत अस्पताल पुर्याइयो। जतिखेर डा. गणेश ड्युटीमा नै थिए।

डा. गणेशले अस्पताल पुर्याएका ती युवाको हात छिनेको देखे। सोधखोज गर्दा झगडा परेर ती युवाको नाडीमा अर्को व्यक्तिले च्वाट्टै छिन्ने गरी काटिदिएछन्। ती ३२ वर्षे युवाको हात छिनेर भुइँमा झरेछ।

युवाको छिनेको हात प्लाष्टिकको झोलामा बोकेर अस्पताल लगिएको थियो। रगताम्मे भएर अस्पताल पुर्याइएका युवालाई डा. गणेशको टिमले प्राथमिक उपचार गर्यो।

तर, विशेषज्ञ चिकित्सक तथा स्रोत साधनको अभाव लगायतका कारणले सुर्खेतमा ती युवाको छिनेको त्यो हात जोड्न सम्भव थिएन। त्यसैले डा. गणेशको टिमले काठमाडौं लान सल्लाह दिए।

परिवार पनि काठमाडौं लगेर उपचार गर्न तयार भए। परिवारले प्लाष्टिकमा असुरक्षित तरिकाले बेरेर युवाको हात अस्पताल पुर्याएका थिए। डा. गणेशले छिनेको हातलाई काठमाडौं पु¥याउन्जेल नबिग्रिनेगरी बरफमा सुरक्षित तरिकाले प्याक गरिदिए। उनले छिनेको हात सुरक्षित तरिकाले लाने उपाए सिकाइदिए।

ती युवालाई सुर्खेतबाट नेपालगञ्ज हुँदै हवाइजहाजमा काठमाडौं पुर्याइएछ। काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका युवाको हात जोड्न सम्भव हुन्छ की हुँदैन भनेर डाक्टरको टोलीले परीक्षण गरे। हात सुरक्षित तवरले नै आइपुगेको देखेपछि चिकित्सकहरू ती युवाको हात जोडिने सम्भावना बलियो भएको निष्कर्षमा पुगे।

त्यसपछि चिकित्सकको टिमले ती बिरामीलाई भनेछन्, ‘हात सुरक्षित तरिकाले आएकाले जोडिने सम्भावना छ।’

चिकित्सकको टिमले शल्यक्रियामार्फत हात जोडे र चल्यो पनि। केही दिनको अस्पताल बसाइपछि ती युवा डिस्चार्ज भएर घर फर्किए। हात छिनेका युवाले डा. गणेशलाई त चिनेका थिएनन्। तर, घर फर्किएपछि सुरक्षित तरिकाले आफ्नो हात राखिदिने चिकित्सक को हो भनेर डा. गणेशलाई खोज्दै सुर्खेत अस्पताल पुगेछन्।

अस्पतालमा नै पुगेर ती हात जोडिएका युवाले डा. गणेशलाई भेटे। युवा उनीप्रति निक्कै कृतज्ञ भए। धन्यवाद दिए। युवाको हात जोडिएर फर्केको देखेपछि डा. गणेशलाई निक्कै आनन्द लाग्यो। अहिले त ती हात जोडिएका व्यक्ति मोटरसाइकल कुदाएर हिँडेको देख्छन् उनी।

हात जोडिएका ती युवालाई देख्दा अहिले पनि डा. गणेशलाई लाग्छ, ‘त्यो बेला ज्ञान नभएर सहि सल्लाह दिन नसकेर चुँडिएको हातलाई सुरक्षित तवरले पठाउन नसकेको भए त हात कुहिन्थ्यो। युवा अपाङ्ग हुने थिए।’

‘बचाए श्रीमती लान्छु, नत्र लास पनि लान सक्दिन’

त्यसो त प्रसव पीडाले छटपटिएर अन्तिम अवस्थामा पुगेकी महिलालाई बचाएको प्रसङ्ग पनि डा. गणेश कहिल्यै भुल्दैनन्।

करिब आठ वर्ष अघिको घटना हो। करिब ४० वर्षकी महिलाले बच्चा जन्माउन नसकेपछि सुर्खेत अस्पतालमा पुर्याइयो। अस्पताल पुर्याउँदा महिला बेहोसी अवस्थामा पुगिसकेकी थिइन्।

डा. गणेशको टिमले प्रसव व्यथाले छटपटाएकी महिलाको स्वास्थ्य अवस्था हेर्दा अन्य विशेषज्ञ चिकित्सक भएको सुविधायुक्त अस्पतालमा रिफर गर्नुपर्ने देखियो। महिलालाई आईसीयूमा राख्नुपर्ने देखियो। तर, सुर्खेत अस्पतालमा आईसीयू थिएन।

त्यसैले डा. गणेशको टिमले महिलाका आफन्तलाई तुरुन्तै नेपालगञ्ज लान अनुरोध गरे। तर, बिरामीको आर्थिक अवस्था यति कमजोर थियो की अन्य अस्पतालमा लानसक्ने कुनै आधार नै थिएन।

अन्य अस्पतालमा लान अनुरोध गर्दा प्रसव पीडाले छटपटाएकी ती महिलाका श्रीमान्ले भनेछन्, ‘यहाँ ल्याउँदा नै पैसा सक्कियो। अब खल्तीमा एक सुको पनि छैन। श्रीमतीलाई नेपालगञ्ज लान सक्दिन। बचाइदिनुभयो भने श्रीमती लान्छु। बचाइदिनुभएन भने लास पनि लान सक्दिन।’

आफैँ पैसा नभएर खान नपाएर मर्ने अवस्था आइसकेको भन्दै ती महिलाका श्रीमान्ले दुःखेसो पोखे। प्रसव पीडामा छटपटाएकी महिलाका श्रीमान्को पैसा नै नभएको कुरा सुनेपछि डा. गणेशलाई समेत पीडाबोध महसुस भयो।

त्यसपछि ती महिलाको ज्यानै जाने देखिएपछि जे पर्ला भनेर डा. गणेश र अर्का एक चिकित्सकले ती महिलाको शल्यक्रिया गर्ने आँट गरे। शल्यक्रिया सुरु गरे। महिलाको पाठेघर फुटेको थियो। गर्भमा रहेको बच्चा जन्मनको लागि समय पुगेको भए पनि लामो समयको प्रसव व्यथाले पाठेघर फुटेर गर्भमा नै बच्चाको मृत्यु भइसकेको थियो।

डा. गणेशको टिमले ती महिलाको गर्भमा रहेको मृत बच्चा शल्यक्रिया गरेर निकाल्यो। फुटेको पाठेघर सिलायो। औषधि उपचार ग¥यो। केही घण्टाको मेहनतपछि शल्यक्रिया सफल भयो।

धन्य होस्, डा. गणेशको टिम ती प्रसव पीडामा छटपटाएकी महिलाको ज्यान बचाउन सफल भयो। केही दिनको अस्पताल बसाइपछि ती महिला डिस्चार्ज भइन्। श्रीमानले श्रीमती घर लिएर जान पाउँदा खुसीको सीमा नै नरहेको सम्झन्छन् उनी।

हेल्थ साइन्स अध्ययनपछि एमबीबीएस र सरकारी जागिर
रुपन्देहीको सैनामैनामा जन्मिएका गणेशले २०४५ मा स्थानीय परोहा माविबाट एसएलसी उत्तीर्ण गरेका हुन्।

त्यसपछि महाराजगञ्ज मेडिकल क्याम्पस (चिकित्सा शास्त्र अध्ययन संस्थान)बाट ‘हेल्थ साइन्स’ विषयमा प्रमाणपत्र तहको अध्ययन गरे। त्यो तीन वर्षे कोर्स थियो। आजकाल हेल्थ साइन्स विषयलाई एचए तहका रूपमा बुझिन्छ।

गणेशले एमबीबीएस पनि महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै अध्ययन गरे। २०५७ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएसपछि २०५८ मा डा. गणेश लोकसेवामार्फत स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भए। उनको पहिलो पोष्टिङ तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भयो। त्यहाँ उनले करिब दुई वर्ष काम गरे। त्यसपछि उनी फेरि अध्ययन गर्न थाले।

१६ वर्षदेखि निरन्तर सुर्खेतमा 
डा. गणेशले २०६० मा भर्ना भएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा ‘एमएस’ अध्यन गर्न थाले।

२०६३ मा उनले तीन वर्षे एमएस जनरल सर्जरी विषयको अध्यय पूरा गरे। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको जनरल सर्जरी विषयमा ‘एमएस’ अध्ययन गर्ने पहिलो ब्याजका विद्यार्थी रहेछन्।

जनरल सर्जरीको अध्ययनपछि २०६३ मा डा. गणेश तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतमा सरुवा भए। त्यसयता उनी निरन्तर सुर्खेतमा नै काम गरिरहेको १६ वर्ष भयो। अहिले भने त्यो अस्पतालको नाम परिवर्तन भएर प्रदेश अस्पतालः वीरेन्द्र नगर, सुर्खेत भएको छ।

सुर्खेतमा उनी जनरल सर्जनका रूपमा कार्यरत छन्। सातौं तहको हुँदा पोष्टिङ भएर सुर्खेत पुगेका डा. गणेश अहिले बढुवा हुँदै ११औं तहमा पुगेका छन्।

छात्रवृत्तिमा नै अध्ययन गरेकाले जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच नरहेको उनले सुनाए। त्यसो त बढुवाको मापदण्ड पुर्याउने उदेश्यले दुई वर्ष मात्रै सुर्खेतमा काम गर्ने उदेश्यले उनी त्यहाँ पुगेका थिए।

तर, त्यहाँ बसेर काम गर्दागर्दै उनलाई लाग्यो, ‘सुगममा त धेरै चिकित्सक छन्। म चाहिँ अब दुर्गममा दुःख पाएका बिरामीकै सेवा गर्छु।’

विशेषगरी सुखेत वरिपरिका दुर्गम क्षेत्रबाट अस्पताल पुग्ने बिरामीको भावनासँग उनी नजिक भइसकेका छन्। त्यसैले आफू सुर्खेत छाडेर अन्य ठाउँमा जान नसकेको उनले सुनाए। 

डा. गणेश थापाले चिकित्सा सम्बन्धी विभिन्न तालिम लिनुका साथै सम्मान तथा पुरस्कार पाएका छन्।

असुविधाका बावजुद बिरामी बचाउँदा
१६ वर्षअघि डा. गणेश सुर्खेतमा पुग्दा त्यहाँको स्वास्थ्य सेवाको अवस्था त्यति सन्तोषजनक थिएन। न चिकित्सकको संख्या नै धेरै थियो न त सेवाका लागि आवश्यक स्रोत साधनको नै राम्रो व्यवस्थापन थियो।

डा. गणेशलाई सम्झना छ। त्यो बेला उनी सुर्खेत पुग्दा अपस्पतालमा उनीसहित पाँच जना चिकित्सक थिए। तर, अहिले त्यहाँ चिकित्सकको संख्या बढ्दै पाँच दर्जन भन्दा बढि पुगिसकेको छ।

जनरल सर्जन मात्रै अहिले सुर्खेत अस्पतालमा करिब आधा दर्जन छन्। स्रोत साधनको सुविधा बढ्दै गएको छ। त्यसैले त्यो बेलाको तुलनामा अहिले काम गर्न केही सहजता महसुस गर्छन् उनी।

शल्यक्रिया गर्नका लागि बेहोस बनाउने एनेस्थेसियोलोजिष्ट चिकित्सक तथा अन्य जनशक्ति र स्रोत साधनको आवश्यकता हुन्छ। त्यो बेला डा. गणेश सुर्खेत पुग्दा जुन सुविधा थिएन।

न एक्स–रेको सुविधा, न भिडियो एक्सरेको सुविधा थियो। त्यो बेला। तर, विशेषज्ञ जनशक्ति र स्रोत साधनको अभावको बावजुत पनि कयौं बिरामीको ज्यान बचाउन सफल भएको सम्झन्छन् उनी।

त्यो बेला आफ्नै जिम्मेवारीमा एनेस्थेसिया दिएर बिरामीलाई बेहोस बनाएर ब्यूँझ्याउनुपर्ने अवस्था थियो।

उनले अध्ययन गरेको जनरल सर्जरी विषय भए पनि सुरुवाती दिनहरूमा सबै किसिमका रोगको उपचार गर्नुपरेको सम्झन्छन् उनी।

विशेषज्ञ चिकित्सकको अभावमा आफूले अध्ययन गरेका विषयभन्दा फरक प्रकृतिका रोगको समस्या भएका बिरामीको उपचार गर्नुपरेको खण्डमा काठमाडौं लगायतमा विभिन्न सिनियर चिकित्सकसँग परामर्श लिँदै उपचार गर्छन् उनी।

दुर्घटनामा परी टाउकोमा गम्भीर प्रकृतिका चोट पटक लागेका व्यक्तिको त्यहाँ उपचार गर्न सम्भव हुँदैन थियो। त्यस्तो अवस्थामा धेरै व्यक्तिलाई प्राथमिक उपचार गरी सुरक्षित तवरले अन्य सुविधायुक्त अस्पतालमा रिफर गरेर ज्यान बचाउन सफल भएको सम्झन्छन् उनी।

अझै पनि पैसाको अभावका कारण उपचारमा कठिनाइ हुने बिरामी दिनदिनैजसो सुर्खेत अस्पताल पुग्ने गरेको उनले सुनाए। कति बिरामीलाई त निःशुल्क उपचार मात्रै होइन, पैसा नै दिएर घर पठाउनुपर्ने अवस्था रहेको उनले सुनाए।

सुर्खेतमा पित्त थैलीको नचिरी मेसिनको माध्यमबाट शल्यक्रिया गर्न सुरु गर्दा त्यो बेला गर्नुपरेको संघर्षको अनुभव सुनाए उनले। सम्भवतः सरकारी अस्पतालमा वीर अस्पतालपछि नचिरी मेसिनको सहायताले पित्त थैलीको शल्यक्रिया सुरु गर्ने सुर्खेत दोस्रो अस्पताल हुनसक्ने उनले बताए।

अन्य धेरै सर्जरी पनि मेसिनको सहायताले नचिरी गर्ने गरेको उनले सुनाए। त्यहाँ उपचारका धेरै पक्ष सुधार गर्न सफल भएको उनले सुनाए।

डा. गणेशलाई दुर्गममा बसेर काम गर्ने रहर पुगिसकेको छैन। 

मंसिर २४, २०७९ शनिबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।